दोस्रो वीरगंज गोल्डकप : उद्घाटन खेलमा वीरगंज युनाइटेड विजयी

वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित रंगशालामा शनिबारदेखि सुरु भएको दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वीरगंज युनाइटेड क्लब विजयी भएको छ। प्रतियोगिताको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका थिए।
उद्घाटन खेलमा वीरगंज युनाइटेडले भारतको गडवाल डायमन्ड एफसी दिल्लीलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो। पहिलो हाफमा पाएको पेनाल्टी अवसरलाई कप्तान शिशस थापाले गोलमा परिणत गर्न नसके पनि दोस्रो हाफको सुरुआतमै दिल्लीका सन्दीप रानाको आत्मघाती गोलले वीरगंज युनाइटेडले अग्रता लिन सफल भयो।
भेन्ट्रान्स सिटी फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल र भारतका आठ टिम सहभागी छन्। नेपाल पुलिस क्लब, मच्छिन्द्रनाथ काठमाडौं, चर्च ब्वाइज युनाइटेड काठमाडौं, सङ्कटा क्लब काठमाडौं, बाग्मती युथ क्लब सर्लाही, सहलेश युवा क्लब सिराहा, वीरगंज युनाइटेड क्लब र भारतको गडवाल डायमन्ड एफसी दिल्ली गरी आठ टिम दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ अन्तर्गतको उद्घाटन खेलमा वीरगंज युनाइटेड विजयी भएको छ भने समूह ‘बी’ अन्तर्गत आइतबार सहलेश फुटबल क्लब सिराहा र सङ्कटा फुटबल क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका सदस्य सन्तोष खनालले जानकारी दिए।
गत वर्षदेखि सञ्चालन हुँदै आएको यो प्रतियोगिता मधेस प्रदेशकै सबैभन्दा ठूलो राशिको फुटबल प्रतियोगिता मानिन्छ। विजेता टिमलाई ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेता टिमलाई पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
यसैगरी, सर्वश्रेष्ठ खेलाडीलाई इलेक्ट्रिक स्कूटी, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही २०-२० हजार रुपैयाँ नगद तथा प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।



