
सरकारले विद्युत् खपत बढाएर इन्धन आयात घटाउने नीति लिए पनि पेट्रोलियम पदार्थको आयात भने बढेको छ । पेट्रोलियम पदार्थ आयात हुने मुख्य नाकामा रहेको वीरगञ्ज भन्सारको तथ्यांकले यस्तो देखाएको हो । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशनसँग २ महीनामा २६ अर्ब ३३ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ किनेको हो । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को साउन र भदौमा उक्त मूल्यबराबरको इन्धन आयात भएको तथ्यांक वीरगञ्ज भन्सारको वेबसाइटमा प्रकाशित गरिएको छ ।



यो रकम अघिल्लो आव २०८१/८२ को तुलनामा १ अर्ब ७६ करोड रुपैयाँले बढी हो । गत आवको समीक्षा अवधिमा यो नाकाबाट २४ अर्ब ५७ करोड रुपैयाँ बराबरको इन्धन आयात भएको थियो ।



सरकारले विद्युत् खपत बढाएर पेट्रोलियम पदार्थ आयात घटाउन विद्युतीय सवारीसाधन आयातलाई प्रोत्साहन दिने नीति लिएको छ । तर, सवारीसाधनमा खपत हुने डिजेल र पेट्रोल दुवैको आयात मूल्य र परिमाण दुवै बढेको भन्सारको तथ्यांकले देखाउँछ ।



पेट्रोलियम पदार्थ यो नाकाबाट भित्रिने मुख्य वस्तु रहेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले बताए । ज्ञवालीका अनुसार आयात मूल्य र राजस्व योगदानमा पनि पेट्रोलियम पदार्थ नै मुख्य स्थानमा रहेको छ ।
मूल्यका आधारमा पेट्रोलियम पदार्थ वीरगञ्ज नाकाबाट आयात हुने वस्तुको शीर्ष स्थानमा रहेको छ । सबैभन्दा बढी डिजेल भित्रिएको छ । उक्त अवधिमा ११ अर्ब ९१ करोड रुपैयाँ बराबरको डिजेल आयात हुँदा दोस्रोमा ६ अर्ब ८२ करोड रुपैयाँको पेट्रोल परेको छ । एलसी ग्यासको आयात भने घटेको छ । ५ अर्ब १२ करोड रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको भन्सारको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको ग्यास आयात भएको थियो ।
खाना पकाउन विद्युत्को प्रयोग बढेकाले ग्यास आयात घटेको भन्सारका अधिकारीहरूले बताएका छन् । २ अर्ब ४२ करोड रुपैयाँको हवाई इन्धन भित्रिँदा ३ करोड रुपैयाँको मट्टीतेल आयात भएको देखिन्छ ।
राजस्वमा सबैभन्दा बढी योगदान दिने वस्तु पनि पेट्रोलियम पदार्थ नै रहेको छ । २६ अर्ब ३३ करोड रुपैयाँको इन्धन आयात हुँदा वीरगञ्ज भन्सारले ११ अर्ब १८ करोड रुपैयाँ राजस्व उठाएको छ ।
यो नाकाबाट भित्रिने वस्तुमा पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थ र सवारीसाधन मुख्य भएको भन्सार प्रशासक ज्ञवालीले बताए । आयात मूल्यको आधारमा दोस्रो स्थानमा फलाम र फलामबाट बनेका सामान रहेका छन् ।
दुई महीनामा कुल १३ अर्ब ८० करोड रुपैयाँका यस्ता सामान आयात भएका छन् । यो नाकाबाट फलाम उद्योगहरूले कच्चा पदार्थ आयात गर्छ्न् । बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित १ दर्जन यस्ता उद्योगले यही नाकाबाट कच्चा पदार्थ भित्र्याउने गरेका छन् । यो मूल्यका आधारमा अघिल्लो आवको समीक्षा अवधिभन्दा ३ अर्ब रुपैयाँले बढी हो । गत आवको शुरूको २ महीनामा १० अर्ब ८० करोड रुपैयाँका यस्ता सामान आयात भएको भन्सारको तथ्यांक छ ।
वीरगञ्ज नाकाबाट खानेतेल उद्योगले ल्याउने कच्चा तेल, मेसिनरी पार्टपुर्जा, मलखाद, इलेक्ट्रिक मेशिनरी, उपकरण र तिनका पार्टपुर्जा, यातायातका साधन र पार्टपुर्जा आयात हुन्छ । औषधि, कपडा, प्लास्टिकको कच्चा पदार्थ र तयारी सामान, खाद्यान्न, कोइलालगायत पनि यो नाकाबाट आयात हुने मुख्य वस्तु हुन् ।