No Image Headlineदेशस्वास्थ्य/जिवनशैली

नेपालमा किन बढिरहेको छ एकल परिवार ? यस्ता छन् फाइदा र बेफाइदा

नेपालमा एकल परिवारको सङ्ख्या बढ्दै गएको पछिल्लो जनगणना प्रतिवेदनले देखाएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा हाल ६०.०७ प्रतिशत एकल र ३९.९३ प्रतिशत संयुक्त परिवार रहेका छन्।

देशको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेकोमा पुरुष ४८.९८ प्रतिशत र महिला ५१.०२ प्रतिशत रहेका छन्। सरकारी अधिकारी तथा विज्ञहरूले एकल परिवारको सङ्ख्या बढ्दै जानु स्वाभाविक भएको र त्यसका फाइदा एवं बेफाइदा दुवै रहेको बताएका छन्।

अघिल्लो जनगणना २०६८ को तुलनामा नेपालमा परिवारको सङ्ख्या बढेको पाइएको छ। त्यो भनेको परिवारहरू संयुक्तबाट एकलमा टुक्रिने क्रम बढेको छ। जनसङ्ख्या नै बढेर परिवार सङ्ख्या बढेको भने होइन, राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता हेमराज रेग्मीले भने।

नेपालीहरू परम्परागत रूपमा संयुक्त परिवारमा बस्दै आएका देखिए पनि पछिल्लो दशकमा एकल परिवार बढ्दै जानुका विभिन्न कारण रहेका जानकारहरू बताउँछन्। मानिसहरू उच्च तहको अध्ययनदेखि रोजगारीका सिलसिलामा गाउँबाट शहर पुग्ने गरेका छन्।

धेरै चलायमान हुँदै गएपछि मानिसहरू संयुक्त परिवारबाट एकल परिवारतिर जान्छन्, त्रिभुवन विश्वविद्यालयस्थित जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्राध्यापक योगेन्द्रबहादुर गुरुङले भने। उदाहरणका लागि कोही गाउँ छोडेर काठमाडौं आएपछि यतै जागिर खायो, बिहे गर्‍यो र बालबच्चा पनि जन्मायो। एकल परिवार त्यहीँबाट शुरू भयो।

तथ्याङ्क कार्यालयस्थित उपप्रमुख तथ्याङ्क अधिकारी समेत रहेका रेग्मीका अनुसार बसाइँसराइको प्रवृत्ति हेर्दा अवसरको खोजी, सेवासुविधामा पहुँचका निम्ति नेपालीहरू नयाँ ठाउँमा जाने तर पुरानो ठाउँ पूर्ण रूपमा नछोड्ने गरेका देखिन्छ। आमाबुवाहरू पुरानै ठाउँमा बस्ने तर छोराबुहारी, नातिनातिना शहर वा तराई बस्ने प्रवृत्ति देखिएकोले एकल परिवार बढ्नु स्वाभाविक नै हो जस्तो लाग्छ, उनले थपे।

तराई मधेशको तुलनामा हिमाली तथा पहाडी क्षेत्रमा एकल परिवारको सङ्ख्या धेरै बढेको जनगणना प्रतिवेदनले देखाएको छ। त्यसो हुनुमा रोजगारीका अवसर एवं सेवा सुविधा नै प्रमुख कारण रहेको जानकारहरू बताउँछन्।

भौगोलिक हिसाबले दुर्गम एवं सेवा सुविधा अलि कम हुने ठाउँमा पुरानो पुस्ता बसिरहेको तथ्याङ्कले देखाउँछ, प्रवक्ता रेग्मीले भने। बसोबासको हिसाबले सुरक्षित ठाउँमा पनि मानिसहरू बसाइँसराइ गर्ने गरेका र जनसाङ्ख्याको बनोट विकाससँग सम्बन्धित भएको प्राध्यापक गुरुङ बताउँछन्।

फाइदा र बेफाइदा के छन् ?

पछिल्लो समय एकल परिवारको सङ्ख्या बढ्दै जानुलाई नकारात्मक रूपमा मात्र हेर्न नहुने जानकारहरूको तर्क छ। एकल परिवार हुनुका फाइदा पनि र बेफाइदा पनि रहेका उनीहरू बताउँछन्।

चुस्त परिवार हुन्छ, सबै कामकाजी हुन्छन्। उत्पादकत्व बढ्ने भयो। बसिखाने मात्र मान्छे हुँदैनन्, फाइदाबारे प्राध्यापक गुरुङ भन्छन्। यसको नकारात्मक पक्षको कुरा गर्दा वृद्ध जनसङ्ख्यालाई समस्या बढ्न सक्छ। हेरचाह, स्याहारसुसारमा कमी आउन सक्छ। त्यसलाई अरू ढङ्गले सोच्नुपर्ने हुन्छ, उनी थप्छन्।

तथ्याङ्क कार्यालयका प्रवक्ता रेग्मीका अनुसार एकल परिवारको सङ्ख्या बढ्दै जाँदा सामाजिक एवं सांस्कृतिक हिसाबले त्यसको बेफाइदा हुन सक्छ। दुर्गम क्षेत्रमा बस्नेहरू मूलतः बुढ्यौली उमेरका अनि आर्थिक रूपले निष्क्रिय हुने भएकाले आर्थिक क्रियाकलाप सुस्त हुने भयो, उनी भन्छन्।

भएका खेतबारी बाँझो रहने भए, मर्दापर्दा सहयोग गर्ने मान्छे नहुने भए। अर्कोतर्फ जहाँ बसाइँसराइ गरेर गए त्यहाँ भएका स्रोतसाधनले नपुग्ने खालका समस्या चाहिँ देखिने भए। यद्यपि आर्थिक हिसाबले फाइदा पनि हुने रेग्मीको तर्क छ। आर्थिक हिसाबले के फाइदा देखिएको छ भने मान्छेहरू जब बसाइँसराइ गर्छन् तब क्रियाशील हुन्छन्।

नयाँ ठाउँमा जाँदा जातीय, धार्मिक विभेद लगायतका कतिपय कुरीति बसाइँसराइ गरेका मानिसका लागि केही कम हुन सक्ने उनको ठम्याइ छ। पूर्ण रूपमा त्यस्ता कुरीति निर्मूल नै त हुँदैन। तर केही हदसम्म नयाँ मान्छेका लागि कम हुन सक्छ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button