No Image Headlineस्वास्थ्य/जिवनशैली

चिसो पेयको प्रत्येक घुट्कीले घटाउँदैछ आयु, कसरी जोगिने ?

गर्मीको बढ्दो प्रभावसँगै बजारमा चिसो पेय पदार्थको माग तीव्र रूपमा बढ्दै गएको छ। अत्यधिक गर्मीले उकुसमुकुस बनेका उपभोक्ताहरूले कोल्ड ड्रिंक्सलाई प्राथमिकता दिइरहेका छन्। एक गिलास चिसो पेयले आनन्दको महसुस गराउने भएकाले यसको लोकप्रियता बढ्दो देखिन्छ।

विशेष गरी कोक, पेप्सी, स्प्राइट, फ्यान्टा जस्ता पेय पदार्थहरू चाडपर्व, उत्सव, पारिवारिक जमघटदेखि लिएर दैनिक उपभोगमा समेत लोकप्रिय बनेका छन्। कतिपय अवस्थामा यी पेय पदार्थ सामाजिक गतिविधिको अनिवार्य हिस्सा बनेको देखिन्छ।

तर, स्वास्थ्य विशेषज्ञहरू भने चिसो पेय पदार्थको अत्यधिक सेवनले गम्भीर असर पार्न सक्ने चेतावनी दिँदै आएका छन्। वैज्ञानिक अनुसन्धानहरूका अनुसार सोडायुक्त पेय पदार्थहरूमा रहेको चिनी तथा अन्य रासायनिक तत्वहरूले शरीरमा नकारात्मक प्रभाव पार्न सक्छन्।

स्वास्थ्य जोखिम बढाउने संकेत

चिनीयुक्त पेय पदार्थको सेवनले शरीरमा विभिन्न समस्याहरू उत्पन्न गर्न सक्ने हालैका अध्ययनहरूले देखाएका छन्। सेल मेटाबोलिजम जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार, यस्ता पेय पदार्थको अत्यधिक सेवनले आन्द्राको सूक्ष्मजीव समुदाय (गट माइक्रोबायोम) मा परिवर्तन ल्याउने प्रमाण भेटिएको छ।

  • चिनीको अत्यधिक मात्रा शरीरमा सहज रूपमा अवशोषित हुने भएकाले वजन वृद्धिमा योगदान पुर्‍याउँछ।
  • मधुमेहको जोखिम बढाउने सम्भावना देखिएको छ।
  • शरीरमा बोसोको अस्वस्थ स्तर वृद्धि हुनसक्छ।
  • आन्द्राको ब्याक्टेरियामा नकारात्मक परिवर्तन आउँछ, जसले पाचन प्रणालीमा असर पार्छ।

अध्ययनका अनुसार चिनीयुक्त पेय पदार्थहरूको सेवनले आन्द्राको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ। सुन्निने समस्या निम्त्याउने ब्याक्टेरियाको वृद्धि हुने र राम्रा ब्याक्टेरियाको संख्या घट्ने देखिएको छ। साथै, सोडाको सेवनले शरीरमा इन्सुलिन प्रतिरोध बढाउने भएकाले मधुमेहको जोखिम थप उच्च हुन्छ।

स्वस्थ विकल्प अपनाउन सुझाव

स्वास्थ्य विज्ञहरूका अनुसार, चिसो पेय पदार्थको सट्टा पानी वा कम चिनी भएको स्पार्कलिङ पानीको प्रयोग गर्नु राम्रो विकल्प हुनसक्छ। अत्यधिक गर्मीमा पनि शरीरलाई स्वस्थ राख्ने उपाय अपनाउनु आवश्यक छ।

विशेषज्ञहरू भन्छन्, ‘यदि तपाईंलाई चिसो पेयको तलतल लाग्छ भने, पानी नै सबैभन्दा राम्रो विकल्प हो। यदि फिज्जी पेय नै पिउनुपर्ने स्थिति छ भने कम चिनी भएको विकल्प रोज्नुपर्छ।’

चिसो पेय पदार्थहरूको लतले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्छ। त्यसैले, ‘एउटा बोटलले के नै बिगार्ला र?’ भन्ने मानसिकता त्यागी सचेत हुनुपर्ने विज्ञहरू सुझाउँछन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button