यस कारण जोखिमपूर्ण हुन्छ चिसो मौसममा मर्निङवाक
चिसो मौसमसँगै काठमाडौं उपत्यकामा वायुप्रदूषणको समस्या थप जटिल बन्दै गएको छ। अव्यवस्थित शहरीकरण, बढ्दो जनसंख्या र पुराना इन्जिन तथा कलकारखानाको प्रयोगले प्रदूषणको स्तर उच्च भएको छ। स्वीस वायु गुणस्तर मापन कम्पनी आइक्यू एयरका अनुसार, काठमाडौं हाल विश्वका तेस्रो प्रदूषित शहरमध्ये परेको छ।
वायुमण्डलमा धुलो, धुवाँ तथा ग्यासजन्य कणका कारण वायुप्रदूषण झन् खतरनाक बनेको छ। सुख्खा मौसम र डढेलोका कारण यी कणको मात्रा वायुमण्डलमा बढिरहेको छ। काठमाडौंको भौगोलिक बनावट कचौराजस्तो भएकाले यहाँ वायुको प्रवाह सीमित रहन्छ, जसले प्रदूषणको स्तरलाई थप बढाएको छ।
अल्पकालीन असर: संक्रमण र स्वास्थ्य जोखिम
वायुप्रदूषणले श्वासप्रश्वासमा गम्भीर असर पार्न सक्छ। धुलो र धुवाँका कणहरू नाक हुँदै फोक्सोसम्म पुगेर भाइरस र ब्याक्टेरियालाई सजिलै टाँस्न सक्छन्। यसका कारण फोक्सोमा संक्रमण भई खोकी, ज्वरो, रुघाखोकीजस्ता समस्या देखिन्छन्। विश्व स्वास्थ्य संगठन का अनुसार, वायुप्रदूषणका कारण प्रत्येक १० जनामध्ये १ जनाको मृत्यु हुने गरेको छ।
दीर्घकालीन असर: हृदयघातदेखि क्यान्सरसम्म
वायुप्रदूषणको दीर्घकालीन असर गम्भीर हुन्छ। धुवाँ र धुलोका कणले रगतका धमनी साँघुरा बनाउने भएकाले उच्च रक्तचाप, हृदयघात र पक्षघातको जोखिम बढ्छ। नेपालमा फोक्सोको क्यान्सर प्रमुख रोगहरूमध्ये एक हो। लामो समयसम्म प्रदूषणमा बस्दा बाँझोपन, मधुमेह, कपाल झर्ने, छालामा चाउरी पर्ने, आँखामा संक्रमण र हाडजोर्नी कमजोर हुने समस्याहरू पनि बढ्न सक्छन्।
चिसोमा मर्निङवाक जोखिमपूर्ण
चिसो मौसममा वायुमा प्रदूषणका कण धेरै जम्ने भएकाले बिहानको समयमा मर्निङवाक गर्न जोखिमपूर्ण मानिन्छ। विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूले मर्निङवाकबाट बच्नुपर्छ।
वायु प्रदूषणबाट बच्ने उपाय
व्यक्तिगत स्तरमा मास्कको प्रयोग, घर वरिपरि सरसफाइ, धूम्रपान नगर्ने र स्वस्थ जीवनशैली अपनाउने प्रयास गर्नुपर्छ। सरकारी तहमा अनियन्त्रित शहरीकरणलाई रोक्ने, पुराना इन्जिनलाई विद्युतीकरण गर्ने, उद्योगमा प्रदूषण नियन्त्रणका मापदण्ड कडाइका साथ लागू गर्ने र हरियाली क्षेत्र विस्तार गर्ने नीति आवश्यक छ। सरकारको नीतिगत पहल बिना प्रदूषण नियन्त्रण गर्न कठिन भए पनि व्यक्तिगत सतर्कता अपनाएर स्वास्थ्यलाई जोगाउन सकिन्छ।



