थाईल्यान्डमा महिलाद्वारा बौद्ध भिक्षुहरूलाई ब्ल्याकमेल, करोडौं असुली

थाईल्यान्डमा एक महिलाले बौद्ध भिक्षुहरूसँग यौन सम्बन्ध राखेर तिनै सम्बन्धका फोटो र भिडियो देखाएर करोडौं रकम असुली गरेको खुलासा भएपछि मुलुकभर सनसनी फैलिएको छ। ‘मिस गल्फ’ उपनामले चिनिइएकी ती महिलालाई प्रहरीले पक्राउ गरेको छ।
थाई प्रहरीका अनुसार उनले कम्तीमा नौ भिक्षुसँग यौन सम्बन्ध राखेकी थिइन्। विगत तीन वर्षमा ती भिक्षुहरूबाट उनले झण्डै ३८.५ करोड थाई भाट (करिब १.१९ करोड अमेरिकी डलर) असुलेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
प्रहरीले ‘मिस गल्फ’को घरमा छापा मार्दा ब्ल्याकमेलका लागि प्रयोग गरिएका ८० हजारभन्दा बढी फोटो र भिडियो बरामद भएको जनाएको छ।
भिक्षुसँगको सम्बन्ध, शिशु र लाखौंको माग
यो प्रकरण गत जुन महिनामा सार्वजनिक भएको थियो, जब ब्याङ्ककस्थित एक मन्दिरका प्रमुखले यस्ता मागको कारण भिक्षु जीवन त्यागेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
प्रहरीका अनुसार ‘मिस गल्फ’ र ती भिक्षुबीच सन् २०२४ को मे महिनामा सम्बन्ध रहेको थियो। पछि उनले आफूले ती भिक्षुको बच्चा जन्माएको भन्दै ७० लाख भाट मागेको खुलाइएको छ।
अन्य भिक्षुहरूले पनि उनलाई ठूलो मात्रामा पैसा पठाएको खुलेको छ। उनले अधिकांश रकम नगद झिकेर खर्च गरिसकेको र केही रकम अनलाइन जुवामा लगाएको प्रहरीले जनाएको छ।
ब्ल्याकमेलदेखि सम्पत्ति शुद्धीकरणसम्म
‘मिस गल्फ’माथि डरधम्की देखाएर पैसा असुली, सम्पत्ति शुद्धीकरण र चोरीको सम्पत्ति राखेको आरोप लगाइएको छ। उनलाई पक्राउपछि कानुनी प्रक्रियामा अघि बढाइएको छ।
थाई बौद्ध संस्थामा पुनः विवाद
थाईल्यान्डमा बौद्ध भिक्षुहरूलाई अत्यन्त सम्मान गरिन्छ। तर पछिल्ला वर्षहरूमा भिक्षुहरू यौन दुराचार, भ्रष्टाचार र लागूपदार्थ कारोबारमा मुछिने घटना बढेका छन्।
यस घटनाले थाई बौद्ध समाजमा फेरि ठूलो धक्का पुर्याएको छ। थाई बौद्धधर्मको सर्वोच्च निकाय ‘सर्वोच्च सङ्घ परिषद्’ ले घटनालाई गम्भीर रूपमा लिँदै मन्दिरहरूको नियम समीक्षा गर्न समिति गठन गरेको जनाएको छ।
थाई राजा र सरकार दुवै कडा कदममा
यसै सन्दर्भमा थाई राजा वाचिरालोङ्कोर्नले गत जुन महिनामा ८१ भिक्षुलाई दिएको विशिष्ट उपाधि फिर्ता लिएका छन्। दुराचारका घटनाहरूले बौद्धमार्गीहरूलाई गहिरो पीडा पुर्याएको भन्दै यस्तो निर्णय गरिएको बताइएको छ।
थाई सरकार पनि नियम उल्लंघन गर्ने भिक्षुहरूलाई कडा दण्ड दिनुपर्ने पक्षमा उभिएको देखिन्छ। प्रहरी प्रशासनले दुराचारी भिक्षुहरूबारे उजुरी लिन हटलाइन सेवा सुरु गरेको छ।
पुराना घटना र संस्थागत समस्या
यसअघि सन् २०१७ मा निजी विमान चढ्ने र विलासी जीवनशैली अपनाउने भिक्षु विरापोन सुखापोन चर्चामा आएका थिए। उनलाई यौन अपराध, जालसाजी र सम्पत्ति शुद्धीकरणको अभियोगमा ११४ वर्षको जेल सजाय सुनाइएको थियो।
सन् २०२२ मा पनि उत्तरी थाईल्यान्डको एक मन्दिरका सबै भिक्षुहरू लागूपदार्थ राखेको आरोपमा पक्राउ परेपछि मन्दिर नेतृत्वविहीन बनेको थियो।
अनुशासनहीनता र सुधारको आवश्यकता
बौद्ध विद्वान् सुराफोत थवीसाकका अनुसार थाई बौद्ध संस्थामा तानाशाही शैलीको मर्यादाक्रम छ, जहाँ कनिष्ठ भिक्षुहरू वरिष्ठको अधीनमा हुन्छन्। “अन्याय देखे पनि धेरैजसो भिक्षुहरूले बोल्न सक्दैनन्,” उनले बताए।
थमसाट विश्वविद्यालयका समाजशास्त्री प्राकिरति सुतका अनुसार, “सत्य उजागर गर्नु नै महत्त्वपूर्ण हो। त्यसबाट सर्वसाधारणको विश्वास फर्किन सक्छ।”
तर अन्ततः सुधार सम्भव छ कि छैन भन्ने कुरा सर्वोच्च सङ्घ परिषद् स्वयं सुधार गर्न इच्छुक छ वा छैन भन्ने कुरामा निर्भर रहेको उनले बताए।
यो घटनाले एकातिर बौद्ध धर्मगुरुहरूको नैतिकता र अनुशासनमाथि प्रश्न उठाएको छ भने अर्कातिर यसलाई संस्थागत सुधारको अवसरका रूपमा लिने कि फेरि दबाउने प्रयास हुन्छ भन्ने बहस पनि सुरु भएको छ।



