नेपाल प्रिमियर लिगमा सट्टेबाजीको प्रचार: कानूनी चुनौती र प्रहरीको मौनता !

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १५ गतेदेखि शुरू भएको नेपाल प्रिमियर लिग (एनपीएल) पुस ७ गते सम्पन्न भयो। नेपालको खेल इतिहासकै एक ठूलो महाकुम्भका रूपमा रहेको यो प्रतियोगिताले व्यापक चर्चा पायो।
तर, एनपीएलको आयोजक क्यान र फ्रेन्चाइज क्लबहरूले सट्टेबाजी (बेटिङ) कम्पनीको विज्ञापन गरेपछि यो प्रतियोगिता विवादमा तानियो। यो गतिविधिले कानूनी सवाल उठाउँदै राज्यलाई नै चुनौती दिएको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ ले जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने स्पष्ट व्यवस्था गरेको भए पनि, प्रहरी यस मामिलामा मौन बसेको छ।
एनपीएलमा बेटिङको विज्ञापन
एनपीएलमा सहभागी विराटनगर किङ्ग्स, लुम्बिनी लायन्स, र सुदूरपश्चिम रोयल्स क्लबले बेटिङ प्लेटफर्म ‘वुल्फ ट्रिपल सेभन’ को प्रचार गरे। यी क्लबका खेलाडीहरूको पोशाकमा समेत सट्टेबाजी कम्पनीको लोगो देखियो। साथै, त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेटिङ साइटहरूको भौतिक प्रचार सामग्री राखिएको थियो।
क्यानका सचिव पारस खड्काले सरोगेट ब्रान्ड प्रयोग गरिएको स्वीकार गर्दै यस्तो गतिविधि रोक्न सरकारले पर्याप्त लगानी गर्नुपर्ने बताए। उनले यसअघि पनि नेपालमा यस्ता ब्रान्ड प्रयोग हुँदै आएको तर्क गरे।
प्रहरीको भूमिका र आलोचना
एनपीएलको सुरक्षामा खटिएका प्रहरी बेटिङको विज्ञापनप्रति उदासीन रहेको व्यापक आलोचना भएको छ। कानूनको समान कार्यान्वयनमा विभेद भएको आरोप लागेका छन्। अन्य घटनामा सट्टेबाजीका आरोपीहरूलाई पक्राउ गर्दै कारबाही अघि बढाउने प्रहरीले एनपीएलको सन्दर्भमा भने ठोस कदम चालेको छैन।
मंसिर १७ र १८ गते, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले टीयू क्रिकेट मैदानबाट चार भारतीय नागरिकलाई सट्टेबाजीमा संलग्न रहेको आरोपमा पक्राउ गर्यो। यसबाहेक, पाँचथरका सुनिल राईलाई ५५ करोड २० लाख रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ गरियो। तर, एनपीएलमा फ्रेन्चाइज क्लबहरूले गरेका गतिविधिमा प्रहरीले ठोस कदम नचालेको भन्दै आलोचना भइरहेको छ।
सरकारी निर्देशनको पर्खाइमा सीआईबी
सीआईबीका प्रवक्ता होविन्द्रबहादुर बोगटीले एनपीएलमा बेटिङसम्बन्धी अनुसन्धान अघि बढाउनेबारे सरकारको निर्देशन पर्खिरहेको बताए। उनले वुल्फ ट्रिपल सेभनलाई अनलाइन न्यूज पोर्टल भएको दाबीले अनुसन्धानमा अप्ठ्यारो उत्पन्न गराएको जानकारी दिए। उजुरी वा निर्देशन आएपछि मात्र कारबाही अघि बढ्ने बोगटीले प्रष्ट पारे।
यसअघि, अनलाइन सट्टेबाजी एपको प्रचार गरेको आरोपमा ८ नेपाली कलाकार पक्राउ परेका थिए। उनीहरूलाई विज्ञापन ऐनअनुसार १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको मुद्दा दायर गरिएको थियो।
नेपालको खेल क्षेत्रमा सट्टेबाजीको यस्तो खुलेआम प्रचारले मुलुकको कानूनी प्रणालीमा ठूलो प्रश्न उठाएको छ। फ्रेन्चाइज क्लबहरूले ‘शक्तिशाली’ पहुँचका कारण कारबाहीबाट उम्किएको आरोप लागेको छ। कानूनको समान कार्यान्वयनका लागि प्रहरीको भूमिका र क्यानको गतिविधिबारे गहन अनुसन्धान आवश्यक देखिन्छ।



