इजरेल–इरान तनाव चुलियो: परमाणु केन्द्रमाथि आक्रमण, दुई पक्षबीच प्रहार–प्रतिप्रहार जारी

गत शुक्रबारदेखि सुरु भएको इजरेल–इरानबीचको सैन्य द्वन्द्व झनै चर्किदै गएको छ। इजरेलले इरानका परमाणु र सैनिक केन्द्रहरूमा आक्रमण गरेपछि सुरु भएको तनाव अझ गहिरिँदै गएको हो। दुवै देशबाट तीव्र र आक्रोशपूर्ण अभिव्यक्तिसमेत आएका छन्।



इजरेली सेनाले ‘अपरेशन राइजिङ लायन’ अन्तर्गत इरानको नतान्जस्थित प्रमुख परमाणु केन्द्रमाथि आक्रमण गरेको दाबी गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सो कारबाहीले इरानको परमाणु कार्यक्रमको ‘मुटु’ निसाना बनाएको बताएका छन्। उनले भने, “यदि रोकिएन भने इरान निकट भविष्यमै परमाणु अस्त्र बनाउन सक्छ।”



इरानले भने आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्रै भएको बताउँदै आएको छ। इजरेली हमलामा २०० भन्दा बढी नागरिक मारिएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये सर्वसाधारण र बालबालिका समेत परेका छन्। इरानका इस्लामिक रेभोलुसनरी गार्ड कोर (आईआरजीसी) का कमान्डर होसैन सलामी, परमाणु वैज्ञानिक फेरेयदून अब्बासीसहित उच्च अधिकारीहरूको मृत्यु भएको बताइएको छ।



इरानले जवाफी कारबाही स्वरूप ‘ट्रू प्रमिस ३’ नामक अपरेसन अन्तर्गत इजरेलमाथि बलिस्टिक मिसाइल आक्रमण सुरु गरेको छ। इरानी सेनाका अनुसार इजरेलका सैन्य अखडा र संरचनामाथि केन्द्रित आक्रमणमा करिब १०० क्षेप्यास्त्र प्रयोग गरिए। यद्यपि इजरेलको ‘आइरन डोम’ प्रणालीले अधिकांश क्षेप्यास्त्र निस्क्रिय पारिदिएको बताइएको छ।
इरानी हमलामा इजरेलका विभिन्न सहरहरू – तेल अभिभ, हाइफा, ताम्रा, रिशोन लेजायोन र बात याममा कम्तीमा २४ जनाको मृत्यु भएको इजरेली अधिकारीहरूले जनाएका छन्।
इजरेलले तेहरानसहितका क्षेत्रमा आक्रमण गरेपछि राजधानीमा व्यापक आतंक फैलिएको छ। सरकारी टेलिभिजनका प्रस्तोता नै प्रसारणको बीचमै भागेको दृश्य सार्वजनिक भएको छ। सोही आक्रमणमा सरकारी सञ्चारकर्मीसमेत मारिएको बताइएको छ।
इजरेली सेनाले तेहरानको आकाशमाथि नियन्त्रण कायम गरेको दाबी गर्दै इरानका करिब एक तिहाइ मिसाइल प्रक्षेपण स्थलहरू नष्ट गरिसकेको जनाएको छ।
युद्धको चरम अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि संलग्न हुन सक्ने संकेत देखिएका छन्। अमेरिकी सञ्चारमाध्यम सीबीएसले राष्ट्रपतिको कार्यालयको स्रोतलाई उद्धृत गर्दै ट्रम्पले इरानी परमाणु केन्द्रमाथिको सम्भावित इजरेली आक्रमणमा अमेरिका संलग्न गराउने विषयमा विचार गरिरहेका जनाएको छ।
मंगलवार ट्रम्प र नेतन्याहूबीच टेलिफोन संवाद भएको थियो। ट्रम्पले सामाजिक सञ्जालमा अयातोल्लाह खामेनेईलाई सजिलै निशाना बनाउन सकिने भए पनि अहिले उनलाई नमार्ने बताएका छन्। साथै, उनले इरानलाई ‘निःसर्त आत्मसमर्पण’ गर्न आग्रह गरेका छन्।
यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले इजरेली आक्रमणमा खामेनेईको हत्या गर्ने योजना बनाइएको दाबी गरेका थिए, जुन ट्रम्पले ‘राम्रो सोच होइन’ भन्दै अस्वीकार गरेका थिए।
युद्धका कारण अमेरिका–इरानबीचको पछिल्लो चरणको वार्ता स्थगित भएको छ। गत आइतवार वार्ता हुने भनिए पनि शुक्रबार इजरेली आक्रमणपछि संवाद रोकिएको हो।
तेहरानस्थित परमाणु केन्द्रहरूबारे अन्तर्राष्ट्रिय एजेन्सीहरूमा पनि गम्भीर चिन्ता व्यक्त भइरहेको छ। अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले हालै मात्रै इरानले परमाणु अप्रसार सन्धिको उल्लङ्घन गरेको ठहर गर्दै नीतिगत कदम चालेको थियो। सन् २०२३ को मार्चमा एजेन्सीले ८३.७% शुद्ध युरेनियम प्रशोधन भेट्टाएको थियो, जुन परमाणु अस्त्र निर्माणको सीमासम्म नजिक मानिन्छ।
प्रधानमन्त्री नेतन्याहूले इरानको ‘खतरा’ न्यूनीकरणका लागि सैन्य कारबाही जारी रहने बताएका छन्। इरानले पनि इजरेली लक्ष्यहरूमा थप आक्रमण गर्न चेतावनी दिएको छ।
विश्लेषकहरूका अनुसार यो तनाव तत्काल अन्त्य हुने संकेत देखिँदैन। अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरिरहेका छन्, तर दुवै पक्ष अहिले पनि युद्धको मैदानमै उभिएका छन्।