सन्तुलित आहार र समयमै खाने बानीले राम्रो निद्रामा सहयोग

पेट भरिएर सुत्दा राति बारम्बार बिउँझिने वा बिहान उठ्दा थकित महसुस गर्ने अनुभव धेरैलाई हुन्छ। पोषणविद्हरूका अनुसार यसमा हाम्रो दैनिक आहार र खाने समयको ठूलो भूमिका छ।



न्यूयोर्कस्थित कोलम्बिया युनिभर्सिटीकी प्रोफेसर मरी पिएर सेन्ट अङका अनुसार “दिनभर के खाने भन्ने कुराले मात्र होइन, कहिले खाने भन्नेले पनि निद्राको गुणस्तर निर्धारण गर्छ।” उनका अनुसार रातको ओछ्यानमा जानु भन्दा केही घण्टाअघि नै उच्च क्यालोरीयुक्त भोजन बन्द गर्नुपर्छ।



मेलाटोनिन र ट्रिप्टोफानको महत्व
निद्राको चक्रलाई सन्तुलित राख्ने मेलाटोनिन हर्मोन शरीरले अँध्यारोमा स्वाभाविक रूपमा उत्पादन गर्छ। तर अण्डा, माछा, नट्स, बिउ तथा दलहनमा पाइने ट्रिप्टोफान नामक अमिनो एसिडले पनि मेलाटोनिन उत्पादनमा सहयोग गर्छ। स्पेनमा २०२४ मा भएको एक अध्ययनले ट्रिप्टोफान कम हुने आहार खाने विद्यार्थीमा अनिद्राको खतरा उच्च देखिएको थियो।



मिशिगन विश्वविद्यालयकी असिस्टेन्ट प्रोफेसर एरिक ज्यान्सेन भन्छिन्, “ट्रिप्टोफानलाई होलग्रेन वा दलहनजस्ता उच्च फाइबर कार्बोहाइड्रेटसँग खाँदा मात्र यो मस्तिष्कमा पुग्छ र निद्रामा सुधार ल्याउँछ।”
वनस्पति–आधारित भोजनको लाभ
फलफूल, तरकारी, होलग्रेन, नट्स, बीउ र माछा जस्ता आहारले शरीरको सूजन कम गर्ने र पेटको ब्याक्टेरिया सन्तुलन राख्ने हुँदा निद्राको गुणस्तरमा सुधार ल्याउने देखिएको छ। सेन्ट अङको अनुसन्धानले फाइबरयुक्त खानेकुरा खानेले गहिरो निद्रा पाएको पत्ता लगाएको छ।
म्याग्नेसियमको योगदान
म्याग्नेसियम तनाव घटाउने र स्नायु प्रणाली शान्त पार्ने तत्व हो। पालुङ्गो, नट्स, सीड र होलग्रेनमा पाइने यो खनिजको पर्याप्त मात्रा लिएर गहिरो निद्रा पाउन सकिने फ्लोरिडास्थित ज्याक्सनभिल विश्वविद्यालयको अध्ययनले देखाएको छ।
समयमै खानु महत्त्वपूर्ण
अनुसन्धानका अनुसार बिहानको खाना छिटो खाने र राति सुत्नुअघि केही घण्टा अगाडि भोजन रोक्दा शरीरको जैविक घडी ठीक रहन्छ। उज्यालोमा बसेर डेरी उत्पादनयुक्त नास्ता खानाले पनि मेलाटोनिन उत्पादनलाई प्रोत्साहन गर्ने प्रमाण पाइएका छन्।
विशेषज्ञहरू भन्छन्, केवल बेलुकीको खानामा ध्यान दिँदा मात्र होइन, दिनभरको सन्तुलित आहार, नियमित व्यायाम, प्रकाश–अँध्यारोको तालमेल र मानसिक स्वास्थ्य सबैले मिलेर राम्रो निद्रामा सहयोग गर्छ। कमजोर निद्रा, अनिद्रा वा स्लीप एप्नियाको शंका भए चिकित्सकीय जाँच र उपचार आवश्यक हुन्छ।