No Image Headlineस्वास्थ्य/जिवनशैली

के हो मानसिक स्वास्थ्य समस्या, कसरी हुन्छ रोकथाम र उपचार ?

मानसिक स्वास्थ्य भन्नाले मानिसको भावनात्मक र सामाजिक तन्दुरुस्तीलाई बुझिन्छ, जसले हामीलाई कसरी सोच्ने, महसुस गर्ने र व्यवहार गर्ने, दैनिक कार्य कसरी गर्ने, कुनै समस्या आए त्यसलाई कसरी सामना गर्ने, दैनिक जीवनमा कसरी अरुसँग गाँस्ने भनेर जीवनको गुणस्तर कसरी विकास गर्ने भनेर बुझ्छौं।

यदि भावनात्मक, मनोवैज्ञानिक र सामाजिक जीवनमा नकारात्मक असर गरेर हाम्रो दैनिक कार्य, सामाजिक, व्यावसायिक तथा पारिवारिक जीवनमै असर गर्छ भने त्यसलाई मानसिक स्वास्थ्य समस्या भनिन्छ।

 

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार पनि बर्सेनि ८ लाख मानिसले आत्महत्या गर्ने गरेका छन्। अर्थात् प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गरेको पाइन्छ। करिब ८० प्रतिशत आत्महत्याको कारण नै मानसिक स्वास्थ्य समस्या हो यसमध्येको मु्ख्य कारण डिप्रेसन हो।

विश्वमा मृत्युको कारणमध्ये आत्महत्या १५ औं कारण रहेको छ। नेपालमा भने आर्थिक वर्ष २०८०÷८१ मा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेको तथ्यांक छ। जसअनुसार नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेका छन्। दिगो विकासको लक्ष्यले दैनिक आत्महत्याको दर ४.७ मा झार्ने भए पनि आत्महत्याको दर बढ्दै गएको छ।

यस्तै, नेपालमा कूल नसर्ने रोगको समस्यामध्ये १८ प्रतिशत मानसिक रोग रहेको पाइन्छ। अपांगता गराउने प्रमुख १० कारकमध्ये ४ वटा मानसिक स्वास्थ्य समस्या पर्छन्। राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल २०७७ को नतिजाअनुसार नेपालमा १३ देखि १७ वर्षका ५.२ प्रतिशत किशोरकिशोरीहरुमा मानसिक स्वास्थ्य समस्या देखिएको छ।

जसमा चिन्ताजन्य, डिप्रेसन र आत्महत्यासम्बन्धी सोचजस्ता समस्या रहेको पाइएको थियो। १८ वर्षभन्दा माथिका व्यक्तिहरुमा भने १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ, त्यसमा पनि सबैभन्दा बढीमा आत्महत्यासम्बन्धी सोच रहेको पाइएको छ।

के–के हुन् लक्षण?
मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिमा भावनात्मक परिवर्तन आउन सक्छन्। जस्तो, निराशापन आउने, काम गर्न मन नलाग्ने तथा स–साना कुरामा रिस उठ्ने हुन सक्छ। यस्तै, सोचमा समस्या आउन सक्छ। अनियन्त्रित विचार आउने, ध्यान केन्द्रित गर्न कठिनाइ हुने हुन्छ भने वास्तविकताविरुद्धका विश्वास सिर्जना हुन्छन्। जस्तोः कसैले आफूलाई हानी पु¥याउँन सक्छन् भनेर या आफू विशेष शक्तिको धारक भएको सोच आउन सक्छ। यसबाहेक साथीभाइ, परिवार र सामाजिक जीवनबाट टाढा रहने समस्या देखिन सक्छ।

मानसिक स्वास्थ्य भने पनि शारीरिक लक्षण पनि देखिन सक्छ। थकान हुने, शरीर झम्झमाउने, पोल्ने, दुख्ने, टाउको भारी हुने, खानपानमा परिवर्तन हुने, निन्द्रा कम लाग्ने या बढी लाग्ने, खानामा रुचि हट्ने या बढी खानेजस्ता लक्षण देखिन सक्छन्।

मानसिक रोगका कारण
मानसिक रोगका विशेषगरी तीन वटा कारण रहेको पाइन्छ– जैविक, मनोवैज्ञानिक र सामाजिक कारण। परिवारमा मानसिक रोगको पृष्ठभूमि भएकाहरुमा जोखिम बढ्न सक्छ भने मस्तिष्कको न्यूरो ट्रान्समिटरहरुको असन्तुलनले मूड र व्यवहारमा प्रभाव पर्न सक्छ।

अर्को हो मनोवैज्ञानिक कारण। केही व्यक्तित्व विशेषताहरुले मानसिक स्वास्थ्य समस्याहरुको लागि पूर्वनिर्धारित गर्न सक्छन्। यस्तै, तनावको प्रभावकारी सामना गर्ने उपायको कमी मानसिक स्वास्थ्य समस्यामा परिणत हुन सक्छ। अभिभावकको मृत्यु र पारिवारिक अस्थिरताजस्ता नकारात्मक अनुभवहरुले पनि मानसिक स्वास्थ्यमा असर पर्छ।

