No Image Headlineखेल संसार

खेलकुद पूर्वाधार विकासमा सरकारले ६७ करोड रुपैयाँ विनियोजन, १६ जिल्लामा फुटबल रंगशाला निर्माण

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत निर्माण हुने फुटबल पूर्वाधारका लागि ६७ करोड रुपैयाँ विनियोजन गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते सार्वजनिक गरेको बजेट वक्तव्यमा मन्त्रालयका लागि कूल ६ अर्ब ७ करोड ६४ लाख रुपैयाँ छुट्याइएको थियो।

यो बजेट रकम कुल राष्ट्रिय बजेटको ०.३१ प्रतिशत हो। सरकारले आगामी आर्थिक वर्षका लागि कूल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ।

यसपालि युवा तथा खेलकुद मन्त्रालयका लागि छुट्याइएको बजेट अघिल्लो वर्षको तुलनामा ७३.७१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयलाई तीन अर्ब ५० करोड रुपैयाँ मात्रै विनियोजन गरिएको थियो।

१६ जिल्लामा फुटबल पूर्वाधारका लागि ६४ करोड
सरकारले काठमाडौं उपत्यकाबाहिर १६ जिल्लामा फुटबल पूर्वाधार निर्माण तथा स्तरोन्नतिको लागि ६४ करोड रुपैयाँ विनियोजन गरेको छ।

कपिलवस्तु, मुगु, झापा, पर्सा र सप्तरी जिल्लामा समान दुई-दुई वटा पूर्वाधार परियोजना सञ्चालन हुनेछन्। मकवानपुर, संखुवासभा, ताप्लेजुङ, धनुषा, बाँके, कास्की, सिन्धुली, पाँचथर, नुवाकोट, धादिङ र कैलालीमा भने समान एक-एक पूर्वाधार योजना अघि बढाइनेछ।

कपिलवस्तुमा बुद्धपद्म रंगशाला र हरनामपुर खेलमैदान, मुगुमा पोखरी खेलमैदान र गमगढी बहुउदेश्यीय खुला मञ्च निर्माण गरिनेछ। पर्सामा आदर्शनगर रंगशाला र बढनियार खेलमैदान तथा वीरगन्जको नारायणी रंगशालाको स्तरोन्नति गरिनेछ। सप्तरीमा राज रंगशाला र चन्द्रा नमुना मावि दोदे बरसाइन रंगशाला बन्नेछन्।

झापामा दूधे र मेची रंगशालामा काम अघि बढ्नेछ भने मकवानपुरमा मदन भण्डारी क्षेत्रीय रंगशाला निर्माण हुनेछ। सिन्धुलीको कालीमाटी रंगशाला, पाँचथरको फिदिम रंगशाला, नुवाकोटमा बद्रीराम भण्डारी–घननाथ उप्रेती स्मृति खेलमैदान, धादिङको गणेशमान सिंह रंगशाला र कैलालीको धनगढी प्रादेशिक रंगशालाको स्तरोन्नतिको लागि पनि बजेट छुट्याइएको छ।

झापा स्पोर्ट्स भिलेजका लागि तीन करोड
सरकारले झापाको दमकमा निर्माणाधीन झापा स्पोर्ट्स भिलेज (मदन भण्डारी रंगशाला) को लागि अतिरिक्त तीन करोड रुपैयाँ छुट्याएको छ। पर्साको नारायणी रंगशालाका लागि चार करोड छुट्याइएको छ भने अन्य प्रत्येक योजनाका लागि समान तीन करोड रुपैयाँ विनियोजन गरिएको छ।

उपत्यकामा भक्तपुर र जर्सिङपौवामा पूर्वाधार निर्माण
काठमाडौं उपत्यकाभित्र भने भक्तपुरमा मात्रै युवा तथा खेलकुद मन्त्रालयमार्फत तीन करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ। यो रकम भक्तपुरमा प्रस्तावित अन्तर्राष्ट्रिय फुटबल रंगशालाको डीपीआर तयारी तथा निर्माणका लागि हो।

त्यस्तै, काठमाडौंकै जर्सिङपौवामा निर्माणाधीन फुटबल रंगशालाका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ, जुन सहरी विकास मन्त्रालयअन्तर्गत संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत खर्च गरिनेछ।

रंगशालाहरूको मर्मतसम्भारमा ११ करोड ६० लाख
यस वर्ष दशरथ रंगशाला, मेची रंगशाला, इटहरी रंगशाला, नेपालगन्ज रंगशाला र पोखरा रंगशालाको मर्मतसम्भारका लागि ११ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ।

यसैगरी, दशरथ रंगशाला परिसरमा पौडी पोखरी निर्माण तथा डीपीआर तयारीका लागि थप ६ करोड रुपैयाँ विनियोजन गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button