के हो आइभीएफ प्रविधि, कुन उमेरका महिलाले यो प्रविधिबाट बच्चा जन्माउन सक्छन् ?

यसै साता ५२ वर्षीया एक महिलाले आईभीएफ इन भिट्रो फर्टिलाइजेसनमार्फत् काठमाडौंस्थित एक निजी अस्पतालमा एक छोरालाई जन्म दिइन्। उनको उपचारमा संलग्न आईभीएफ विशेषज्ञ डाक्टर नूतन शर्माका अनुसार विवाहको २८ वर्षसम्म गर्भधारण गर्न नसकेकी ती महिलाले महिनावारी रोकिएको चार वर्षपछि बच्चा जन्माएकी हुन्। ती महिलाका श्रीमान् ६१ वर्षका छन्।
विवाह समयमै भए पनि धेरै वर्षसम्म बच्चा नभएपछि उनीहरू आएका थिए, पहिलो प्रयासमै गर्भधारण भएर बच्चा भयो, बीएन्डबी आईभीएफ सेन्टरकी निर्देशकसमेत रहेकी डाक्टर शर्माले भनिन्। नेपालमा यसअघि ५६ वर्षकी महिलाले पनि आईभीएफमार्फत् नै बच्चा जन्माएकी थिइन्।
पछिल्लो समय खासगरी बढ्दो उमेरका कारण हुने बाँझोपन वा पुरुषको शुक्राणु कम भएर गर्भधारण हुन नसकेका दम्पती आईभीएफ प्रविधिको सहायताले बच्चा जन्माउन आउने गरेको चिकित्सकहरू बताउँछन्। उमेर बढ्दै जाँदा आईभीएफ विधि प्रयोग गरे पनि गर्भधारण गर्न किन कठिन हुन्छ ?
डाक्टर शर्मा भन्छिन्, उमेर पुगिसकेपछि पाठेघर ग्रहणशील हुन्न, कतिलाई मधुमेह, थाइराइड भएको हुन्छ अरूलाई अरू किसिमका रोगहरू लागिसकेको हुन्छ, त्यसैले उमेर बढ्दै जाँदा बच्चा पाउने काम गाह्रो बन्दै जान्छ।
कसरी शुरु भयो यो प्रविधि ?
गर्भाधानको आईभीएफ विधि करिब ४६ वर्ष अघि सन् १९७८ मा सुरु भएको थियो। त्यति बेला लेस्ली ब्राउन नाम गरेकी एक महिलाले विश्वको पहिलो टेस्ट ट्यूब बेबीलाई जन्म दिएकी थिइन्।
युगान्डाकी ७० वर्षीया सफिना नामुकवाईले पनि आईभीएफ प्रविधिबाटै जुम्ल्याहा बच्चा जन्माएकी छन्। अफ्रिकी महादेशमा बच्चा जन्माउने सबैभन्दा वृद्ध महिलामध्ये सफिना एक हुन्।
अफ्रिका मात्रै नभई विश्वका थुप्रै ठाउँमा उमेर पुगिसकेका दम्पतीले आईभीएफ प्रयोग गरेर सन्तान जन्माउने क्रम बढेको चिकित्सकहरू बताउँछन्।
आईभीएफ प्रक्रिया के हो ?
यो विधिमा प्रायः एकभन्दा बढी बच्चा अर्थात् जुम्ल्याहा वा तीन बच्चा जन्माउने सम्भावना हुन्छ। यसको कारणबारे बताउँदै डाक्टर शर्मा भन्छिन्, भ्रूण हाल्ने बेलामा एउटा हाल्यो भने सक्सेस रेट २०/२५ प्रतिशत हुन्छ, दुई वटा हाल्यो ५० प्रतिशत सम्म पुग्छ र तीन वटा हाल्यो भने ७० प्रतिशत सम्म हुन्छ।
इन भिट्रो फर्टिलाइजेसन आईभीएफ प्रजनन समस्या भएका व्यक्तिहरूलाई बच्चा जन्माउन मद्दत गर्न प्रचलित धेरै प्रविधिहरूमध्ये एक हो। आईभीएफ प्रक्रियामा महिलाको अण्डाशयबाट अण्डा निकालेर प्रयोगशालामा शुक्राणुले निषेचित गरिन्छ।
त्यसरी बनेको भ्रूणलाई महिलाको गर्भमा हालिन्छ, ताकि भ्रूण बढ्न र विकास हुन सकोस्। यो विधिमा दम्पतीले आफ्नो अण्डा र शुक्राणुको प्रयोग गर्न वा दाताको डिम्ब र शुक्राणुको प्रयोग गर्न सक्छन् ।
आईभीएफ प्रक्रिया कसका लागि हो ?
