No Image Headlineखेल संसारमुख्य खबर

जनकपुर बोल्ट्सको शानदार शुरुआत, विराटनगर किङ्सलाई पराजित गर्दै पहिलो जित

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई ८ विकेटले हराउँदै सिजनको पहिलो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको जनकपुरले विराटनगरलाई १२८ रनको लक्ष्य दिएको थियो, जसलाई १५.२ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो।

जनकपुरका लागि लाहिरु मिलन्थाले उत्कृष्ट प्रदर्शन गर्दै ५३ बलमा ७५ रनको नटआउट पारी खेले। उनले ९ चौका र ३ छक्का प्रहार गरे। हर्ष ठाकरसँग मिलेर तेस्रो विकेटका लागि ११६ रनको अविजित साझेदारी गरे। ठाकरले ३३ बलमा २ चौकाको सहयोगमा २९ रन बनाए।

जनकपुरले आफ्नो इनिङको सुरुवात भने खराब राख्यो। पहिलो ओभरमा नै ओपनर आसिफ शेख ३ बलमा खाता नखोलि क्रिस सोलको बलमा बोल्ड भए। दोस्रो ओभरको अन्तिम बलमा कप्तान अनिल शाह पनि ४ बलमा ५ रन जोड्दै प्रतिस जिशीको बलमा बोल्ड आउट भए। तर तेस्रो नम्बरमा आएका मिलन्थाले आक्रामक पारी खेलेर टोलीलाई जित दिलाए।

विराटनगरको प्रदर्शन

पहिले ब्याटिङ गरेको विराटनगर किङ्सले निर्धारित १९ ओभरमा १२७ रनमै समेटियो। टोलीका ओपनर मार्टिन गप्टिलले ३६ बलमा अर्धशतक पूरा गर्दै ४३ बलमा ५५ रन बनाए। उनले ७ चौका र १ छक्का प्रहार गरे। तर गप्टिल बाहिरिएपछि विराटनगरको पारी धराशायी भयो। एक समय ७६ रनमा २ विकेट मात्रै गुमाएको विराटनगरले बाँकी ८ विकेट जोड्दा मात्र ५१ रन थप्यो। अकिब इल्यासले १८ बलमा १५ रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो अंक छुन सकेनन्।

जनकपुरका बलर ललितनारायण राजवंशीले पहिलो बलमै विकेट लिएर ३ विकेटको शानदार प्रदर्शन गरे। किशोर महतो र हर्ष ठाकरले समान २/२ विकेट लिए। बेन माइक र मोहम्मद मोहसिनले १/१ विकेट लिए।

टोलीका महत्त्वपूर्ण खेलाडीहरू

जनकपुरको टोलीमा नेपाली राष्ट्रिय टोलीका विकेटकिपर आसिफ शेख र कप्तान अनिल शाह छन्। विदेशी खेलाडीमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, श्रीलंकाका लाहिरु मिलन्था, पाकिस्तानका मोहम्मद मोहसिन र इङ्ल्याण्डका बेन माइक छन्।

विराटनगर किङ्सको नेतृत्व सन्दीप लामिछानेले गरे। टोलीमा न्यूजिल्यान्डका मार्टिन गप्टिल, ओमानका अकिब इल्यास, स्कट्ल्यान्डका क्रिस सोललगायतका विदेशी खेलाडी थिए।

यो जितसँगै जनकपुर बोल्ट्सले एनपीएलमा बलियो सुरुआत गर्दै अंक तालिकामा पहिलो स्थान ओगटेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button