अर्बपति जेफ बेजोस र लरेन सान्चेजको भव्य विवाह समारोह, किन भइरहेको छ विरोध ?

ई–कमर्स कम्पनी एमाजनका संस्थापक तथा अर्बपति जेफ बेजोस र उनकी प्रेमिका लरेन सान्चेज यसै साता तीनदिने भव्य समारोहबीच विवाह गर्दै छन्। दशौँ करोड डलर खर्च हुने अनुमान गरिएको यो वैवाहिक कार्यक्रम व्यापक विरोध प्रदर्शनबीच अघि बढिरहेको छ।



दुई अर्बपति र फक्स टीभी तथा एबीसी टक शो द भ्यू की पूर्व सह-प्रस्तोता सान्चेज दुवैको यो दोस्रो विवाह हो। केही वर्षदेखि प्रेमसम्बन्धमा रहेका उनीहरूले सन् २०२३ को मे महिनामा औपचारिक रूपमा इन्गेजमेन्ट गरेका थिए।



वैवाहिक कार्यक्रमबारे आधिकारिक विस्तृत जानकारी दिइएको छैन। तर प्रारम्भिक योजना अनुसार यो समारोह सहरको ऐतिहासिक स्थल स्क्वोला ग्रान्ड डेला मिसेरिकोर्डियामा आयोजना हुने भनिएको थियो। स्थानीय विरोधका कारण स्थल परिवर्तन गर्ने दबाब परेको जनाइएको छ।



स्थानीय आक्रोश : “हामीसँग पैसा छैन, तर गर्व छ”
“हामीसँग पैसा छैन, केही छैन, तर हामीलाई यो सहरमाथि गर्व छ,” आफुलाई नो स्पेस फर बेजोस भनेर चिनाउने समूहका अभियन्ता टोमासो कासिआरीले भने। “हामी नागरिक हौं, जसले यो आन्दोलन सुरु गर्यौँ र बेजोसलाई भेनिसबाट बाहिर राख्न सफल भयौँ।”
तर सहरका अधिकारीहरूले भने यस्तो विरोधलाई अस्वीकार गरेका छन्। भेनिसका आर्थिक विकास परिषद्का सिमोन भेन्टुरिनीले बीबीसीसँग प्रतिक्रिया दिंदै भने, “प्रदर्शनकारीहरूले यस्तो व्यवहार देखाइरहेका छन्, मानौँ भेनिस उनीहरूको निजी सम्पत्ति हो। तर कसले यहाँ विवाह गर्न सक्छ वा सक्दैन भन्ने अधिकार कसैसँग छैन।”
बेहुला र बेहुली : को हुन् उनीहरू?
फोर्ब्सको पछिल्लो सूची अनुसार ६१ वर्षीय बेजोस हाल विश्वका तेस्रो सर्वाधिक धनी व्यक्ति हुन्। उनका सम्पत्ति लगभग २२७ अर्ब अमेरिकी डलर (झन्डै ३०३ खर्ब नेपाली रुपैयाँ) बराबर छ। उनी एमाजन र अन्तरिक्ष प्रविधि कम्पनी ब्लू ओरिजिनका संस्थापक हुन्।
उनकी भावी पत्नी, ५५ वर्षीया लरेन सान्चेज, लाइसेन्सप्राप्त हेलिकप्टर पाइलट तथा एरियल फिल्म निर्माण कम्पनी ब्ल्याक ओप्स एभिएशनकी संस्थापक हुन्। ब्लू ओरिजिनको आधिकारिक एक्स (पूर्व ट्विटर) खातामा उल्लेख भएअनुसार यो कम्पनी महिलाको स्वामित्वमा रहेको पहिलो एरियल प्रोडक्सन कम्पनी हो।
सान्चेजका पूर्वसंगीहरूमा एनएफएलका पूर्वखेलाडी टोनी गोन्जालेज र मिडिया कार्यकारी प्याट्रिक ह्वाइटसेल छन्। ह्वाइटसेलसँग उनको १४ वर्ष लामो वैवाहिक सम्बन्ध थियो। बेजोसका पनि पहिलो पत्नी म्याकेन्जी स्कटबाट चार सन्तान (तीन छोरा र एक धर्मपुत्री) छन्।
विरोधका स्वरहरू
भेनिसको साना गल्ली, नहर र ऐतिहासिक स्थानहरू यतिबेला प्रदर्शन र नाराले गुञ्जिरहेका छन्। विरोधमा सहभागी समूहहरूमा अत्यधिक पर्यटनविरुद्ध संघर्ष गरिरहेका स्थानीय बासिन्दा, जलवायु परिवर्तनविरोधी अभियानकर्मीहरू र डोनल्ड ट्रम्पप्रति बेजोसको समर्थनका आलोचकहरू छन्।
ग्रीनपीसले बेजोसलाई “विशेषाधिकार र प्रदूषण”को प्रतीक भन्दै उनीविरुद्ध प्रदर्शन गरेको छ। सोमबार ग्रीनपीस र एभ्रिवन हेट्स इलोन नामक समूहले सेन्ट मार्क स्क्वायरमा बेजोसको विशाल चित्र राख्दै नारा लगाए – “यदि तपाईंले भेनिस सहर भाडामा लिन सक्नुहुन्छ भने, तपाईं धेरै कर तिर्न सक्नुहुन्छ।”
सुरक्षात्मक तयारी र अतिथिहरू
२०० जति पाहुनालाई निमन्त्रणा गरिएको समारोहमा चर्चित व्यक्तित्वहरू आउने अपेक्षा गरिएको छ। फ्याशन डिजाइनर डायन भान फर्स्टनर्बर्ग, डोनल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प र उनका श्रीमान् जारेड कूश्नर पहिले नै भेनिस आइपुगेका छन्।
स्रोतहरूका अनुसार अन्य सम्भावित पाहुनाहरूमा ओप्रा विन्फ्री, रकस्टार मिक ज्यागर र अभिनेता लिओनार्दो डि क्याप्रिओ छन्।
सुरक्षाका लागि पूर्व अमेरिकी जलसेना अधिकारीहरूलाई भाडामा लिइएको बताइएको छ। पाँचवटा विलासी होटलहरू पूर्ण बुक भइसकेका छन् भने वाटर ट्याक्सी सेवा समेत अग्रिम आरक्षण गरिएको छ।
भेनेटो क्षेत्रीय सरकारका प्रमुख लुका जाइआका अनुसार विवाह समारोहबाट ५.५६९ करोड डलर बराबरको आर्थिक गतिविधि हुने अपेक्षा गरिएको छ। भेनिस विमानस्थलमा निजी जेटहरूको भीड लाग्ने, बन्दरगाहमा निजी याटहरूको चाप हुने अनुमान गरिएको छ।
यस्ता समारोहहरू पहिले पनि भएका थिए
भेनिसमा यस्तो भव्य वैवाहिक समारोह पहिलो भने होइन। सन् २०१४ मा अभिनेता जर्ज क्लूनी र मानवअधिकार वकिल अमल अलामुद्दीनले पनि भेनिसमै भव्य विवाह गरेका थिए। तर, बेजोस–सान्चेज विवाह समारोह जति ठूलो विरोध र विवाद क्लूनीको विवाहका बेला देखिएको थिएन।