रमजानमा आहार : स्वास्थ्य लाभका लागि के खाने के नखाने ?

विश्वभरका लाखौँ मुस्लिमहरूले इस्लाम धर्मको सबैभन्दा पवित्र महिना रमजानको व्रत सुरू गरेका छन्। इस्लाम धर्मावलम्बीहरूको पवित्र ग्रन्थ कुरान अवतरण भएको यो महिनामा मुस्लिम समुदाय सूर्योदयदेखि सूर्यास्तसम्म निराहार र निर्जल व्रत बस्छन्।
रमजानको व्रत इस्लाम धर्मका पाँच स्तम्भहरूमध्ये एक हो। धार्मिक आस्थासँगै स्वास्थ्यको दृष्टिकोणबाट पनि यो व्रत महत्त्वपूर्ण मानिन्छ। पोषणविद्हरूका अनुसार, उचित आहार अपनाएमा व्रतले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ।
सुहूरमा के खाने?
व्रत शुरू हुनुअघि खाइने खाना सुहूर (सेहरी) महत्त्वपूर्ण मानिन्छ। पोषणविद्हरूका अनुसार, शरीरलाई आवश्यक ऊर्जा प्राप्त गर्न सुहूरमा उच्च प्रोटीन, कार्बोहाइड्रेट, भिटामिन र खनिजयुक्त खाना समावेश गर्नुपर्छ।
पोषणविद् इस्मेत तामिर भन्छन्, “सुहूरमा हलुका, स्वस्थकर खाना खानुपर्छ जसले दिनभरि शरीरलाई आवश्यक ऊर्जा प्रदान गरोस्।”
विशेषज्ञहरूका अनुसार, सुहूरका लागि निम्न खानेकुरा उपयुक्त छन्:
- अण्डा, दुग्धजन्य पदार्थ, ओट्स, होल ग्रेन ब्रेड, सिरियल
- काँक्रो, गोलभेँडा, सुप, जैतुनको तेलमा पकाइएका तरकारी
- फलफूल र प्रशोधित नभएका गेडागुडी
- प्रशस्त पानी पिउनु आवश्यक
नुनिलो खाना र क्याफिनयुक्त पेय पदार्थबाट बच्न सुझाव दिइएको छ, किनभने यस्ता खानेकुराले दिनभरि तिर्खा लाग्ने सम्भावना बढाउँछ।
इफ्तारमा के खाने?
व्रत समाप्त गर्ने समय इफ्तारलाई सन्तुलित आहारको महत्त्वपूर्ण समय मानिन्छ। पोषणविद्हरूका अनुसार, इफ्तारमा अत्यधिक बोसोयुक्त र गरिष्ठ खाना खानुभन्दा स्वस्थकर विकल्प अपनाउनु उत्तम हुन्छ।
पोषणविद् ब्रिगेट बेनेलम भन्छिन्, “खजुर र पानीले व्रत टुङ्ग्याउनु उपयुक्त हुन्छ किनभने खजुरबाट ऊर्जा प्राप्त हुन्छ र शरीरमा पानीको मात्रा सन्तुलित रहन्छ।”
इफ्तारका लागि सिफारिस गरिएका खानेकुरा:
- खजुर र पानी
- सुप, गेडागुडी, फाइबरयुक्त खानेकुरा
- प्रशस्त तरकारी र प्रोटीनयुक्त खाना
- कम बोसोयुक्त मासु तथा मतिरो खाना
- गुलियो खानेकुरा सीमित मात्रामा लिनु उपयुक्त
विशेषज्ञहरूका अनुसार, एकैचोटि धेरै नखाई दुई भागमा भोजन गर्नाले रगतमा ग्लुकोजको स्तर सन्तुलित राख्न सहयोग पुग्छ।
स्वास्थ्यका लागि रमजानको व्रत लाभदायक
रमजानको व्रत इन्टरमिटेन्ट फास्टिङ (अन्तराल व्रत) सँग मिल्दोजुल्दो छ, जसले शरीरमा चर्बी घटाउने, रक्तचाप नियन्त्रण गर्ने, कोलेस्ट्रोल सन्तुलन राख्ने, इन्सुलिनलाई सुधार गर्ने तथा मधुमेहको जोखिम कम गर्ने वैज्ञानिक अध्ययनहरूले देखाएका छन्।
अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित एक अध्ययन अनुसार, रमजानको व्रतले शरीरमा मेटाबोलिक परिवर्तन ल्याउन मद्दत गर्छ। यसले फोक्सो, कोलोरेक्टल र स्तन क्यान्सरको जोखिमसमेत घटाउने निष्कर्ष निकालिएको छ।
पोषणविद्हरूका अनुसार, रमजान अवधिमा व्रत राख्ने धेरै मानिसहरूको तौल एक किलोसम्म घट्ने गर्छ। तर, इफ्तारमा अत्यधिक खाना खाएमा तौल बढ्न सक्ने जोखिम रहन्छ।
बेनेलम भन्छिन्, “तपाईंका अगाडि आउने सबै खानेकुरा नखानुहोस्, आवश्यक मात्रामा चयन गरी बिस्तारै खानुहोस्।”
रमजानको व्रतले धार्मिक आस्था मात्र नभई स्वास्थ्यलाई पनि सकारात्मक प्रभाव पार्न सक्छ। उचित आहार र जल सेवनको सन्तुलन मिलाएमा शरीरलाई आवश्यक ऊर्जा प्राप्त गर्न सकिन्छ। स्वास्थ्य विशेषज्ञहरूले सुहूर र इफ्तारमा पौष्टिक खाना खाने र अत्यधिक बोसोयुक्त तथा गुलियो खानेकुराबाट बच्न सल्लाह दिएका छन्। एजेन्सीहरुको सहयोगमा