सन्तान नभएका धेरै दम्पतीले यो प्रविधिको प्रयोग गरेर सन्तान जन्माउने गरेको र त्यो सङ्ख्या पछिल्ला वर्षमा नेपालमा पनि बढ्दै गएको डाक्टर नूतन शर्मा बताउँछिन्।
मैले नेपालमा आईभीएफको अभ्यास गर्न थालेको १५ वर्ष भयो, यो अवधिमा सेवा लिन आउने मानिसको सङ्ख्या दोबरले बढेको छ, उनले भनिन्। काठमाडौबाहिर पनि नेपालगन्ज र धनगढीमा म बिरामी हेर्न गइरहन्छु। ढिलो विवाह गरेका कारण बाँझोपन हुने वा पुरुषमा शुक्राणु कम हुने समस्या देखिन्छ। तर त्यसबाहेक सङ्क्रमणका कारण र ट्यूब ब्लक भएका कारण पनि सन्तान जन्माउन गाह्रो हुन्छ।
बाँझोपन भएका र शुक्राणु कम भएका पुरुषबाहेक पछिल्लो हुर्किसकेका सन्तान गुमाएका आमाबुवा आईभीएफ गर्न आउने गरेको उनले बताइन्। कतिपय ४५/५० वर्षमा आउने आमाबुवाको या त विवाह ढिलो भएको हुन्छ वा बच्चा बितिसकेको हुन्छ, उनले भनिन्। हालै मैले हेरेका धेरै केसहरूमा २०/२२ वर्षका छोराछोरी या त रोगले वा दुर्घटनामा परेर बितेपछि फेरि सन्तानको चाह भएर आउनेहरू हुनुहुन्छ।
आईभीएफले कसरी काम गर्छ ?
सबैभन्दा पहिले त महिलाको प्राकृतिक रजस्वला चक्रलाई औषधिले रोक्छ। त्यसपछि महिलाको अण्डाशयले एकभन्दा बढी अण्डा उत्पादन गर्न सक्छ, जसका लागि औषधि दिइन्छ।
यो प्रक्रियाले कति काम गरिरहेको छ अर्थात् अण्डा परिपक्व भइरहेको छ कि छैन भनेर हेर्नको लागि अल्ट्रासाउन्ड स्क्यानहरूमार्फत् निगरानी गरिन्छ। डाक्टरहरूले आवश्यकता अनुसार परिपक्व अण्डालाई औषधि दिन्छन्।
महिलाको योनीबाट अण्डाशयमा सुई हालेर अण्डा सङ्कलन गरिन्छ। अण्डालाई केही दिनसम्म शुक्राणुसँग मिसाएर निषेचित गर्न सकिन्छ। त्यसपछि महिलाको गर्भमा दुईरतीन वटा निषेचित अण्डा भ्रूण राखिन्छ।
एक पटक भ्रूणलाई महिलाको गर्भमा स्थानान्तरण गरिसकेपछि, प्रक्रियाले काम गरेको छ कि छैन भनेर दुई हप्तासम्म निगरानी गरिन्छ। त्यसपछि नियमित गर्भ परीक्षण गरिन्छ।
आईभीएफमार्फत् बच्चा जन्माउन कति खर्च लाग्छ ?
आईभीएफमा पहिलो पटकमा औसत तीन लाख रुपैयाँ लाग्छ। यदि पहिलो पटक सफल भएन भने दम्पती दोस्रो पटक आउँदा एकदेखि डेढ लाख रुपैयाँमा हामी आईभीएफ गर्ने गर्छौँ, डाक्टर शर्माले भनिन्।
कुन उमेरमा आईभीएफले राम्रो काम गर्छ ?
