निद्राको कमीले मानसिक स्वास्थ्यमा पार्न सक्छगम्भीर असर, समाधान के ? : अध्ययन
एक नयाँ अध्ययनले निद्राको अभावले मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने देखाएको छ। अध्ययनअनुसार, निद्रा नपुगेका व्यक्तिहरूमा अवाञ्छित सम्झनाहरू दबाउने क्षमतामा गिरावट आउँछ, जसले चिन्ता, डिप्रेसन तथा पोष्ट-ट्रअमेटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) जस्ता समस्याहरू निम्त्याउन सक्छ।
युनाइटेड किङ्डमको युनिभर्सिटी अफ यर्क र युनिभर्सिटी अफ इस्ट एङ्ग्लियाले संयुक्त रूपमा गरेको अनुसन्धानले निद्रा, मस्तिष्क र मानसिक स्वास्थ्यबीचको सम्बन्धलाई थप स्पष्ट पारेको छ। अध्ययनको निष्कर्ष प्रतिष्ठित विज्ञान जर्नल प्रोसीडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित गरिएको छ।
अध्ययन कसरी गरियो?
अध्ययनका लागि १८ देखि ३० वर्ष उमेर समूहका ८५ जना स्वस्थ वयस्कहरूलाई सहभागी गराइएको थियो। तीमध्ये ४३ जनालाई रातभरि जागै बस्न लगाइयो भने बाँकीलाई राम्रोसँग निदाउन दिइयो।
यसपछि, सहभागीहरूलाई विभिन्न तस्बिरहरू देखाइयो जसमा केही नकारात्मक दृश्यहरू (जस्तै कार दुर्घटना) समावेश थिए। तिनलाई ती दृश्यहरू सम्झन वा बिर्सन निर्देशन दिइयो। साथै, फंसनल म्यागनेटिक रेजोनेन्स इमेजिङ प्रविधिबाट उनीहरूको मस्तिष्क गतिविधि परीक्षण गरियो।
मुख्य निष्कर्ष
१. निद्राको अभावले मस्तिष्कलाई नराम्रा सम्झनाहरू दबाउन कठिन बनाउँछ: – निद्रा नपुगेका व्यक्तिहरूमा डोर्सोल्याटेरल प्रिफ्रन्टल कोर्टेक्स कम सक्रिय देखियो, जसले भावना नियन्त्रण गर्न मद्दत गर्छ। – राम्रो निद्रा लिएका व्यक्तिहरूमा भने यो क्षेत्र बढी सक्रिय देखियो, जसले उनीहरूलाई नकारात्मक सम्झनाहरू नियन्त्रण गर्न सजिलो बनायो।
२. आर.इ.एम. (REM) निद्रा मस्तिष्कको पुनर्स्थापना गर्न महत्त्वपूर्ण छ: – आर.इ.एम. निद्रा बढी लिएका व्यक्तिहरूको मस्तिष्कले अवाञ्छित सम्झनाहरू नियन्त्रण गर्न राम्रो प्रतिक्रिया देखायो। – यस चरणमा मस्तिष्कले दिनभरि भएका भावनात्मक घटनाहरूलाई प्रक्रियाकरण गर्छ, जसले मानसिक स्वास्थ्य सुधार गर्न सहयोग पुर्याउँछ।
मानसिक स्वास्थ्यमा असर
युनिभर्सिटी अफ इस्ट एङ्ग्लियाका मनोविज्ञानका प्राध्यापक मार्कस ह्यारिङ्टनका अनुसार, ‘हामीमध्ये धेरैले आफ्नो जीवनमा कुनै न कुनै आघातजन्य अनुभव गर्छौं। तर, किन थोरै मात्र व्यक्तिहरू पीटीएसडीबाट ग्रस्त हुन्छन् भन्ने प्रश्नको उत्तर खोज्न यो अध्ययन महत्त्वपूर्ण छ।’
विशेषज्ञहरूका अनुसार, निद्राको कमीले अवाञ्छित सम्झनाहरूलाई हटाउन नसक्ने स्थितिमा पुर्याउन सक्छ, जसले मानसिक रोगको जोखिम बढाउँछ।
निद्राको सुधार नै समाधान
विशेषज्ञहरू भन्छन् कि नियमित राम्रो निद्रा पुर्याउने अभ्यासले मानसिक स्वास्थ्य सुधार गर्न सकिन्छ। डा. ह्यारिङ्टनका अनुसार, ‘गहिरो निद्रा सुधार्ने उपायहरू विकास गर्ने प्रयास भइरहेको छ, जसमा ध्वनि प्रविधि प्रयोग गरेर निद्रा सुधार्ने विधिहरू समावेश छन्।’
तर, अहिलेसम्म यी उपायहरू प्रारम्भिक अनुसन्धानकै चरणमा छन्। त्यसैले, विशेषज्ञहरूले स्वस्थ मानसिक स्वास्थ्यका लागि नियमित रूपमा पर्याप्त निद्रा पूरा गर्नुपर्ने सुझाव दिएका छन्।



