वीरगञ्जमा मेडिकल कलेज सञ्चालन गर्ने नारायणी सेन्ट्रल अस्पतालको योजना

वीरगञ्जस्थित नारायणी सेन्ट्रल अस्पतालले मेडिकल कलेज सञ्चालन गर्ने दीर्घकालीन योजना सार्वजनिक गरेको छ। अस्पतालले वीरगञ्ज र आसपासका क्षेत्रका नागरिकलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै चिकित्सा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पवन पटेलका अनुसार सञ्चालनको छोटो अवधिमै अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै चिकित्सा शिक्षातर्फ पनि कदम अघि बढाएको छ। स्वास्थ्य सेवाका आवश्यक मापदण्ड पूरा गरेर स्थापना गरिएको अस्पताललाई आगामी दिनमा मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी भइरहेको उनले बताए। यसका लागि आवश्यक पूर्वाधार, सेवा र सुविधाको विस्तार भइरहेको पनि उनको भनाइ छ।
हाल १०० शय्याको क्षमतामा सञ्चालनमा रहेको अस्पतालले सर्जरी, स्त्री तथा प्रसूति रोग, बालरोगलगायत विभिन्न उपचार सेवा प्रदान गर्दै आएको छ। डा. पटेलका अनुसार दूरबिनमार्फत गरिने ल्याप्रोस्कोपी, पित्तथैली, प्रोस्टेट, मूत्रनलीका शल्यक्रिया तथा पेनरहित डेलिभरी सेवामा अस्पताल यस क्षेत्रमै अग्रणी बन्दै गएको छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गरिब तथा विपन्न बिरामीका लागि निःशुल्क तथा न्यूनतम शुल्कमा उपचारको व्यवस्था गरिएको उनले जानकारी दिए।
अस्पतालले आगामी वर्षहरूमा सेवा विस्तारलाई अझ व्यापक बनाउने योजना बनाएको छ। अस्पतालमा आमाको उपचार गराइरहेका वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोपाल केडियाले अस्पतालको सेवा, चिकित्सक, कर्मचारी तथा सरसफाइप्रति सन्तुष्टि व्यक्त गरे। उनले नारायणी सेन्ट्रल अस्पताल आगामी दिनमा यस क्षेत्रका बिरामीका लागि आशाको केन्द्र बन्ने विश्वास व्यक्त गरे।
अस्पताल व्यवस्थापनका अनुसार नारायणी सेन्ट्रल अस्पताल नाफामुखी नभई सेवामुखी अवधारणामा सञ्चालन भइरहेको छ। आपतकालीन सेवा, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रिया, परामर्श सेवा तथा महिला र बाल स्वास्थ्य सेवामा निरन्तर सुधार गर्दै आएको अस्पतालले जनाएको छ। आधुनिक उपकरण, प्रविधि र अनुभवी चिकित्सकमार्फत बिरामी केन्द्रित सेवा प्रवाहलाई प्राथमिकता दिइएको अस्पतालको दाबी छ।



