वीरगञ्ज गोल्डकप आजदेखि शुरु हुँदै, विजेता टोलीले ११ लाख ११ हजार पाउने
दोस्रो वीरगञ्ज गोल्डकप २०८१ आजदेखि सुरु हुने भएको छ। भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा फागुन १७ देखि २४ गतेसम्म वीरगञ्जको आर्दशनगर रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ।
यो मधेस प्रदेशकै सर्वाधिक धनराशि भएको प्रतियोगिता हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका आठ फुटबल टोलीको सहभागिता रहने जानकारी आयोजकले दिएको छ ।
प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ। प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती यूथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमण्ड फुटबल क्लब दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिराहा तथा आयोजक वीरगञ्ज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्ने क्लबका सदस्य सन्तोष खनालले जानकारी दिएका छन्।
विजेता टोलीले नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले नगद पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
दर्शकका लागि अस्थायी प्याराफिट निर्माण गरिएको छ, जसमा करिब दुई हजारभन्दा बढी दर्शक अटाउन सक्नेछन् भने मैदानमा अन्य तीन हजारभन्दा बढी दर्शकका लागि स्थान सुरक्षित गरिएको छ।



