मानिसको मन लोभ्याउने आइसक्रीम कसले बनायो, यस्तो छ नालीबेली

पहिलो पटक आइसक्रीम कसले बनाएको थियो भन्ने विषय विवादित छ र जति फरक स्वादका आइसक्रीम पाइन्छ त्यति नै यसका कथाहरू पनि पाइन्छ। हालै घोडाको दूधबाट आइसक्रीम बनाउन सकिने कुरा पनि सार्वजनिक भएको छ।
हामीलाई आइसक्रीम किन यति धेरै मन पर्छ भन्ने पनि एउटा गम्भीर वैज्ञानिक विषय हो। अनुसन्धानकर्ताहरूले आइसक्रीमका पोषणयुक्त फाइदाबारे अध्ययन गरेका छन् र त्यसका कम स्वास्थकर पाटोहरूबारे पनि अध्ययन गरेका छन्।
आइसक्रीमले हाम्रो मनस्थिति कसरी परिवर्तन गर्न सक्छ भन्ने पनि अध्ययनहरू भएका छन्। लन्डनमा सन् २०२१ मा इन्स्टिट्यूट अफ साइकियाट्रीले मानिसहरूको निर्णय गर्ने प्रक्रियामा संलग्न हुने मस्तिष्कको भाग जसलाई अर्बिटोफ्रन्टल कोर्टेक्सले आइसक्रिमको स्वाद पाउने बित्तिकै प्रतिक्रिया जनाउने पत्ता लगाएको थियो।
अन्य अध्ययनहरूले पनि राम्रो गुणस्तरको आइसक्रीममा प्रोटीन र फ्याटजस्ता पोषक तत्त्व हुने र त्यसले तुरुन्तै मूड खुसी बनाउने सेरोटोनिन होर्मोनको मात्रा बढाउने पत्ता लगाएका छन्। यसमा मानव विकास क्रमको पनि ठूलो भूमिका छ। मानिसहरूलाई गुलियो खानेकुरा किन खाइरहन मन लाग्छ भन्ने व्याख्या पनि यसले दिन्छ।
चिनी, दूध र चिसो तापक्रमको मिश्रणले पनि उपभोक्तालाई मुखमा मिठो अनुभूति दिन्छ। आइसक्रीमको उत्पत्ति कहाँ भयो भन्नेबारे खानाका इतिहासकारहरूमाझ चर्को बहस निम्त्याएको छ।
बहसका क्रममा सहमति जनाइएको एउटा विषय के हो भने बिजुली र रेफ्रिजिरेटरभन्दा अगाडि नै यसको उत्पत्ति भइसकेको थियो। हिउँ र बरफ भइरहने थुप्रै क्षेत्रका संस्कृतिमा बरफ बनाइएको पेय पदार्थ वा फ्रोजन डिजर्ट पत्ता लागेको हो र त्यही क्रममा पछि आइसक्रीम बनेको मानिन्छ।
पहिलो शताब्दीमा रोमन सम्राट नेरोले आफ्नो फलफूलको जुसमा हाल्नलाई बरफ लिन धावकहरूलाई पहाड पठाएको बताइन्छ। प्राचीन चीनको टाङ्ग डाइनेस्टीका सम्राट्हरूले दूधलाई चिस्याएर बनाइएको मिश्रण खाएको विवरण रहेको छ।
