
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रा कायमै राख्दै पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले पोखराले प्रस्तुत गरेको १३९ रनको लक्ष्य १७ बल बाँकी छँदै पूरा गर्दै लगातार तेस्रो जित निकाल्यो।
जनकपुरको जितमा लाहिरु मिलान्थाले ३२ बलमा सर्वाधिक ४५ रनको योगदान दिए। त्यस्तै, आशिफ शेखले ३४ बलमा ३३ रन बनाए भने जेम्स निसमले २० बलमा विस्फोटक ४० रन प्रहार गर्दै टोलीलाई जिततर्फ डोर्याए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रनको योगफल तयार पार्यो। पोखराका लागि मार्कस क्रिटलेले ३५ रन, माइकल लिस्कले २५ रन र आन्द्रेस गौसले २० रन बनाए।
जनकपुरका लागि ललितनारायण राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २३ रन दिएर ३ विकेट लिए। जेम्स निसमले २ विकेट लिँदा मोहम्मद मोहसिन र किशोर महतोले समान १/१ विकेट हात पारे।
पोखराका बलरहरू भने प्रभावहीन देखिए। विपिन खत्री, कुशल भुर्तेल र मिचेल लिस्कले समान १/१ विकेट लिए पनि जनकपुरको ब्याटिङ रोक्न सकेनन्।
यस जितसँगै जनकपुर बोल्ट्स जारी प्रतियोगितामा लगातार तीन खेल जित्ने पहिलो टोली बनेको छ। जनकपुरले पहिलो खेलमा विराटनगर किङ्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो।
उता, पोखरा एभेन्जर्सले भने लगातार दोस्रो हार भोगेको छ। पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको पोखराले यो खेलमा पनि खराब लयलाई निरन्तरता दिएको छ। जनकपुरको यो शानदार प्रदर्शनले लिगको उपाधि होडमा आफूलाई बलियो दाबेदारका रूपमा उभ्याएको छ।



