गृहमन्त्रीलाई वीरगञ्जका व्यापारीको गुनासो-सरकारले उद्यमीका कुरा सुनेन

वीरगञ्जका उद्योगी तथा व्यापारीहरूले उद्योग–व्यापार क्षेत्रमा बढ्दै गएको समस्या समाधान गर्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका छन्।
वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरूले सोमबार वीरगञ्जमै गृहमन्त्रीलाई भेटेर निजी क्षेत्रप्रति सरकार बेवास्ता गरिरहेको गुनासोसमेत राखेका थिए। संघका अध्यक्ष हरि गौतमका अनुसार खुला सिमानाका कारण अवैध आयात बढ्दै गएको र यसले वैध व्यापार धराशायी हुने अवस्था सिर्जना गरेको व्यापारीहरूको चिन्ता बैठकमा व्यक्त गरिएको थियो।
“सीमाक्षेत्रमा प्रहरी मात्र खटाएर तस्करी नियन्त्रण सम्भव हुँदैन। यसको दीर्घकालीन समाधानका लागि सीमावर्ती अर्थतन्त्रका लागि अलग्गै कार्यविधि बनाउनुपर्छ भन्ने हाम्रो माग हो,” अध्यक्ष गौतमले बताए।
व्यापारीहरूले उधारो असुली सम्बन्धी कानुन शीघ्र बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूको भनाइमा यस्तो कानुन नहुँदा बजारमा उधारो अराजकता फैलिएको छ।
त्यस्तै, स्थानीय तहले कर संकलनमा मनपरी गरेको भन्दै कर आतंक रोक्न पनि उद्यमीहरूले माग गरेका छन्।
उद्योगी–व्यापारीहरूले उठाएका समस्याबारे गृहमन्त्री लेखकले चासो व्यक्त गर्दै सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने बताएका छन्। “यी विषयमा बहुपक्षीय छलफल आवश्यक पर्छ। त्यसका लागि काठमाडौं आएर विस्तृत रूपमा राख्न सक्नुहुन्छ,” मन्त्री लेखकको भनाइ उद्धृत गर्दै अध्यक्ष गौतमले जानकारी दिए।



