के हो स्वस्थ पेट, कसरी स्वास्थ राख्न सकिन्छ ?

पेटको स्वास्थ्य कोलेस्ट्रोलको मात्रादेखि मानसिक स्वास्थ्यसम्मका सबै कुरासँग जोडिन सक्ने अनुसन्धानमा पाइएको छ। स्वास्थ्यमा पेटको भूमिकाबारेमा सचेतना बढ्दै जाँदा मानिसहरूमा यसको ख्याल गर्ने रुचि पनि बढ्दै गएको छ।
पोलरिस मार्केट रिसर्चको सन् २०२१ को एक तथ्याङ्कअनुसार प्रोबायटिक्स भनिने शरीरलाई फाइदा गर्ने सूक्ष्मजीवहरूको विश्वव्यापी बजार ६० अर्ब अमेरिकी डलर पुगेको छ। सन् २०३० सम्म यो हरेक वर्ष ७ प्रतिशतका दरले बढ्दै जाने ठानिएको छ।
स्वस्थ पेट भनेको के हो ?
पेटको संरचना निकै जटिल भएकाले स्वस्थ पेटको पहिचान गर्नु अन्य अङ्गहरूको जस्तो सहज हुँदैन। पेटको स्वास्थ्यस्थिति मापन गर्न सकिने त्यस्तो कुनै एउटा मात्रै विधि पनि छैन। हाम्रो पेट माइक्रोब भनिने सूक्ष्म जीवाणुहरूले भरिएको हुन्छ। पेटमा यति धेरै त्यस्ता जीवाणु हुन्छन् कि तिनीहरूलाई एकसाथ राखेमा तिनीहरूको तौल १.८ किलोग्रामभन्दा धेरै हुन्छ।
आन्द्रामा भरिएका सामग्रीमा पनि प्रत्येक एक ग्राममा १ खर्ब ब्याक्टेरिया हुन्छन्। अक्स्फर्ड विश्वविद्यालयमा पेट र मस्तिष्कबीचको सम्बन्धबारे अनुसन्धान गरिरहेकी डा. केटरिना जोन्सनका अनुसार एउटा स्वस्थ पेटमा विविध समुदायका सूक्ष्म जीवाणुहरूका हुन्छन्। तर, सूक्ष्म जीवाणुसम्बन्धी विज्ञान तुलनात्मक रूपमा अहिले पनि नयाँ क्षेत्र रहेको उनी बताउँछिन्। यसको अर्थ एउटा स्वस्थ पेट कस्तो हुन्छ भन्नेबारे हामीलाई विस्तृतमा थाहा छैन।
किन आवश्यक छ स्वस्थ पेट ?
मस्तिष्क र पेटबीच बलियो सञ्चार प्रणाली हुन्छ, जसलाई पेट मस्तिष्क अक्ष भनिन्छ। दुवै एकअर्काका लागि महत्त्वपूर्ण छन्। अध्ययनले पेटमा हुने सूक्ष्म जीवाणुहरूको अनुपस्थितिमा मस्तिष्कको विकास असमान्य किसिमको हुन पुग्ने देखाएको छ।
पेटलाई कहिलेकाहीँ दोस्रो मस्तिष्क पनि भनिन्छ किनभने ब्याक्टेरियाहरूले पेटमा रहेका १० करोड स्नायू कोषिकाहरूमार्फत् हाम्रो व्यवहारलाई प्रभावित गर्न सक्छन्। स्नायु कोषिकाहरू हाम्रो मस्तिष्क र केन्द्रीय स्नायु प्रणालीमा पाइने त्यस्ता कोषिका हुन्, जसले हाम्रो शरीरलाई कस्तो व्यवहार गर्ने भनेर बताउँछ।
हाम्रो पेटले मस्तिष्कमा पाइने सेरटनिनजस्ता न्युरोट्रान्स्मिटरहरूको उत्पादन गर्ने भएकाले मनस्थिति नियन्त्रणमा पनि भूमिका खेल्छ।सामान्यतया पेटको भूमिका खानाबाट पोषक तत्त्वहरू सोस्नु हो भन्ने बुझाइ छ।
हामीले दिसामा पानी र खनिज गुमाउन सक्दैनौँ, भारतस्थित पेट र आन्द्रासम्बन्धी रोगका विशेषज्ञ चिकित्सक डा. वेङ्कटरमण कृष्ण भन्छन्।यूकेमा द गट हेल्थ डक्टर अर्थात् पेटसम्बन्धी चिकित्सक भनेर चिनिएकी डा. मेगन रोशी सूक्ष्म जीवाणुहरूको असन्तुलनले मुटु र श्वासप्रश्वाससँग सम्बन्धित रोगहरूदेखि प्रतिरक्षा प्रणालीसम्ममा असर गर्ने बताउँछिन्। उनी यी सूक्ष्म जीवाणुहरू गठिया बाथ जोर्नी सुन्निएर दुख्ने समस्यासहितको बाथजस्ता ७० भन्दा धेरै जटिल स्वास्थ्य अवस्थासँग सम्बन्धित रहेको बताउँछिन्।
डा. रोशी पेटमा करिब ७० प्रतिशत प्रतिरक्षा कोषिकाहरू रहेको र तिनीहरूले शरीरको प्रतिरक्षा प्रणालीसँग निरन्तर सञ्चार गरिरहने बताउँछिन्। त्यसैले स्वस्थ पेट भएका मानिसहरूको प्रतिरक्षा प्रणाली पनि बलियो हुने गरेको उनी बताउँछिन्।
पेटको अवस्था कसरी सुधार्न सकिन्छ ?
