कपडा उद्योगको सम्भावना यसरी हुन्छ उपयोग

टेक्स्टाइल क्षेत्र विश्वमा सबैभन्दा बढी रोजगारी सृजना गर्ने क्षेत्रका रूपमा चिनिन्छ । कच्चा पदार्थ उत्पादनदेखि अन्तिम उपयोगसम्मका चरणमा उपयोग हुने जनशक्ति, मूल्ययोगका चरणहरू, प्रयोग हुने प्रविधि र वितरण प्रक्रियाले टेक्स्टाइल क्षेत्र विशालतम सञ्जाल भएको क्षेत्रका रूपमा विश्व अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने क्षेत्रका रूपमा रहेको छ ।
शास्त्रीय परिभाषामा टेक्स्टाइल क्षेत्र भन्नाले ऊन, रेशम, सुती, जुट, अल्लोलगायत अन्य प्राकृतिक तथा कृत्रिम रेशाहरू एवं तिनका उत्पादनहरू भन्ने बुझिन्छ । एचएस वर्गीकरणमा शीर्षक ५० देखि शीर्षक ६३ भित्र पर्ने सबै रेशा र तिनका उत्पादनहरूलाई टेक्स्टाइल क्षेत्रको परिभाषाभित्र पार्ने गरिएको छ । टेक्स्टाइल क्षेत्रका सहायक उद्योग भन्नाले टाँक, जिपर, फास्टनर, सियो, मेशिनरी, रङरोगन, प्रेस, ट्याग, लेबल आदिलाई मानिन्छ । यसैगरी टेक्स्टाइल उत्पादनमा प्रयोग हुने मेशिनरी र ऊर्जाको आफ्नै विशिष्ट स्थान रहेको छ ।
एचएस वर्गीकरणको भाग ५० देखि भाग ६३ सम्मलाई मात्र समावेश गर्न हो भने पनि उपर्युक्त वर्गीकरण बमोजिम नेपालको वैदेशिक तथ्यांकलाई हेर्दा आजभन्दा १७ वर्ष अगाडि अर्थात् २००८/०९ मा करीब रू. २५ अर्बको निर्यात र रू. १७.१९ अर्बको आयातसहित यस क्षेत्रमा नेपालको व्यापार नाफा रू. ७ अर्ब ८८ करोड बराबर रहेको देखिन्छ । यस क्षेत्रको समानुपातिक विकासको नीति नलिएको परिणामस्वरूप आव २०२४/२५ मा टेक्स्टाइलको कुल निर्यात रू. ५६ अर्ब ६३ करोड पुग्दा आयात भने रू. १ खर्ब ९ अर्ब पुग्न गई टेक्स्टाइल क्षेत्रमा नेपालको कुल व्यापारघाटा रू. ५२ अर्ब ३९ करोडको हाराहारीमा पुगेको छ ।
आव २०११/१२ मा यी वस्तुहरूको वैदेशिक व्यापारको सन्तुलन नेपालका पक्षमा रहे तापनि सोभन्दा पछिल्ला आवहरूमा सन्तुलन क्रमशः नेपालको विपक्षमा गइरहेको छ । पछिल्ला आवहरूमा यस क्षेत्रमा नेपालको व्यापारघाटाको खाडल अझ फराकिलो हुँदै गएको पाइएको छ ।
कोटा प्रणाली खारेज भएपछि नेपालको तयारी पोशाकको निर्यात एक्कासि धराशयी भएको देखिन्छ । कमजोर धरातलमा आधारित उद्योगहरू एक्कासि धराशयी हुने एक स्वयंसिद्ध तथ्य पनि हो । तसर्थ टेक्स्टाइल क्षेत्रको बलियो र भरपर्दो जग बन्न नसक्नुका कारणहरूको यथार्थ विश्लेषण नगर्दासम्म यो क्षेत्रमा उल्लेख्य उपलब्धि प्राप्त गर्न सकिँदैन । सारांशमा भन्नुपर्दा कच्चा पदार्थ, यार्न, धागो र कपडा उत्पादनका चारओटा तहगत व्यवस्थाहरू बलियो नभएसम्म टेक्स्टाइल क्षेत्रको जग बलियो हुन सक्दैन ।
कच्चा पदार्थको उत्पादनदेखि अन्तिम वस्तु उत्पादनसम्मका चरणहरूमा स्वदेशमा जुन उद्योगतन्त्रको सञ्जाल विकास हुनुपर्ने हो, त्यो नेपालमा हुन सकेको छैन । नेपाल विगतमा यो दिशामा जान खोजेको पनि हो । बर्दिया र दाङ लक्षित कपास उत्पादन, बुटवलमा स्थापित धागो कारखाना, दुर्गम क्षेत्र लक्षित भेडापालन, पूर्वी तराई लक्षित जुट उत्पादन र उद्योग तथा हेटौंडामा अवस्थित कपडा उद्योग टेक्स्टाइल क्षेत्रको जग सबलीकरणको प्रारम्भिक यात्रा थियो । त्यो यात्रामा आधुनिकीकरण, व्यवसायीकरण र समयानुकूल सुधार हुन नसक्दा नेपालमा टेक्स्टाइल क्षेत्रले अपेक्षित फड्को मार्न नसकेको हो ।
