अर्थदृष्टि/संवादमुख्य खबर

बारा–पर्सा औद्योगिक क्षेत्रमा अघोषित लोडशेडिङ, उद्योगीको दैनिक करोडौं घाटा

जलसम्पदामा धनी मानिने नेपालमा ऊर्जाको मुख्य स्रोत जलविद्युत् भए पनि वर्षेनि दोहोरिने ऊर्जाको संकट अब बारा–पर्सा औद्योगिक क्षेत्रमा पनि गम्भीर चुनौती बनेको छ । उद्योगीहरू विद्युत् आपूर्ति अनियमित बनेको भन्दै आक्रोशित भएका छन् ।

मधेश प्रदेशको प्रमुख औद्योगिक कोरिडोर बारा–पर्सामा विद्युत् आपूर्ति अव्यवस्थित हुँदा उद्योगहरूले दैनिक लाखौं रुपैयाँ बराबरको नोक्सानी बेहोर्नु परेको व्यवसायीहरूको गुनासो छ । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश उद्योग समितिको अध्ययनअनुसार अघोषित लोडशेडिङ, अस्थिर भोल्टेज र लगातार ‘ट्रिपिङ’का कारण उद्योगमा प्रयोग हुने मेसिन बिग्रने, कच्चा पदार्थ खेर जाने र उत्पादन प्रक्रिया अवरुद्ध हुनेजस्ता समस्या सामान्यजस्तै बनेका छन् ।

भट्टीमा आधारित उद्योगले मात्र एक पटकको ट्रिपिङमा कम्तीमा १ लाख रुपैयाँ बराबरको क्षति बेहोर्नु पर्ने दाबी गरिएको छ । यसै आधारमा उद्योगीहरूको दाबी छ– “प्राधिकरणकै कारण बारा–पर्साका उद्योगले दैनिक ८ देखि १० लाख रुपैयाँ बराबरको घाटा व्यहोर्नुपरेको छ।”

वीरगञ्जस्थित उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणमाथि गुणस्तरहीन आपूर्ति, एकाधिकारको दुरुपयोग र सेवाग्राहीलाई घूसबिनाको काम नगर्ने प्रवृत्तिबारे गम्भीर आरोप लगाएका छन् । उनीहरूका अनुसार, पाँच–पाँच मिनेटमा बत्ती आउने–जाने अवस्था हुँदा उत्पादनमा प्रयोग भएका नयाँ स्वचालित प्रविधि सञ्चालनमै कठिनाइ भएको छ ।

गत वर्ष बारा–पर्सामा सामान्य हावाहुरीले सयौं पोल ढाल्दा करिब एक सातासम्म उद्योग प्रभावित भएका थिए । उद्योगीहरूले पोल गाड्ने क्रममा सानो मात्र कंक्रिट प्रयोग गर्दा ठूलो क्षति हुनबाट जोगाउन सकिने बताए पनि प्राधिकरणले त्यतातिर ध्यान नदिएको आरोप लगाइएको छ ।

उद्योगीहरूले बारम्बार माग गर्दा पनि सरकारले दीर्घकालीन समाधानतर्फ ध्यान नदिएको उनीहरूको गुनासो छ । उनीहरूको भनाइमा, निजीक्षेत्रलाई प्रसारण र वितरणमा प्रवेश दिने, विदेशी लगानी आकर्षित गर्ने र विद्युत् व्यापारमा प्रतिस्पर्धा भित्र्याउने हो भने मात्र गुणस्तरमा सुधार हुने र उद्योगीलाई राहत पुग्नेछ ।

उपभोक्ता अधिकार ऐनले सेवाप्रदायक संस्थाले क्षति भएको खण्डमा क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको भए पनि विद्युत् प्राधिकरणले व्यवहारमा कुनै उद्योग वा ग्राहकलाई उचित क्षतिपूर्ति दिएको तथ्य अहिलेसम्म सार्वजनिक भएको छैन ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button