सन् २०१८ को अमेरिकी गट प्रोजेक्ट परियोजनाको अनुसन्धानलाई आधार मान्दै विज्ञहरूले विविध किसिमका पेटका जीवाणुहरू पाउनका लागि हरेक साता ३० फरकफरक किसिमका वनस्पतिजन्य खानेकुरा सेवन गर्न सिफारिस गरेका थिए। यसमा फलफूल र तरकारी मात्रै नभएर गेडागुडी, मसला र बदामजस्ता वस्तुहरू पनि पर्छन्।
फाइबरयुक्त खानाले हामीलाई अघाएको महसुस गराउने मात्रै नभएर पाचनलाई सहज बनाउनुका साथै अपच हुनबाट पनि बचाउँछ। यसले वयस्क मानिसलाई दैनिक ३० ग्राम फाइबर खान पनि सिफारिस गर्छ। मैदाको सट्टा गहुँको रोटी छान्ने र खैरो चामल वा गहुँको पास्ता छान्ने हो भने त्यसले पनि हाम्रो खानामा फाइबरको मात्रा बढाउँछ।
फाइबरका अन्य स्रोतहरूमा पोलेको आलुजस्ता बोक्रासहितको आलुको परिकारका साथै बोडी, दाल र चनाजस्ता गेडागुडी पनि पर्छन्। यिनीहरूलाई उसिनेर, तरकारी र सलादमा राखेर खान सकिन्छ। प्रीबायटिकयुक्त खाना निश्चित किसिमका फाइबर र कार्बोहाइड्रेटले पेटमा हुने राम्रा ब्याक्टेरियाको वृद्धिलाई प्रोत्साहन गर्ने पाइएको छ।
पाकिस्तानकी पेट र आन्द्रासम्बन्धी रोग विशेषज्ञ डा. हनिशा खेमानीका अनुसार २० वर्षको उमेरसम्म सन्तुलित र पोषयुक्त खाना खानु दीर्घकालीन स्वास्थ्यका लागि महत्त्वपूर्ण छ। संवेदनशील समयमा खाइने खानाले नै दीर्घरोग विकास हुने जोखिमलाई प्रभावित गर्ने, मानसिक र संज्ञानात्मक स्वास्थ्यमा असर गर्नुका साथै समग्रमा दशकौँपछि सम्मको स्वास्थ्यलाई प्रभाव पार्छ, उनी भन्छिन्।
व्रत बस्नु वा रातिको खाना र बिहानको खाजाबीचमा कम्तीमा १२ घण्टाको अन्तर राख्नुले पनि पेटमा हुने जीवाणुहरूलाई फाइदा पुर्याउने लन्डनस्थित किङ्स कलेजका प्राध्यापक टिम स्पेक्टरले आफ्नो पुस्तक ‘स्पून(फेडस् ह्वाई अल्मस्ट एभ्रिथिङ् वी ह्याभ बीन टोल्ड अबाउट फूड इज रङ’ मा लेखेका छन्।
पेटको स्वास्थ्यका लागि कुन खाना बेठिक ?
डा. कृष्ण अतिप्रशोधित खाना, मदिरा र सुर्ती पेटका लागि ठिक नहुने बताउँछन्। अतिप्रशोधित खानामा राम्रा ब्याक्टेरियालाई घटाउने वा नराम्रा ब्याक्टेरिया बढाउने तत्त्वहरू हुन्छन्।
हानिकारक भाइरस र ब्याक्टेरियाबाट बच्न सडकमा बेचिने अस्वस्थकर खाना नखाने र फलफूल तथा तरकारी धोएर खानुपर्ने बताउँछन्।तनावले पनि पेटमा प्रभाव पार्छ र अम्लको निर्माण तथा अल्सर हुने जोखिमलाई बढाउँछ। डा. जोन्सनका अनुसार धेरै तनावमा हुने मानिसमा निकै कम प्रकारका मात्र सूक्ष्म जीवाणुहरू हुन्छन्। विज्ञहरू प्रोबायटिक्सको प्रयोग कुनै निश्चित कारणका लागि गर्दा त्यसले काम गर्ने बताउँछन्। बीबीसी