सहायक उद्योगको सञ्जालको समानुपातिक विकास
टेक्स्टाइल उद्योगको मेरूदण्डका रूपमा रहेका सहायक उद्योगहरूको समानान्तर विकासमा पनि संगठित प्रयासहरू हुन सकेका छैनन् । सियो, कैंची, क्रश, सुइरो, टेप, मार्कर, लेबल, ट्याग, बटन, जिपर, फास्टनर, मेशिनरी मर्मत तथा सम्भार, पार्टपुर्जा निर्माण, प्याकेजिङ सामग्री उत्पादन, रङरोगन कार्य, वासिङ प्लान्टजस्ता क्षेत्रहरू यथोचित प्राथमिकतामा पर्न सकेका छैनन् । विगत १७ वर्षमा टेक्स्टाइल मेसिनरीको आयात मात्रै रू. ११ अर्ब बराबरको रहेको छ । यसैगरी आव २०२४/२५ मा रू. ६८ करोड टाँक, जिपर र फास्टनर मात्रै आयात भएको छ ।
जनशक्ति, नवप्रवर्तन र शिक्षणमा विशेष पहल
टेक्स्टाइल क्षेत्रको विकासका लागि आवश्यक जनशक्ति उत्पादन, आविष्कार र नवप्रवर्तनजस्ता विषयमा संस्थागत व्यवस्थाहरू पनि हुन सकेका छैनन् । निकटवर्ती मुलुक बंगलादेशमा सन् १९२१ मा बुनाइ विद्यालय स्थापना गरिएको थियो भने सन् २०१० मा बंगलादेश टेक्स्टाइल विश्वविद्यालय नै स्थापना गरिएको छ । यस्तै यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हेतु करिब ६ वटा संस्थाहरू स्वतन्त्र रूपमा क्रियाशील छन् भने बंगलादेशभरि करीब ३१ ओटा शैक्षिक संस्थाहरूमा टेक्स्टाइलसम्बन्धी उच्च शिक्षा प्रदान गरिँदै आएको छ । भारतमा त कपडा मन्त्रालयको नै व्यवस्था गरिएको छ ।
भारत, पाकिस्तान र बंगलादेशको पोशाक क्षेत्रको बलियो उपस्थितिका पछाडि कराची, मुम्बई, कलकत्ता, ढाका र अहमदाबादजस्ता केन्द्रहरूमा १९औं शताब्दीमै टेक्स्टाइल उद्योगहरू र तिनका सहायक उद्योगहरूको ठूलो भूमिका रहेको छ । यी तीनओटै देशमा टेक्स्टाइल क्षेत्रको विकासमा स्थापित अनुसन्धानात्मक शिक्षण संस्थाहरूको पनि ठूलो भूमिका रहेको पाइन्छ । पोशाक निर्यातमा यी देशले गरेको उपलब्धि रातारात नभई यससँग जोडिएको अनुभवजन्य इतिहासको पाटोलाई पनि बिर्सनु हुँदैन ।
कच्चा पदार्थदेखि तयारी मालवस्तुसम्मका उद्योगको समानुपातिक विकास
सारमा भन्नुपर्दा कपडा उत्पादनमा जति तानाबाना रहेका हुन्छन्, यस उद्योगका पनि त्यत्तिकै तानाबाना रहेका हुन्छन् । यसका लागि कच्चा पदार्थ आयातमा सहजीकरण, स्वदेशमै कच्चा पदार्थको सञ्जालको विकास, कच्चा पदार्थ, धागो उत्पादन, कपडा उत्पादन, आन्तरिक बजार र बाह्य बजारको समानुपातिक विकासको रणनीति अंगीकार, अनुदान, सहायक उद्योगको समानुपातिक विकास, ब्रान्ड स्थापना, अनुसन्धान, जनशक्ति विकास, प्रोत्साहन तथा वस्त्र क्षेत्रलाई करमुक्त क्षेत्रका रूपमा विकास गर्न सकेको खण्डमा खर्बौंको आकारको रहेको वस्त्र क्षेत्रमा नेपालको जग बलियो भई निर्यात वृद्धि र आयात प्रतिस्थापन हुने देखिन्छ ।
यसरी कच्चा पदार्थ, धागो, कपडा, तयारी मालवस्तु उत्पादन, आन्तरिक बजार र बाह्य बजारको पिरामिड, भन्सार दर, सहजीकरण र करमुक्तिरूपी संरक्षकको छाना तथा अनुदान, सहायक उद्योग, ब्रान्ड स्थापना, अनुसन्धान, जनशक्ति विकास र प्रोत्साहनरूपी स्तम्भको आधारभूमिमा टेक्स्टाइल क्षेत्रलाई विकास गरिनु आवश्यक छ ।
