देशभरका २७ कारागारबाट हजारौँ कैदी फरार, करिब ६ हजार फर्के

गत साता जेन जी आन्दोलन चर्किएसँगै देशभरका २७ वटा कारागार र नौ वटा बालसुधार गृहबाट हजारौँ कैदीबन्दी फरार भएपछि अहिले करिब ६ हजार जनाले आत्मसमर्पण गरेका छन्। अझै करिब ९ हजार फरार रहेको सुरक्षा निकायको अनुमान छ।



नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार बुधबार बेलुकीसम्म फर्कनेको संख्या करिब ५,८०० पुगेको छ। कारागार व्यवस्थापन विभागका पछिल्लो विवरणअनुसार असोज १ गते साँझ ५ बजेसम्म ५,४९५ जना कैदीबन्दी र २४४ जना बालसुधार गृहका बन्दी गरी ५,७२९ जनाले फिर्ता भएको पुष्टि भएको छ।



“पछिल्ला दिनमा फर्कनेको संख्या बढ्दै गएको छ। बाँकी कैदीबन्दीलाई पनि फर्काउन हामी निरन्तर कारबाही र सुसूचना जारी गरिरहेका छौँ,” विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए।



अदालतले दोषी ठहर गरेका अपराधी र प्रहरी हिरासतका अभियुक्तहरू चाडपर्वको पूर्वसन्ध्यामा फरार हुँदा समाजमा चोरी, चकारी र अन्य आपराधिक गतिविधि बढ्ने चिन्ता देखिएको छ।
सुरक्षा विश्लेषकहरूले जनमानसमा विश्वास कायम राख्न र शान्ति सुरक्षाको सुनिश्चितताका लागि छिटोभन्दा छिटो फरारलाई नियन्त्रणमा ल्याउन आवश्यक रहेको सुझाव दिएका छन्।