No Image Headlineखबर फटाफटदेश

वर्षाको विपत्ति : गृह मन्त्रालयले जारी गर्‍यो ८ बुँदे निर्देशन

जल तथा मौसम विज्ञान विभागले असोज १८ देखि २० गतेसम्म देशभर भारीदेखि अति भारी वर्षाको चेतावनी जारी गरेसँगै गृहमन्त्रालयले विपद् व्यवस्थापनका लागि ८ बुँदे निर्देशन जारी गरेको छ।

शनिबार अपराह्न गृहमन्त्री ओम प्रकाश अर्यालले प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरी सम्भावित जोखिमको मूल्याङ्कन र व्यवस्थापनका लागि कडा निर्देशन दिएका हुन् ।

आगामी २४ घण्टासम्म निरन्तर वर्षाले गत वर्षको जस्तै बाढी र डुबानको जोखिम निम्त्याउन सक्ने अनुमान गरिएको छ । बागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर तीव्र रूपमा बढेको छ ।

ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको जलस्तर सतर्कता तह ३।५ मिटर पार गरी ३।५८ मिटर पुगेको छ। मनोहरा खोलाको बालकुमारी केन्द्रमा जलस्तर सतर्कता तह ४।४ मिटर पार गरेको छ भने नख्खु खोलामा पनि जलस्तर तीव्र गतिमा बढिरहेको छ।

हनुमन्ते खोला, विष्णुमति खोला, नख्खु खोलाको मेडिसिटी आसपास र तलका बस्तीहरू, कालिमाटी र बल्खु तरकारी बजार क्षेत्रमा डुबानको खतरा उच्च छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १८, १९ र २० गते लामो दूरीका र काठमाडौं उपत्यका भित्रिनेरबाहिरिने सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

यो निर्णयको अनुगमन र निगरानीका लागि सबै प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ। राजमार्गमा रोकिएका सवारी साधनलाई मौसम र सडकको अवस्था हेरी गन्तव्यसम्म पुर्‍याउन सहजीकरण गर्न र यात्रुहरूका लागि स्थानीय तह तथा संघसंस्थासँग समन्वय गरी खानपानको व्यवस्था मिलाउन परिपत्रमा उल्लेख छ।

एम्बुलेन्सलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउन प्राथमिकता दिइने छ भने बाटोमा अलपत्र परेका गर्भवती महिलाहरूलाई नजिकको जन्म केन्द्रसम्म पुर्‍याउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

बाढी र पहिरोको जोखिममा रहेका बस्तीका बासिन्दालाई स्थानीय पालिकासँग समन्वयमा नजिकका विद्यालय वा खुला स्थानमा स्थानान्तरण गर्न मन्त्रालयले जोड दिएको छ। मौसमका कारण उडान स्थगित भएका यात्रुहरूका लागि यातायात व्यवसायीसँग समन्वय गरी परिवहनको व्यवस्था मिलाउन भनिएको छ।

तत्काल हेलिकप्टर उद्धार आवश्यक भएमा मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखासँग सम्पर्क गर्न आग्रह गरिएको छ। जोखिमयुक्त जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई २४ सै घण्टा कार्यालयमा उपलब्ध रहन र विपद् व्यवस्थापनको प्रगति विवरण विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा पठाउन निर्देशन दिइएको छ।

गृहमन्त्रालयले सबै पक्षलाई उच्च सतर्कता अपनाउन र विपद् न्यूनीकरणमा सक्रिय रहन आग्रह गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button