सास गन्हाउने समस्या छ ? यस्ता छन् समाधानका उपाय

तपाईं सधैँ आफ्नो सास ताजा महसुस नहुने र नराम्रो गन्ध आउने चिन्ताले मानिसहरूसँग नजिकिन हिचकिचाउनुहुन्छ? चिन्ता नगर्नुहोस्। विशेषज्ञहरू भन्छन्, यो एक सामान्य समस्या हो र यसका समाधानहरू पनि छन्।
दन्त चिकित्सकहरूका अनुसार हाम्रो मुखमा दाँत, गिजा र जिब्रोको बीचमा रहने ब्याक्टेरियाले सास गन्हाउने समस्या ल्याउने गर्छ। यदि ती ब्याक्टेरिया समयमै सफा गरिएनन् भने, तिनीहरूले गम्भीर गिजा रोग निम्त्याउन सक्छन्।
बेलायतको बर्मिङ्घम विश्वविद्यालयका रिस्टोरटिभ डेन्टिस्ट्रीका सहप्राध्यापक डा. प्रवीण शर्माका अनुसार, “सास गन्हाउने ९० प्रतिशत कारण ओरल क्याभिटी अर्थात् मुखको सफाइसँग जोडिएको हुन्छ।”
सास गन्हाउने प्रमुख कारणमध्ये एउटा हो पेरिओडोन्टाइटिस, जसलाई गिजा तल झर्ने अवस्था पनि भनिन्छ। डा. शर्माका अनुसार, “आधा वयस्क जनसंख्यामा कुनै न कुनै प्रकारको गिजाको रोग देखिन्छ।”
उनका अनुसार बाँकी १० प्रतिशत सास गन्हाउने कारणहरूमा मधुमेह, ग्यास्ट्रिक रिफ्लक्सजस्ता स्वास्थ्य समस्या पर्छन्, जसले अमिलो गन्ध ल्याउँछ।
सास गन्हाउने समस्याबाट बच्न अपनाउन सकिने ७ उपाय:
१. समस्याको जरोमै पुग्नुस्
गिजा रातो हुनु, सुन्निनु र ब्रश गर्दा रगत आउनु ‘जिन्जिभाइटिस’ को लक्षण हो, जसलाई सही सफाइबाट सुधार गर्न सकिन्छ। डा. शर्माका अनुसार, यस्तो अवस्थामा झनै सफा गर्नुपर्छ, न कि पन्छिनु।
२. ध्यान दिएर ब्रश गर्नुस्
ऐनासामु उभिएर, दुई हातको सन्तुलनमा ध्यान दिँदै दुवैतर्फ समान रूपमा ब्रश गर्नु जरूरी हुन्छ। धेरैजसो मानिसले एकै पक्षमा बढी ध्यान दिइरहेका हुन्छन्।
३. सही तरिकाले ब्रश गर्नुस्
ब्रश गर्दा दाँतका बाहिरी, भित्री र चपाउने तीनवटै सतह सफा गर्नुपर्छ। ब्रशलाई ४५ डिग्रीको कोणमा समातेर गिजाको रेखातिर सफा गर्नुपर्छ।
४. उचित समयमा ब्रश गर्नुस्
बिहान खाजा खानुअघि र राति सुत्नुअघि ब्रश गर्नु राम्रो मानिन्छ। खाना खाएपछि तुरुन्तै ब्रश गर्दा इनामेल क्षति हुनसक्छ, त्यसैले कम्तीमा केही समय पर्खिनु आवश्यक हुन्छ।
५. उपयुक्त ब्रश छान्नुस्
मध्यम कडापन भएको ब्रश र फ्लोराइडयुक्त टूथपेस्ट प्रयोग गर्नु पर्याप्त हुन्छ। ब्रश गरेपछि मुख कुल्ला नगरी थुक्नुस् ताकि फ्लोराइडले लामो समयसम्म असर देखाउन सकोस्।
६. गम्भीर लक्षणको पहिचान गर्नुस्
यदि दाँतको बीचमा खाली ठाउँ देखिन थाल्यो, दाँतहरू हल्लिन थाले वा सास निरन्तर गन्हाउन थाल्यो भने यो गम्भीर गिजा रोगको संकेत हुनसक्छ। यस्ता अवस्थामा तुरुन्तै दन्त चिकित्सकको सल्लाह लिनुपर्छ।
७. पानी पिउनुस् र जिब्रो सफा राख्नुस्
मुख सुक्खा हुँदा ब्याक्टेरिया बढ्छन्, जसले सास गन्हाउँछ। त्यसैले प्रशस्त पानी पिउनुहोस् र स्क्रेपरको प्रयोग गरी जिब्रो सफा गर्नुस्।
यदि तपाईंलाई आफ्नो सासको गन्धबारे निश्चित छैन भने, विश्वासिलो साथी वा परिवारका सदस्यसँग सोध्न सक्नुहुन्छ। सास गन्हाउने समस्या लाज मान्नुपर्ने विषय होइन। समयमै ध्यान दिएर सही तरिकाले मुख सफा गर्ने बानी बसाल्न सकेमा यो समस्या समाधान गर्न सकिन्छ। स्वास्थ्य र आत्मविश्वास दुवैका लागि यो आवश्यक छ।