आइसक्रीम अ ग्लोबल हिस्ट्री नामक पुस्तकमा लउरा बी वाइसले गाई, बाख्रा वा भैँसीको दूधलाई अमिल्याएर र तताएर त्यसमा पिठो मिसाएर र बास्नाका लागि कपूरको मिश्रणको व्याख्या गरेकी छन्। त्यस्तो मिश्रणलाई धातुको भाँडामा राखेर जमाएर अनि त्यसलाई आजकालका कुल्फीजस्तो बनाइन्थ्यो।
आइसक्रीम्स , सोबेज र जिलाटी द डिफिनिटिभ गाइड नामक पुस्तकका लेखक रोबिन वाएरले फ्रोजन डिजर्टको उत्पत्ति पहिचान गर्न दुई वटा सङ्केतले मद्दत गर्न सक्ने बताउँछन्। पहिलो, आइसक्रीमलाई व्याख्या गर्नुपर्छ।
सामान्य रूपमा सन् २०२२ मा वाएरले भनेका छन्, आइसक्रीममा डेरी र क्रीम हुन्छ भने सोबेमा त्यस्तो केही हुँदैन। इटलीबाट सुरु भएको जिलेटोमा थोरै क्रीम हुन्छ वा हुँदै हुँदैन। यसको बनाउने प्रक्रिया ढिला हुन्छ र बनिसक्दा त्यसमा कम हावा हुन्छ।
आइसक्रीमको विषय मलाई रुचिकर लाग्छ किनभने त्यसमा चिनी, पानी, दूध वा क्रीम, केही फ्लेबरलगायत थोरै सामग्री हुन्छ । यी सबै सामग्रीलाई सँगै मिसाएर कसरी राख्नुहुन्छ भन्ने कुरा हो। वाएरको दोस्रो सुझाव भनेको आइसक्रीमको उत्पत्तिबारे जान्न मानिसले इन्डोथर्मिक इफेक्ट कहिले पत्ता लगाए भन्ने खोज्नुपर्छ। यो त्यस्तो इफेक्ट हो जसमा बरफमा नुन मिसाइन्छ ताकि त्यसको तापक्रम फ्रिजिङ पोइन्ट भन्दा कम हुन्छ।
आइसक्रीम बन्नका लागि ठिक ठानिने तापक्रम भनेको माइनस १० डिग्री सेल्सिअस र माइनस २० डीग्री सेल्सिअसबीच हो। लरा बी वीशले चिनियाँ, अरेबिक र भारतीयहरू सबैले इतिहासको कुनै समयमा इन्डोथर्मिक इफेक्टको सिद्धान्तको बुझाइ देखाएकोबारे लेखेकी छन्।
तर कुन समय भन्ने चाहिँ इतिहासविद्हरूलाई पनि अहिलेसम्म थाहा छैन। इरानमा, याक्चल भनिने डोम आकारको संरचना ४०० बीसीतिर बनेको थियो जसमा जमिनमुनि पनि संरचना बनाइएको छ र त्यसलाई बरफ भण्डारणका लागि बनाइएको मानिन्छ।
त्यस्ता संरचना सयौँको सङ्ख्यामा छन्, तर प्रश्नहरू के उठेका छन् भने पर्सियनहरूले बरफ भण्डारण किन गरे। के उनीहरूलाई इन्डोथर्मिक इफेक्ट र त्यसको प्रयोग फ्रोजन डिजर्ट बनाउन प्रयोग गरिन्छ भन्नेबारे थाहा थियो ?
