No Image Headlineदृष्टि/संवाद

रविका नाममा सडकमा रमिता, अभियानको उद्देश्य के हो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यतिखेर भैरहवा कारागारमा छन् । उनलाई काठमाडौँ अड्डासार गर्न अदालतले अनुमति दिँदा पनि सरकारले मानेको छैन । एउटै जिल्लाबाट मुद्दा चलाए हुनेमा उनलाई पाँचवटा जिल्लामा घुमाइएको छ । पहिलोपल्ट सहकारीको मुद्दालाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा जोडिएको छ ।

नांगो आँखाले हेर्दा पनि रविलाई राज्य संयन्त्रले अधिक अभियोजन गरिरहेको छ भन्ने देखिन्छ । सरकारमा हुनेहरुको वक्रदृष्टि पनि प्रकट रुपमै देखिएकै छ । यति हुँदाहुँदै पनि रविलाई कारागार पठाउने आदेश अदालतले गरेको हो । एउटा अदालतले होइन, उच्च र सर्वोच्च गरी दुई दुई तहका अदालतको आदेश छ, उनलाई थुनामै राखी मुद्दाको बाँकी कारबाही चलाउनुपर्ने ।

यसअघि जिल्ला अदालतहरुले पनि उनीमाथि ठूलो अंकको धरौटी रकम माग गरेको थियो । करोडौँ रुपैयाँ धरौटी राखेर रवि थुनामुक्त भएका थिए । तर, बुटवल उच्च अदालतले उनलाई थुनामा पठाउने आदेश गरिदियो र उच्च अदालतले पनि त्यही सदर गरिदियो । अदालतले नै थुनामा जानुपर्छ भनेपछि अब त्यसको कानुनी प्रक्रियामै समाधान खोज्नुको अर्को विकल्प छैन ।

तर, नवोदित पार्टी रास्वपाका नेताहरु यही विषयलाई सडकमा लगेर रमिता देखाउँदै छन् । उनीहरु एकातिर हस्ताक्षर संकलन गर्दै छन्, अर्कोतिर रविका लागि भन्दै रकम उठाउँदै छन् । रास्वपाको यो दुवै कार्य बच्कनायुक्त देखिन्छ ।

हस्ताक्षर संकलन गरेर के सन्देश दिन खोजेको ? के अदालत हस्ताक्षरबाट प्रभावित हुन्छ ? के न्यायिक निर्णय यसरी सडकबाट दबाब दिएर उल्टिन्छ ? न्यायिक निर्णयको उपचार कानुनी मार्गबाट गर्ने कि सडकबाट ? यसले रवि र रास्वपाको साख कहाँ पुग्छ ? रास्वपाले खोजेको लोकतन्त्र र विधिको शासन यही हो त ?

अर्को रह्यो, चन्दा संकलनको कुरा । रविमाथि फौजदारी अभियोग छ । तीन तहका अदालतबाट प्रारम्भिक परीक्षण हुँदा उनी पुर्पक्षका लागि थुनामै बस्नुपर्छ भनेर भनियो । उनीमाथि करोडौँ रकमको दायित्व कायम हुन सक्ने अदालतका आदेशहरुमा उल्लेख छ । यो कुरा अब कतै लुकेको पनि छैन । सबै आदेश र विवरणहरु सार्वजनिकरुपमा छरपस्ट छन् ।

तर, रास्वपाका नेताहरु यसबारे केही थाहै नपाएजस्तो गरी सडकमा आमनागरिकसँग पैसा माग्दै छन् । रविलाई नयाँ विवादमा मुछ्ने प्रयास रास्वपाका नेताहरु गर्दै छन् । हिजो रविले सहकारीको पैसा खायो, अहिले भित्र बसेर पनि सर्वसाधारणकै पैसामा हात थापिरहेको छ भनेर टीकाटिप्पणीका लागि ठाउँ रास्वपाले बनाइदिँदै छ ।

रविमाथि विशुद्ध राजनीतिक मुद्दा हुन्थ्यो भने उनलाई जनताबाट चन्दा संकलन गरेर कारागारबाट निकाल्ने कुरा औचित्यपूर्ण हुन सक्थ्यो । रविले पैसा तिर्न नसकेर जेल बसेका भए पनि सबैको सहयोगका लागि अपिल गर्नु ठिकै ठहरिन्थ्यो । अदालतले मागेजति धरौटी त रविले खुरुखुरु बुझाएकै हुन् । तर, अहिले त धरौटी तिर्ने अवसर पनि अदालतले दिएन । अब केका लागि रास्वपाले समर्थकसँग पैसा उठाउने ? रविलाई थप विवादित र लाञ्छित गर्नुबाहेक यस अभियानको अर्को उद्देश्य के छ ?

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button