बदलाको भावना र भ्रम: शान्ति कि विनाश?

मानिसमा बदलाको भावना कहिले नकारात्मक त कहिले सकारात्मक परिणाम दिन सक्छ। तर, यसले दीर्घकालीन हानि गर्न सक्ने मनोविज्ञहरुको चेतावनी छ।
पद्मकन्या क्याम्पसको मनोविज्ञान विभाग प्रमुख डा. कविता कँडेलका अनुसार, मानिसमा बदलाको भावना कुनै पनि उमेरमा आउन सक्छ। मदिरापान, अपमान वा अपहेलनाको सामना गर्दा व्यक्तिमा बदलाको भावना जागृत हुन सक्छ। उनले भनिन्, “नकारात्मक सोच हावी भएपछि मानिसको सोच्ने शक्ति कम हुन्छ र साना कुरामा पनि बदलाको भावना प्रबल हुन्छ।”
बदलाको भावना किन आउँछ?
डा. कँडेलले मानव मस्तिष्कमा हुने साइक्लोजिकल स्रोतको कमीले बदलाको भावना तुरुन्तै पैदा गर्ने बताउँछिन्। यो स्रोत बढी भएका व्यक्तिहरूले अर्काको प्रगतिमा रमाउँछन् र सन्तोष महसुस गर्छन्। तर, बदलाको प्रयासले तनाव मात्र सिर्जना गर्ने उनी बताउँछिन्।
बदला लिँदा शान्ति मिल्ने भ्रम धेरैमा रहेको डा. कँडेलको भनाइ छ। “बदला लिँदा क्षणिक सन्तुष्टि मिल्न सक्छ, तर यसले दीर्घकालीन रूपमा मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ,” उनले भनिन्।
सकारात्मक बदलाको भूमिका
बदला लिनुको साटो आफूलाई सुधारेर अघि बढ्दा व्यक्तित्व विकासमा टेवा पुग्छ। डा. कँडेलका अनुसार, अपमान सहेर पनि माफी दिनेले बढी शान्ति महसुस गर्छन्। “यसले शत्रु पनि मित्र बन्न सक्छन्,” उनले थपिन्।
बदलाको भावना स्वास्थ्यका लागि हानिकारक हुने बताउँदै डा. कँडेलले विलियम शेक्सपियरको भनाइ उद्धृत गरिन्, “आफ्नो शत्रुप्रतिको घृणाले आफैंलाई जलाउँछ।” उच्च रक्तचाप भएका व्यक्तिमा बदलाको भावना दीर्घकालीन समस्या निम्त्याउने चेतावनी उनले दिइन्।
बदलाको भावना रोक्न सुझाव
१. व्यस्तता: रिस उठ्दा अन्य काममा व्यस्त रहनु।
२. ध्यान र योग: शारीरिक तथा मानसिक शान्तिका लागि ध्यान र योग गर्नु।
३. सिर्जनशीलता: घुमफिर, परिवारसँग समय बिताउनेजस्ता गतिविधिमा लाग्नु।
बदलाको भावना तत्काल नियन्त्रण नगरे जीवनभरि तनाव र मानसिक असन्तुलन निम्त्याउने भएकाले सचेत रहन मनोविज्ञहरुको सुझाव छ।