रोकथाम
सबैभन्दा महत्वपूर्ण कुरा भनेको सामाजिक जनचेतना नै हो। चेतना भयो भने रोगलाई समयमै उपचार गर्न सकिन्छ। अर्को कुरा, मानिसहरुले भावनात्मक र शारीरिक लक्षणलाई बुझ्नुपर्छ। भावना, व्यवहार र विचारमा परिवर्तन आइरहेको छ भने त्यसले दैनिक कामकाजमै असर गरिरहेको छ भने मनोचिकित्सकसँग परामर्श लिनुपर्छ।

उपचार 
परामर्श र मनोचिकित्सा: थेरापी वा परामर्शका माध्यमबाट भावनात्मक सहयोग प्रदान गरिन्छ भने मानसिक स्वास्थ्यका लागि उपयुक्त औषधिहरु प्रदान गरिन्छ। यस्तै, स्वस्थ आहार, नियमित व्यायाम र पर्याप्त निन्द्राजस्ता जीवनशैलीमा परिवर्तन गर्ने सल्लाह दिइन्छ।

तनाव व्यवस्थापनका लागि ध्यान, योग र मानसिक शान्तिका अभ्यास गर्न सकिन्छ। नयाँ सीप सिक्ने र आफ्नो रुचिका गतिविधिहरुमा संलग्न हुँदा पनि तनाव व्यवस्थापनमा सघाउ पुग्छ। यस्तै, आत्मस्वीकृति र सकारात्मक विचारमा ध्यान केन्द्रित गर्नुपर्छ।

काम र पारिवारिक जीवनमा सन्तुलन कायम गर्नुपर्छ। तनावलाई सामना गर्ने क्षमता हुनुपर्छ। कतिपय अवस्थामा तनावको सामना गर्ने क्रममा नकारात्मक कार्य गर्ने गरिन्छ। जस्तो, तनाव छ भनेर नसा, मदिरा सेवन गर्ने गरिन्छ, जुन गलत हो।

मानसिक रोगसम्बन्धी भ्रम र यथार्थ
मानसिक स्वास्थ्य समस्या हुने विभिन्न कारण हुन्छन्। कतिपय मानिसमा मानसिक रोग केवल कमजोर मानिसलाई मात्र हुन्छ भन्ने भ्रम रहेको पाइन्छ, जुन ठीक होइन। यस्तै, अर्को मानसिक रोग दीर्घकालीन हुन्छ भन्ने भ्रम पनि रहेको पाइन्छ। तर, केही मानसिक स्वास्थ्य समस्याहरु उपचारपछि ठीक हुन सक्छन्। सही उपचारले मानिसहरुलाई सामान्य जीवनमा फर्कन मद्धत गर्दछ। मानसिक रोगको उपचार गर्न औषधिमात्र आवश्यक हुन्छ भन्ने गरिन्छ। तर, औषधिसँगै मनोचिकित्सा र थेरापी पनि महत्वपूर्ण हुन्।

यस्तै, मानसिक रोगका बारेमा कुरा गर्दा कलंक लाग्छ भन्ने भ्रम मानिसहरुमा पाइन्छ। यथार्थ के हो भने मानसिक स्वास्थ्यका बारेमा खुल्ला कुरा गर्दा समाजमा जागरुकता बढ्छ र मानिसहरुलाई सहयोग खोज्न प्रोत्साहित गर्छ।

यसैगरी, मानसिक रोग केवल चिन्ता र अवसाद हो भन्ने सोच पनि कतिपयमा पाइन्छ। तर, मानसिक रोग धेरै प्रकारका हुन्छन्। जस्तै, स्किजोफ्रेनिया, बाइपोलार डिस्अर्डर, खानासम्बन्धी विकारहरु आदि।

मानसिक रोगको औषधि प्रयोग गर्दा बानी लाग्छ, सधैं खानुपर्छ भन्ने भ्रम पनि रहेको पाइन्छ। तर, औषधिहरु प्रभावकारी हुन्छन् र तिनीहरुलाई सही रुपमा प्रयोग गर्दा जोखिम कम हुन्छ र औषधि रोक्ने बेलामा चिकित्सकको सल्लाह अनिवार्य छ।

नर्भिक अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी उपचार गर्ने साइकोलोजिस्ट, साइक्रियाटिकहरु उपलब्ध छन्। नियमित ओपीडीका अतिरिक्त भर्ना गरेर राख्ने र उपचार गर्ने गरिन्छ। यहाँ सबैभन्दा धेरै आउने बिरामीहरु एन्जाइटी र डिप्रेसनका हुने गर्छन्। त्यसबाहेक स्किजोफ्रेनिया, मादक पदार्थ सेवन गरेका र बाइपोलार डिस्अर्डर भएकाहरु बढी आउने गर्छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button