साइबर ठगीको बढ्दो समस्या, अनुसन्धानमा चुनौती !

नेपाल राष्ट्र बैंकले साइबर ठगी र वित्तीय अपराधको रोकथामका लागि नयाँ रणनीतिक प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले साइबर माध्यमबाट हुने ठगी र गलत क्रियाकलापहरूको विश्लेषण गरी तयार गरेको रणनीतिक विश्लेषण प्रतिवेदन आइतवार सार्वजनिक गरिएको छ।
प्रतिवेदनको उद्देश्य देशमा र विश्वभरि भइरहेका नयाँ किसिमका अपराधहरूको विश्लेषण गरेर त्यसको नियन्त्रणका उपायहरू प्रस्तुत गर्नु हो। राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले यसबारे भने, “नयाँ अपराधहरू कसरी भइरहेका छन्, तिनलाई कसरी नियन्त्रण गर्न सकिन्छ, र यसमा कुन समूहका मानिसहरू संलग्न छन् भन्ने विश्लेषण गरेर यो प्रतिवेदन तयार पारिएको हो।”
प्रतिवेदनमा साइबर माध्यमबाट हुने शङ्कास्पद भुक्तानी र ठगीका घटनाहरूमा बढोत्तरी देखिएको उल्लेख छ। २०२४ को मे ३१ सम्मको तथ्यांक अनुसार, राष्ट्र बैंकको वित्तीय जानकारी एकाइमा प्राप्त भएको शङ्कास्पद कारोबारको ६३ प्रतिशत साइबर माध्यमबाट भएको पाइएको छ। नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोले यस्ता घटनाहरूमा अनुसन्धान गरिरहेको छ।
विश्लेषणमा यहि पनि पाइन्छ कि साइबर ठगीमा संलग्न प्रमुख व्यक्तिहरू १९ देखि ३० वर्षका युवा हुन्। यी व्यक्तिहरू विद्यार्थी, जागिरे, कृषक, र व्यापारी जस्ता विभिन्न पृष्ठभूमिबाट आउनुभएको पाइएको छ। ठगीको लागि नयाँ बैंक खाताहरू र मोबाइल वालेट अकाउन्टहरूको प्रयोग गरिएको छ, र ती अकाउन्टहरू प्रायः केही महिनाभित्रै खोलेका पाइन्छन्।
ठगीका विविध तरिकाहरू
साइबर ठगीका विभिन्न शैलिहरू देखिएका छन्, जसमा उपहार पठाउने, सामाजिक सञ्जालमार्फत इम्प्रेशन बढाइदिने, अनलाइन व्यापारको लाजवाब अफर दिने, र क्रिप्टोकरेन्सीमा लगानी गराइदिने जस्ता तरिकाहरू समावेश छन्। ठगहरूले पहिलोपटक सामाजिक सञ्जालमार्फत पीडितसँग सम्पर्क गर्ने र त्यसपछि अन्य माध्यमहरूको प्रयोग गर्ने गरेका छन्।
पीडितले पैसा पठाएपछि, ठगहरूले एटीएमहरू मार्फत नेपाल र भारतबाट रकम झिक्ने गरेका छन्। यसरी ठगीको रकम अनलाइन जुवा र क्रिप्टोकरेन्सीमा लगानी गरिने गरेको पनि पाइएको छ।
राष्ट्र बैंकले प्रतिवेदनमा नियामक निकायहरू, बैंक र वित्तीय संस्थाहरूलाई साइबर ठगी रोक्नका लागि केहि सुझावहरू दिएको छ। यसमा ग्राहकको पहिचानलाई मजबुत बनाउने, एकै मोबाइल नम्बरबाट धेरै अकाउन्ट खोल्ने कुरामा निगरानी राख्ने, र अस्वाभाविक कारोबारको पहिचान गरेर त्यसमा सीमा लगाउने जस्ता कदमहरू समावेश छन्। यसका अतिरिक्त, ग्राहक र कर्मचारीलाई साइबर सुरक्षा बारे सचेत बनाउनुपर्ने र एक टोलफ्री नम्बरमा उजुरी दिने सुविधा प्रदान गर्ने सल्लाह पनि दिइएको छ।
साइबर अपराधको अनुसन्धानमा चुनौती
साइबर माध्यमबाट हुने ठगीको मुख्य अभियुक्तलाई पत्ता लगाउन प्रहरीले सामना गरिरहेको समस्याबारे पनि प्रतिवेदनमा चर्चा गरिएको छ। नेपाल प्रहरीका अधिकारीहरूले भनेका छन् कि ठगीका अभियुक्तहरूले ह्वाट्सएप र अन्य माध्यमहरू प्रयोग गरेर संचार गर्ने भएकाले उनीहरूको लोकेशन पत्ता लगाउन गाह्रो पर्छ।
त्यस्तै, सोशल मिडियामा ठगी गर्ने वेबसाइट र लिंकहरूलाई पत्ता लगाउन पनि समस्या भइरहेको छ, किनकि यी लिंकहरू प्रायः विदेशबाट सञ्चालन हुने गरेका छन्।
नेपाल राष्ट्र बैंकले साइबर ठगी र वित्तीय अपराधको नियन्त्रणका लागि विभिन्न संस्थाहरूसँग मिलेर ठोस कदम चाल्न आग्रह गरेको छ। यसका लागि नीतिगत सुधार, प्राविधिक उपायहरू, र ग्राहक सचेतनाका कार्यक्रमहरूको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख छ।




कुनै वर्ग विशेष र अल्प संख्यक समूह लक्षित दुष्प्रचार , आक्रामक अभिव्यक्ति र अप्रमाणित लांछना लगाउने, नानाथरी अपशब्द बोलने, गाली बेइज्जत गरने प्रवृत्ति प्रति पनि सामाजिक संजालमा उचित कारवाही हनु पर्छ।