टेक्स्टाइल क्षेत्रको विकासमा स्वदेशमा उपलब्ध बजारमा स्थापित साखको पनि ठूलो महत्त्व हुन्छ । मुलुकभित्रको टेक्स्टाइलको मागमा स्वदेशी उद्योगको बलियो उपस्थिति हुँदा मात्रै यस क्षेत्रको धरातल बलियो हुन जान्छ । भारत, बंगलादेश र पाकिस्तानमा टेक्स्टाइल क्षेत्रको आन्तरिक मागमा स्वदेशी उत्पादनको उल्लेख्य हिस्सा रहेको छ । यसका अतिरिक्त टेक्स्टाइल क्षेत्रका सहायक उद्योगहरूमा पनि स्वदेशी उत्पादनको सोही अनुपातको उपस्थिति छ । स्वदेशको मागले उद्योगतन्त्रमा एक प्रकारको आत्मविश्वास पैदा गर्दछ, जसको धरातलमा बसेर निर्यात क्षेत्रको उडान भर्न सकिन्छ ।
उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै नेपालको टेक्स्टाइल क्षेत्रको समग्र विकासमा जग सबलीकरणको मान्यतालाई सर्वोपरि प्राथमिकतामा राखिनुपर्छ । यो जग सबलीकरणमा टेक्स्टाइल क्षेत्रका लागि आवश्यक कच्चा पदार्थ उत्पादन, यार्न, धागो र फेब्रिक उद्योग तथा तिनका सहायक उद्योगको व्यापक विस्तार तथा टेक्स्टाइल क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन एवं अनुसन्धान तथा विकासको प्रयोजनार्थ शिक्षण तथा अनुसन्धानात्मक संस्थाको स्थापनामा सरकार र निजीक्षेत्र दुवैको व्यापक लगानी आवश्यक देखिन्छ ।
ब्रान्डयुक्त टेक्स्टाइल क्षेत्र
स्वदेशको बजारमा आधारित टेक्स्टाइल उद्योगहरूलाई निर्यातमुखी बनाउने र विशुद्ध निर्यात क्षेत्रमा क्रियाशील टेक्स्टाइल उद्योगहरूलाई आन्तरिक बजारसँग पनि जोड्ने रणनीति अंगीकार गरी यस क्षेत्रको भविष्य सुनिश्चित पार्नु जरुरी छ । नेपालभित्रै टेक्स्टाइलका विभिन्न उत्पादनहरूको आफ्नै ब्रान्ड स्थापना गर्ने अभियान पनि सँगसँगै सञ्चालन हुनुपर्छ । स्वदेशी बजारमा स्थापित ब्रान्डले बाह्य बजारमा पनि उक्त ब्रान्ड स्थापित गर्न सहज हुन्छ ।
वस्त्र क्षेत्रलाई सुरक्षाकवचको व्यवस्था
टेक्स्टाइल क्षेत्रको जग सबलीकरणका उपर्युक्त अभियानलाई (क) प्रक्रियागत सहजता, (ख) सुनिश्चित औद्योगिक वातावरणको सृजना एवं भन्सार र करका दरहरूमा समायोजन तथा अनुदान र प्रोत्साहनजस्ता व्यवस्थाबाट सुरक्षा कवच पनि प्रदान गरिनुपर्छ ।
वर्तमान विश्वमा वातावरण संरक्षण प्रमुख सरोकारको विषय रहेको सन्दर्भमा नेपालले आफ्ना उत्पादित टेक्स्टाइल उत्पादनहरूलाई नवीकरणीय हरित ऊर्जा, जलविद्युत् ऊर्जास्रोतबाट उत्पादित उत्पादन भन्ने लेबलसहित निर्यात गर्ने र सोही आधारमा विश्व बजारमा प्रवर्द्धन गर्ने रणनीति अपनाउनुपर्छ । यो रणनीति अंगीकार गर्दा कार्बन उत्सर्जन गर्ने ऊर्जा प्रयोग गरेर तयारी टेक्स्टाइल उत्पादन गर्ने मुलुकको तुलनामा नेपालको आफ्नै विशिष्ट पहिचान स्थापित हुने र आफ्नै खालको प्रतिस्पर्धी क्षमता वृद्धि हुने निश्चित छ ।
वातावरणमैत्री टेक्स्टाइल क्षेत्रको विकास र प्रवर्द्धन
यसैगरी विश्वको वातावरण संरक्षणको सरोकारलाई सम्बोधन गर्न प्राकृतिक रेशा र प्राकृतिक रङरोगनबाट उत्पादित टेक्स्टाइल उत्पादनलाई स्वदेश र विदेश दुवैतिर प्रवर्द्धन गर्ने रणनीति अंगीकार गरिनुपर्छ । विशेषगरी अल्लो र भाङ्ग्रोका उत्पादनहरूलाई राष्ट्रिय मूलधारमा स्थापित गरी अन्य प्राकृतिक रेशाहरूलाई समेत विशेष प्राथमिकता प्रदान गर्दै नेपालको वस्त्र क्षेत्रलाई विशेष वातावरणमैत्री पहिचानसहित विकास गर्नु जरुरी छ ।



