खेल संसारमुख्य खबर

यू-१९ महिला क्रिकेट : नेपाली टोली पहिलो पटक विश्वकपमा

नेपालको यू-१९ महिला क्रिकेट टोली पहिलो पटक यू-१९ महिला विश्वकपमा छनोट भएको छ। यूएईमा भइरहेको एशिया छनोटको निर्णायक खेलमा बुधवार आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)लाई आठ विकेटले हराउँदै नेपालको टोलीले यो उपलब्धि हासिल गरेको हो।

यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमै पूरा गरी विश्वकपमा स्थान सुरक्षित गर्यो। यस खेलमा टस हारेर फिल्डिङ गरेको नेपालले घरेलु मैदान अजमान क्रिकेट मैदानमा यूएईलाई ८३ रनमा सीमित राखेको थियो। नेपाललाई रनरेटका आधारमा विश्वकपमा स्थान सुरक्षित गर्न १६।२ ओभरभित्र लक्ष्य भेट्टाउनु आवश्यक थियो, जसलाई नेपाली खेलाडीहरूले पूरा गरे।

यूएईले २० ओभर खेल्दै ९ विकेट गुमाएर ८३ रन बनायो। नेपालका लागि कृष्णा गुरुङले चार विकेट तथा रिया शर्मा र सिमाना केसीले समान दुई विकेट लिए। कप्तान पूजा महतोले किफायती बलिङ गर्दै चार ओभरमा ११ रन मात्र खर्चेर यूएईको मुख्य खेलाडी लावण्या केनीलाई आउट गरिन्, जसले नेपाललाई जीततर्फ डोर्याएको थियो।

नेपालको ब्याटिङमा सावित्री धामी १२ रन बनाएर आउट भए पनि कप्तान पूजा महतो र साना प्रवीनले उत्कृष्ट साझेदारी गरे। अन्ततः साना प्रवीनले ३५ रनको अविजित पारी खेल्दै नेपाललाई सहज जिततर्फ अघि बढाइन्।

अब नेपाली महिला यू-१९ टोलीले २०२५ मा मलेशियामा हुने यू-१९ महिला विश्वकपमा एशिया क्षेत्रको प्रतिनिधित्व गर्नेछ। १६ राष्ट्रको सहभागिता रहने विश्वकपको यो संस्करण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सुरु गरेपछि महिला यू-१९ विश्वकपको दोस्रो संस्करण हो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button