चार दिने कार्यसप्ताहः खुसी, सन्तुलन र उत्पादकताको नयां मानक

विश्वका सबैभन्दा खुसी मुलुकहरूमध्ये आइसल्याण्ड, डेनमार्क र नेदरल्याण्ड जस्ता देशले चार दिने कार्यसप्ताह अपनाउँदै कार्यसंस्कृतिमा नयाँ युगको आरम्भ गरेका छन्। यसले कर्मचारीहरूको मानसिक स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याएको छ भने बर्नआउट घटाएको छ, कार्यसन्तुष्टि र कार्यक्षमतामा पनि उल्लेखनीय वृद्धि भएको पाइन्छ।
तीन दिनको विकेन्ड अर्थात् सातामा चार दिन मात्र काम गर्नु अब सपनाको विषय रहेन। विशेषगरी कोरोना महामारीपछि वर्क–लाइफ ब्यालेन्स (काम–जीवन सन्तुलन) को महत्त्व झनै बढेको छ, र त्यसपछि यो अवधारणा विश्वभर चर्चाको केन्द्रमा रहँदै आएको छ।
चार दिने कार्यसप्ताह “१००–८०–१००” मोडेलमा आधारित छ। यसको अर्थ हो: कर्मचारीले १००% तलब पाउने, ८०% समय काम गर्ने र १००% दक्षताका साथ कार्यसम्पादन गर्ने। यो मोडेललाई ‘फोर डे विक’ नामक संस्थाले अगुवाइ गरेको हो, जसले सन् २०२३ को अन्त्यतिर जर्मनीमा ठूलो अभियान सञ्चालन गरेको थियो। यसअघि स्पेन, पोर्चुगल, र बेलायतमा पनि यो मोडेलको सफल परीक्षण गरिएको थियो।
१. जापान
जापानले अप्रिल २०२५ देखि सरकारी कर्मचारीहरूका लागि चार दिने कार्यसप्ताह लागू गर्ने निर्णय गरेको छ। यो पहल कार्य–जीवन सन्तुलन कायम राख्न र घट्दो जन्मदर समाधान गर्न ल्याइएको हो। साथै, बाल हेरचाहका लागि आंशिक बिदाको पनि व्यवस्था गरिएको छ, जसले महिलाहरूलाई घर र करियर सन्तुलन गर्न सहज बनाउँछ।
२. बेल्जियम
बेल्जियमले सन् २०२२ मा चार दिने कार्यसप्ताहलाई कानूनीरूपमा मान्यता दिएको छ। कर्मचारीहरूले अब आफ्नो ४० घण्टे साप्ताहिक कार्यलाई चार दिनमा सम्पन्न गर्न सक्छन्, तलबमा कुनै कटौती नगरी। ‘राइट टु डिस्कनेक्ट’ को अवधारणासमेत लागू गरिएको छ, जसले कर्मचारीलाई कार्यबाहेक समयमा कामको सन्देश बेवास्ता गर्न अधिकार दिन्छ।
३. जर्मनी
जर्मनीमा सन् २०२३–२४ मा गरिएको परीक्षणमा सहभागी ४१ कम्पनीमध्ये ७३% ले चार दिने संरचनालाई स्थायी बनाउने योजना बनाएका छन्। औसत कार्यघण्टा पहिले नै ३४ घण्टा मात्र रहेको जर्मनीले कार्यदक्षता र कर्मचारी सन्तुष्टिमा नकारात्मक असर नपरेको जनाएको छ।
४. आइसल्याण्ड
सन् २०१५–२०१९ बीच गरिएको परीक्षणले आइसल्याण्डमा चार दिने कार्यसप्ताहको सकारात्मक प्रभाव देखायो। उत्पादकता झनै बढेको पाइयो र कर्मचारीको तलबमा कुनै कटौती नगरी कामको समय ४० घण्टाबाट ३५–३६ घण्टामा झारिएको थियो। देशको जीडीपीमा कुनै नकारात्मक असर परेन, बरु कर्मचारीहरूको जीवनस्तर र खुसी बढेको प्रमाणित भयो।
५. डेनमार्क
यद्यपि डेनमार्कले औपचारिक रूपमा चार दिने कार्यसप्ताह लागू गरेको छैन, तर त्यहाँको औसत साप्ताहिक कार्यसमय ३७ घण्टामात्र छ। यसका साथै, कर्मचारीहरूले पाँच हप्तासम्मको तलबसहितको बिदा पाउने सुविधा प्राप्त गरेका छन्। यसले कार्य–जीवन सन्तुलन र खुशीमा ठुलो योगदान दिएको छ।
चार दिने कार्यसप्ताहको अवधारणा केवल कामको समय घटाउने मात्रै होइन, सन्तुलित जीवन, मानसिक सन्तुष्टि र दीर्घकालीन उत्पादकता वृद्धिको दिशामा लिइएको एक रणनीतिक कदम हो। जापानको हालैको नीति होस् वा आइसल्याण्डको परीक्षणको सफलताः यी सबैले कार्यसंस्कृति परिवर्तन गर्ने विश्वव्यापी लहरको प्रतिनिधित्व गर्छन्।



