कम पिए पनि हानि बढी पिए पनि हानि, कति पिउनु पर्दछ पानी ?

पानी जीवनका लागि अत्यावश्यक पोषक तत्त्व हो। विश्वव्यापी मापदण्डअनुसार महिलाले प्रतिदिन औसतमा दुई लिटर र पुरुषले अढाई लिटर पानी पिउनु उपयुक्त मानिन्छ। तर वैज्ञानिकहरूका अनुसार शरीरलाई आवश्यक पर्ने पानीको मात्रा धेरै कुरामा निर्भर हुन्छ—जस्तै उमेर, तौल, शारीरिक गतिविधि र वातावरणीय अवस्था।
हाम्रो शरीरको झन्डै ६० प्रतिशत हिस्सा पानीले बनेको हुन्छ। कोष, अङ्ग, रगत लगायत हरेक भागमा पानीको उपस्थिति हुन्छ। स्कटल्यान्डस्थित यूनिभर्सिटी अफ स्टर्लिङकी जलसन्तुलन विशेषज्ञ डा. निदिया रोड्रिगेज सान्चेज भन्छिन्,
“हामी प्रोटीन, भिटामिन, कार्बोहाइड्रेट र फाइबरबारे धेरै कुरा गर्छौँ, तर पानीलाई पनि आवश्यक पोषक तत्त्वको रूपमा हेर्नु आवश्यक छ।”
हार्भर्ड मेडिकल स्कूलका अनुसार पानीका मुख्य भूमिका यस्ता छन्:
- कोषहरूमा अक्सिजन र पोषण पुर्याउनु
- मूत्राशयबाट ब्याक्टेरिया निकाल्नु
- पाचनक्रिया सहज बनाउनु
- कब्जियतबाट बचाउनु
- रक्तचाप सन्तुलित राख्नु
- जोर्नी लचिलो बनाउनु
- अङ्ग र तन्तुहरूको सुरक्षा गर्नु
- शरीरको तापमान नियन्त्रण गर्नु
- इलेक्ट्रोलाइट (विशेषतः सोडियम) सन्तुलन मिलाउनु
पानीको कमी (जलवियोजन) के हो?
शरीरले निरन्तर पसिना, पिसाब र श्वासमार्फत पानी गुमाइरहेको हुन्छ। त्यो क्षय भएको पानीको पूर्ति गर्न नसकिएमा जलवियोजन (dehydration) हुन्छ।
जलवियोजनका सामान्य लक्षणहरू:
- पिसाब गाढा पहेँलो र गन्धयुक्त हुनु
- पिसाबको मात्रा कम हुनु
- रिँगटा वा चक्कर आउनु
- थकान, मुख–जिब्रो सुक्खा हुनु
- आँखा गड्नु
विश्व स्वास्थ्य संगठनका अनुसार, अत्यधिक जलवियोजनले भ्रम, मुटुको गति तीव्र हुनु र अङ्गले काम गर्न छोड्नेसम्मको अवस्था ल्याउन सक्छ।
अत्यधिक पानीको सेवन: खतरा पनि
छोटो अवधिमा धेरै पानी पिउँदा हाइपोनेट्रेमिआ नामक अवस्था उत्पन्न हुन सक्छ। यसलाई ‘वाटर इन्टक्सिकेशन’ वा ‘जलोन्माद’ पनि भनिन्छ, जसमा शरीरमा सोडिअमको मात्रा घट्छ।
हाइपोनेट्रेमिआका लक्षणहरू:
- वाकवाकी, बान्ता
- टाउको दुखाइ
- भ्रम, तन्द्रा
- मांसपेशी कमजोरी र झट्का
- सीजर (मूर्च्छा) र गम्भीर अवस्थामा कोमा
कति पानी आवश्यक पर्छ?
धेरै स्वास्थ्य निकायले दैनिक ६–८ गिलास पानी पिउन सिफारिस गर्छन्। युरोपेली खाद्य सुरक्षा निकायका अनुसार महिलाले दुई लिटर र पुरुषले साढे दुई लिटर पानी पिउनुपर्छ, तर यो मात्र पिउने पानी मात्र नभएर खाना (फलफूल, तरकारी आदि) बाट प्राप्त पानी पनि समावेश हुन्छ।
उदाहरणका लागि, खरबुजामा झण्डै ९२% पानी हुन्छ।
तर सबै मानिसलाई एउटै मात्रा लागु हुँदैन। यूनिभर्सिटी अफ आबर्डीनका प्रा. जोन स्पीक्म्यानको अध्ययनअनुसार:
- २०–६० वर्षका पुरुषहरूलाई करिब १.८ लिटर
- महिलाहरूलाई १.५–१.६ लिटर
- ८५ वर्षमाथिका व्यक्तिहरूलाई करिब १ लिटर पानी आवश्यक पर्छ
तपाईंलाई कति पानी चाहिन्छ?
यो तपाईंको तौल, लिङ्ग, शारीरिक गतिविधि र वातावरणमा निर्भर गर्छ। गर्मी र आर्द्रता बढी भएको स्थानमा बस्नेले चिसो र सुक्खा ठाउँमा बस्नेको तुलनामा बढी पानी चाहिन्छ।
शरीरले पानीको आवश्यकता संकेत कसरी गर्छ?
- तिर्खा सबैभन्दा सामान्य र प्राकृतिक सङ्केत हो।
- पिसाबको रङ्ग पनि महत्त्वपूर्ण छ—फिक्का पहेँलो रङ्गले पर्याप्त पानीको संकेत गर्छ भने गाढा रङ्गले कमी देखाउँछ।
यदि तपाईं बान्ता गर्दै हुनुहुन्छ वा पखाला लागेको छ भने शरीरमा तरल पदार्थ गुमिरहेको हुनाले अधिक पानी वा इलेक्ट्रोलाइटयुक्त पेय सेवन गर्नु आवश्यक हुन्छ।



