अन्तराष्ट्रिययस्तो पनि

डच संग्रहालयमा २०० वर्ष पुरानो कन्डम !

करिब दुई शताब्दी पुरानो दुर्लभ कन्डम एम्स्टर्डमस्थित राइक्सम्युजिअममा पहिलोपटक सार्वजनिक प्रदर्शनमा राखिएको छ। भेडाको एपेन्डिक्स (आन्द्रा) बाट बनेको ठानिएको यो कन्डम सन् १८३० तिरको हो र यसमा असाधारण चित्रण गरिएको छ—एक नन र तीन जना पादरीलाई यौनिक मुद्रामा देखाइएको छ।

राइक्सम्युजिअमकी क्युरेटर जोइस जेलेनका अनुसार यो वस्तु हेर्दा सुरुमा उनीहरूलाई हाँसो उठेको थियो। तर पराबैजनी प्रकाश परीक्षणपश्चात् यो कन्डम प्रयोग नभएको प्रमाणित भयो। “यो वस्तु अहिले पनि नयाँ जस्तै अवस्थामा छ,” जेलेनले बताइन्।

कन्डम फ्रान्सको एक ‘फ्यान्सी’ वेश्यालयबाट विलासी सजावटको रुपमा प्रयोग भएको विश्वास गरिएको छ। संग्रहालयले यो वस्तुलाई १९औँ शताब्दीमा वेश्यावृत्ति र यौन जीवनबारेको सामाजिक दृष्टिकोण झल्काउने दुर्लभ दस्तावेजको रुपमा लिएको छ।

यसमा चित्रित दृश्यमा एक नन तीन जना पादरीहरूसामु आफ्नो लुगा माथि सारेकी छन् र ती पादरीहरू आफ्ना वस्त्र उठाएर उभिएका छन्। चित्रसँगै “त्यहाँ मेरो रोजाइ छ” भन्ने अर्थ लाग्ने शब्द अङ्कित छ। संग्रहालयले यसलाई ब्रह्मचर्य र ग्रीक मिथक ‘जजमेन्ट अफ प्यारिस’ को व्यंग्यात्मक प्रस्तुति भएको ठानेको छ।

राइक्सम्युजिअमका अनुसार, यो चित्रित कन्डम उनीहरूको ७ लाख ५० हजार वस्तु समावेश भएको प्रिन्ट संग्रहमा अत्यन्त दुर्लभ नमुना हो। “जति जानकारी छ, हाम्रो संग्रहालय नै एक मात्र हो जहाँ छापा तस्बिरसहितको कन्डम प्रदर्शन गरिएको छ,” जेलेनले भनिन्।

संग्रहालयमा यो वस्तु हेर्न तन्नेरीदेखि वृद्धसम्मका दर्शकहरूको भीड लागेको छ। “अत्यन्तै आश्चर्यजनक प्रतिक्रिया पाएका छौँ,” जेलेनले थपिन्।

यो कन्डम नोभेम्बरसम्म प्रदर्शनमा रहनेछ भने संग्रहालयले यसलाई अरू संग्रहालयलाई प्रदर्शनका लागि उपलब्ध गराउनेबारे पनि खुलेको जनाएको छ। तर वस्तु नाजुक भएकाले सावधानीपूर्वक हेरचाह आवश्यक रहेको चेतावनी दिइएको छ।

संग्रहालयका अनुसार, यो वस्तुले केवल यौनिकता होइन, १९औँ शताब्दीमा यौन स्वास्थ्य, गर्भनिरोध र यौन संक्रमणजस्ता विषयप्रति रहेको सामाजिक डर र चिन्तालाई समेत प्रतिबिम्बित गर्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button