आईभीएफ प्रक्रियाले कति सफलतापूर्वक काम गर्छ भन्ने कुरा महिलाको उमेर र उसको बाँझोपनको कारणमा निर्भर गर्ने बताइन्छ। कम उमेरका महिलाहरूमा सफल गर्भधारण गर्ने सम्भावना बढी हुन्छ।
आईभीएफ प्रक्रिया सामान्यतया ४३ वर्षभन्दा बढी उमेरका महिलाहरूको लागि सिफारिस गरिएको छैन। किनभने त्यो उमेरपछि सफल गर्भधारणको सम्भावना निकै कम मानिन्छ।
तर त्योभन्दा बढी उमेरका दम्पतीको सन्तान चाहने इच्छालाई पनि सम्मान गरिनुपर्ने कतिपय तर्क गर्छन्। सन् २०१९ मा बेलायतमा सफल आईभीएफ प्रक्रियाको प्रतिशत अर्थात् जीवित जन्महरू यस प्रकार छन् :
- ३५ वर्षभन्दा कम उमेरका महिलाहरूको लागि, ३५ प्रतिशत
- ३५ देखि ३७ वर्ष उमेर समूहका महिलाका लागि २५ प्रतिशत
- ३८ देखि ३९ वर्ष उमेर समूहका महिलामा १९ प्रतिशत
- ४० देखि ४२ वर्ष उमेर समूहका महिलामा ११ प्रतिशत
- ४३ देखि ४४ वर्ष उमेर समूहका महिलामा पाँच प्रतिशत
- ४४ वर्षभन्दा माथिका चार प्रतिशत महिला
यो आँकडा आफ्नै अण्डा र साथीको शुक्राणु प्रयोग गर्ने महिलामा भ्रूण स्थानान्तरणको दरमा आधारित थियो। साथै स्वस्थ वजन कायम राख्नुका साथै उपचारको क्रममा रक्सी, धूम्रपान र क्याफिनबाट टाढा रहनुले आईभीएफको माध्यमबाट बच्चा जन्माउने सम्भावना बढाउन सक्छ।
नेपालमा भने आईभीएफ गरेर गर्भधारण गर्ने सफलता दर ७० प्रतिशतसम्म रहे पनि घरमा स्वस्थ बच्चा लिएर ५० प्रतिशत दम्पती जाने गरेको आफ्नो अनुभव रहेको डाक्टर नूतनले बताइन्।
आईभीएफको जोखिम
आईभीएफले सधैँ काम नगर्न सक्छ। अर्थात् गर्भावस्थामा भ्रूण परिपक्व नहुन सक्छ। यस्तो अवस्थामा आमाको शारीरिक तन्दुरुस्ती त्यति नै महत्त्वपूर्ण हुन्छ।
यस कारण आईभीएफ दिइएकाहरूलाई यस प्रक्रियाको क्रममा परामर्श दिइन्छ। आईभीएफ प्रक्रियाको क्रममा दिइएका औषधिहरूको केही साइड इफेक्टहरू हुन्छन्। टाउको दुख्ने समस्या पनि हुन सक्छ।
फेरि, यो विधिमा प्रायः एकभन्दा बढी बच्चा अर्थात् जुम्ल्याहा वा तीन बच्चा जन्माउने सम्भावना हुन्छ। यसको कारणबारे बताउँदै डाक्टर शर्मा भन्छिन्, भ्रूण हाल्ने बेलामा एउटा हाल्यो भने सक्सेस रेट २०/२५ प्रतिशत हुन्छ, दुई वटा हाल्यो ५० प्रतिशत सम्म पुग्छ र तीन वटा हाल्यो भने ७० प्रतिशत सम्म हुन्छ। त्यही भएर हामीले दम्पतीलाई सोध्छौँ।
आफूहरूले प्रक्रिया बुझाएपछि सेवाग्राहीको सल्लाह अनुसार भ्रूण कति वटा हाल्ने भन्ने निर्णय गरिने र कहिलेकाहीँ तीन वटा भ्रूण हाल्दा तीन वटा सम्म सन्तान जन्मिने उनले बताइन्। प्राय दम्पतीले बरु जुम्ल्याहा भए हुन्छ तर सक्सेस रेट धेरै होस् भन्नुहुन्छ, उनले भनिन्। बीबीसी साभार



