गाजामा इजरायली आक्रमण, कम्तीमा ४५ को मृत्यु

गाजा पट्टीका विभिन्न भागमा इजरायली हवाई आक्रमण र तोप हमला तीव्र बनेसँगै कम्तीमा ४५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको सरकारी समाचार संस्था वाफाले जनाएको छ। आवासीय क्षेत्रहरूमा भएको निरन्तर बमबारीले व्यापक भौतिक क्षति पुग्दा मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले चेतावनी दिएका छन्।
गाजाको स्वास्थ्य अधिकारीहरूका अनुसार अस्पतालहरूमा घाइतेको भीडले उपचार क्षमता समाप्त हुन लागेको छ। विस्थापितहरूलाई आश्रय दिइएका विद्यालय र आवासीय भवनहरू खचाखच भरिएका छन्।
इजरायली सेनाले गाजा शहरमा आफ्नो कारबाही विस्तार गर्दै बासिन्दालाई वस्ती छोड्न चेतावनी दिएको छ। सेनाका प्रवक्ता अविचे अद्राईले शनिबार करिब दुई लाख ५० हजारभन्दा बढी बासिन्दा “उनीहरूको सुरक्षाका लागि” गाजा शहर छोडेको दाबी गरे। उनले नागरिकलाई दक्षिणी गाजाको अल–मवासी ‘मानवीय क्षेत्र’ वा मध्य गाजाको ‘खाली क्षेत्र’ तर्फ अल–रशीद सडक प्रयोग गरी जान आग्रह गरे।
हमास नियंत्रित गाजाको सरकारी मिडिया कार्यालयले भने, अगस्ट ११ देखि सुरु भएको इजरायली आक्रमणमा हालसम्म १,६०० भन्दा बढी आवासीय भवन र विस्थापित परिवारका लागि बनाइएका १३ हजार टेन्ट नष्ट भएको छ। यसको प्रभावमा करिब ३ लाख ५० हजार मानिस पूर्वी गाजा शहरबाट मध्य र पश्चिमी क्षेत्रमा भाग्न बाध्य भएका छन्।
शुजैया, जायतौन, तुफाह, रिमाल र शेख राडवान जस्ता प्रमुख बस्तीमा “व्यवस्थित विनाश” भइरहेको मिडिया कार्यालयको दाबी छ। आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन समेत गरिएको आरोप लगाइएको छ।