लन्डनस्थित ला ग्रोटा आइसेजकी संस्थापक किटी भर्सले प्राकृतिक बास्नाको आइसक्रीममा विशेषज्ञता हासिल गरेकी छन् जसले आइसक्रीम बनाउँदा फलफूल, तरकारी र जडीबुटी प्रयोग गर्छिन्। उनले पनि आफूले परम्परागत इन्डोथर्मिक आइसक्रीम बनाउने तरिका आफूले प्रयोग गरेकोबारे व्याख्या गरेकी छन्
वर्षौँअघि, मैले पुरानो समयमा कसरी आइसक्रीम बनाइन्थ्यो भनेर एउटा कोर्स गरेकी थिएँ, उनले भनिन्। हामीसँग बरफ र नुन राखिएको काठको भाँडो थियो। त्यो भाँडोभित्र पारमेसन चीजले भरिएको धातुको भाँडोलाई राख्थ्यौँ र त्यो मिश्रणलाई हातले मथ्ने गर्थ्यौँ।
ूत्यसले बिजुलीले मथ्नेभन्दा छिटो काम गर्थ्यो। आइसक्रीम एकदमै स्वादिलो हुन्थ्यो। त्यसैले यदि प्राकृतिक रूपमै बरफका टुक्रा बनाउन सकिन्छ भने आइसक्रीम बनाउन बिजुलीको आवश्यकता पर्दैन।
युरोपमा, भनिने एउटा कथा के हो भने मार्को पोलोले चीनबाट अन्य खानेकुराको साथै फ्रोजन डिजर्टको रेसिपी पनि ल्याएका थिए। तर उनी साँचिकै चीन पुगेका थिए भन्ने कुरा भने विवादमा छ।
तर अक्सफोर्ड कम्पेनियन टु सुगर एन्ड स्वीटस्लगायत कयौँ प्रकाशनले युरोपेलीलाई १६ औँ शताब्दीसम्म इन्डोथर्मिक इफेक्टको बारेमा थाहा नभएको औँल्याएका छन्। २० औँ शताब्दीको आधापछिको समयमा पश्चिमा देशमा फ्रीज पहुँचमा भएपछि आइसक्रीम बनाउने काम औद्योगिक व्यापारको तहमा विकसित भएको हो।
स्टाटिस्टा नामक बिजनेस इन्टेलिजेन्स प्लेटफर्मका अनुसार आइसक्रीमको विश्वव्यापी उद्योगले सन् २०२४ मा १०३।४ अर्ब डलर को व्यापार गरेको छ। चकलेट कन्फेक्सनरी र कफीले भने १३३.६ अर्ब र ९३.४६ अर्ब डलरको व्यापार गरेका छन्।
आइसक्रीममा प्रयोग गरिने स्वाद थप परिष्कृत बन्दै गइरहेका छन्। पहिलाजस्तो भनिला र चकलेटबाहेक अहिले थुप्रै स्वादका आइसक्रीम पाइन्छ जसमध्ये केहीमा स्थानीय स्वादको झल्को पनि पाइन्छ।
तपिवा गुझा साउथ अफ्रिकाको केप टाउनमा एउटा किचन क्याफे चलाउँछन्। सन् २०२२ मा उनले सुकेका माछा र स्कच बोनेट चिल्लीको प्रयोग गरेर बनाएको आइसक्रीमले सामाजिक सञ्जालमा धेरैको ध्यान तानेको थियो। जिम्बाब्वेमा जन्मिएका मलिकुलर बायोलोजिस्टले आफू खानेकुरा प्रेमी वैज्ञानिक मस्तिष्क भएको व्यक्ति भनी व्याख्या गरेका छन्।
पछिल्लो आइसक्रीमको विकास भने पोल्यान्डमा भएको हो। वेस्ट पोमेरनियन युनिभर्सिटी अफ टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले घोडाको दूधबाट आइसक्रीम बनाएका छन्। घोडाको दूधको आइसक्रीम पनि गाईको दूधको जस्तै बाक्लो र उस्तै देखिएको छ।
अगस्टमा प्रकाशित अध्ययनले घोडाको दूधको आइसक्रीमले पाचन प्रणालीलाई राम्रो गर्न सक्ने देखाएको छ तर त्यसका लागि पक्कै पनि थप अनुसन्धानहरू आवश्यक पर्छ। फर्मेन्टेड घोडाको दूधको प्रयोग मध्य एसियामा लामो समयदेखि उपभोग गरिँदै आएको छ तर त्यही दूधबाट फ्रोजन डिजर्ट बनाइएको चाहिँ यो नयाँ प्रयोग हो।
किटी ट्र्याभर्सले पोलिस अनुसन्धानकर्ताहरूले प्रयोग गरेर बनाएको आइसक्रीम चाखिन् र त्यो पातलो र थोरै कडा लागेको बताइन्। मध्य एशियाका पहाडी भेगमा बसोबास गर्ने मानिसहरूले पहिलादेखि नै घोडाको दूध सेवन गर्दै आएका छन्। तर आइसक्रीम बनाउने प्रयोग चाहिँ नयाँ हो। बीबीसी



