No Image Headlineअन्तराष्ट्रियमुख्य खबरस्वास्थ्य/जिवनशैली

एमपक्सको हालसम्मकै सबैभन्दा खतरनाक भेरिअन्ट, डब्ल्यूएचओ भन्छ-विश्वव्यापी जनस्वास्थ्य संकटकाल

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अफ्रिकाका कतिपय ठाउँमा देखा परेको एमपक्सको प्रकोपलाई विश्वव्यापी जनस्वास्थ्य सङ्कट भनेको छ।

विगतमा मङ्किपक्स भनिने अति सङ्क्रामक उक्त रोगको प्रारम्भिक प्रकोपका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा कम्तीमा ४५० जनाले ज्यान गुमाएका छन्।

हाल सो रोग मध्य तथा पूर्वी अफ्रिकामा विस्तार भएको छ र वैज्ञानिकहरू यसको एउटा नयाँ भेरिअन्टको सर्ने द्रुत गति र त्यसलाई निम्त्याइरहेको उच्च क्षतिको दरलाई लिएर चिन्तित छन्।

डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले एमपक्स अफ्रिका र त्योभन्दा पर विस्तार हुनसक्ने सम्भावना ज्यादै चिन्ताको विषय भएको बताए। उनले भने, यो प्रकोपलाई रोक्न र जीवन रक्षा गर्नका लागि एउटा समन्वयकारी अन्तर्राष्ट्रिय प्रतिक्रिया अत्यावश्यक छ।

कसरी सर्छ ?

एमपक्स यौन संसर्ग, छालासँग सम्पर्कमा आउने वा अर्को व्यक्तिको नजिकै बोल्दा वा सास लिँदा नजिकको सम्पर्क कायम भएको अवस्थामा सर्ने गर्छ।

यसले रुघा खोकी जस्तो लक्षण देखाउँछ। छालामा चोट देखा पर्छ र यो ज्यादै घातक हुनसक्छ। १०० वटा एमपक्सका घटनामध्ये ४ मा ज्यान गएको बताइन्छ। एमपक्सका दुईवटा मुख्य प्रकारहरू छन्। त्यसमा क्लेड १ र क्लेड २ पर्छन्।

यसअघि सन् २०२२ मा पनि एमपक्सलाई जनस्वास्थ्य सङ्कटका रूपमा घोषणा गरिएको थियो। कम घातक ठानिने क्लेड २ प्रकारको भेरिअन्टका कारण त्यस्तो गर्नुपरेको थियो।

तर अहिले त्यो भन्दा धेरै घातक क्लेड १ भेरिअन्ट देखा परेको छ। त्यसले विगतमा प्रकोप देखिँदा बिरामी पर्नेमध्ये १० प्रतिशतको ज्यान लिइसकेको छ र यो बढ्दो क्रममा छ।

अघिल्लो वर्षको सेप्टेम्बर आसपासमा उक्त भाइरसमा केही परिवर्तन देखा परेको थियो। उत्परिवर्तनहरू म्युटेसन्सबाट नयाँ खालको प्रजाति क्लेड १ बी उत्पन्न भएको थियो जुन त्यसयता तीव्र गतिमा फैलिरहेको छ। एक जना वैज्ञानिकले यसलाई हालसम्मकै सबैभन्दा खतरनाक भेरिअन्ट भनेका छन्।

यो वर्षको सुरुवातदेखि यता प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एमपक्सका १३,७०० घटना भएका छन् जसमा कम्तीमा ४५० को ज्यान गएको छ। त्यसयता यो सङ्क्रमण बुरुन्डी, मध्य अफ्रिकी गणतन्त्र, केन्या र रुवान्डा जस्ता देशमा पनि देखा परिसकेको छ।

एमपक्सलाई जनस्वास्थ्य सङ्कटका रूपमा घोषणा गरिँदा त्यसले अनुसन्धानतर्फ उन्मुख गराउने, स्रोतहरूको लागि बाटो खोल्ने र अन्य अन्तर्राष्ट्रिय जनस्वास्थ्य सम्बन्धी कदमहरू तीव्र अघि बढाउन थालनी हुनसक्ने अपेक्षा गरिएको छ।

विज्ञहरू के भनिरहेका छन् ?

वेलकम ट्रस्टकी डाक्टर जोसी गोल्डिङका अनुसार उक्त निर्णयले बलियो सन्देश दिएको छ। इमोरी युनिभर्सिटीकी डाक्टर बोघुमा टिटानजीले उक्त कदमले सो सङ्कटको गम्भीरतालाई प्रकट गरेको बताइन्।

अक्सफर्ड विश्वविद्यालयकी प्राध्यापक तथा ग्लोबल हेल्थ नेटवर्ककी निर्देशक प्राध्यापक ट्रुडी लाङले सो महत्त्वपूर्ण निर्णय समयमै गरिएको बताइन्।

तर उनले नयाँ प्रजातिको भाइरस देखिनुको अर्थ अहिलेसम्म जानकारी नभएका कैयौँ कुरा सम्बोधन गर्नुपर्ने परिस्थिति उत्पन्न भएको बताइन्।

सन् २०२२ को जुलाईमा मध्यम खालको एमपक्सको प्रकार “क्लेड २’ युरोप र एशियाका केहीसहित लगभग १०० देशमा विस्तार भएको थियो।

त्यो द्रुत गतिमा फैलिएको थियो र त्यसबेला ८७ हजारभन्दा बढी सङ्क्रमणका घटना प्रकाशमा आएका थिए। डब्ल्यूएचओको गणनामा उक्त प्रकोपले १४० जनाको ज्यान लिएको थियो।

मङ्किपक्स जो कोहीलाई लाग्नसक्ने बताइन्छ। तर अर्को पुरुषसँग यौन सम्पर्क राख्ने पुरुषहरूमा यो सङ्क्रमण बढी फैलिएको पाइएको थियो।

मङ्गलवार अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन्सले उक्त रोगका कारण जनस्वास्थ्य सङ्कटकाल लगाएको थियो। उक्त संस्थाका प्रमुख डाक्टर जान कसेयले तत्कालै कदमहरू नचालिएको खण्डमा अहिलेको प्रकोप नियन्त्रण बाहिर जाने बताए। बीबीसी

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button