अन्तराष्ट्रिय

युक्रेन विवादमा मुछिएको रुसमाथि कस्ता प्रतिबन्ध लाग्न सक्दछन् ?

विद्रोही नियन्त्रित युक्रेनका दुईवटा क्षेत्रलाई स्वतन्त्र भएको मान्यता दिएपछि संयुक्त राज्य अमेरिका, यूके र तिनीहरूका अरू साझेदारले रुसमाथि प्रतिबन्ध लगाएका छन्।

यद्यपि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमले पश्चिमा देशहरूले तयारी गरे अनुरूप पूर्ण रूपमा प्रतिबन्ध लगाउने अवस्था चाहिँ सिर्जना गरिसकेको छैन।

प्रतिबन्ध भनेको एउटा देशले अर्कोलाई दिने एउटा सजाय हो जुन प्रायः कुनै देशको आक्रामक कदमलाई रोक्न अथवा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्ने कार्यविरुद्ध हुने गर्छ।

प्रतिबन्ध प्रायः कुनै देशको अर्थतन्त्रमा अथवा अग्रणी राजनीतिज्ञजस्ताको व्यक्तिगत सम्पत्तिमा असर पुर्‍याउन लगाउने गरिन्छ। त्यसमा यात्रा तथा अस्त्रहरूको किनबेचमाथि प्रतिबन्ध पर्न सक्छ।

युरोपेली सङ्घ ईयूले ब्याङ्कहरूसहित संस्था र व्यक्ति गरी २७ माथि प्रतिबन्ध लगाइरहेको छ। उसले युरोपेली पुँजी बजारमा पहुँचलाई सीमित बनाउने र ईयू तथा विद्रोही नियन्त्रित दुई क्षेत्रबीच व्यापारमा प्रतिबन्ध पनि लगाउँदैछ।

रुसी संसद्‌को तल्लो सदन डुमाका सबै ३५१ सदस्यलाई नाकाबन्दीले निशाना बनाउँदैछ। अमेरिकाले विद्रोही नियन्त्रित युक्रेनका लुह्यान्सक र डोनेट्स्क क्षेत्रसँग व्यापार गर्न अमेरिकीहरूलाई प्रतिबन्ध लगाएको छ।

यूकेका प्रधानमन्त्री बोरिस जोन्सनले पाँचवटा रुसी ब्याङ्क तथा रुसका तीनजना सम्पन्न व्यापारीमाथि प्रतिबन्ध घोषणा गरेका छन्। जर्मन चान्सलर ओलाफ शोल्ट्सले नोर्ड स्ट्रीम २ पाइपलाइन भएर रुसबाट जर्मनी आउने ग्यास रोक्न आदेश दिएका छन्।

रुसले युक्रेनमाथि अतिक्रमण गरे कठोर प्रतिबन्धहरू लगाउने पश्चिमा देशहरूले चेतावनी दिएका छन्। संसारभरि हजारौँ वित्तीय निकायहरूले प्रयोग गर्दै आएको विश्वव्यापी आर्थिक मेसेज सेवा स्विफ्टबाट रुसलाई अलग पार्ने एउटा कदम हुनसक्छ।

विदेशमा कारोबार गर्नका निम्ति यो कदम रुसी ब्याङ्कहरूका निम्ति निकै कठोर हुनसक्छ। अमेरिकाले रुसलाई अमेरिकी डलरबाट कारोबार गर्ने कार्यमा प्रतिबन्ध लगाउन सक्छ।

रुससँग कारोबार गर्ने कुनै पनि पश्चिमा संस्थाले डलरमा लेनदेन गरे दण्डको सामना गर्नुपर्ने हुनसक्छ। यो कदमको रुसी अर्थतन्त्रमाथि ठूलो असर पर्नसक्छ। किनकि तेल र ग्याससम्बन्धी रुसी कारोबार डलरमै हुने गर्छ।

अमेरिकाले रुसी ब्याङ्कहरूलाई कालोसूचीमा राख्न पनि सक्छ। त्यो भएमा अन्तर्राष्ट्रिय कारोबार गर्न तिनीहरूलाई लगभग असम्भव नै हुन्छ।

महँगी बढ्न नदिन तथा आय घट्न नलिन मस्कोले वित्तीय संस्थाहरूलाई आर्थिक सहायता उपलब्ध गराउनुपर्ने हुनसक्छ। यद्यपि ती संस्थामा रकम भएका पश्चिमा लगानीकर्ताहरू पनि यो कदमबाट प्रभावित हुनसक्छन्।

पश्चिमा देशहरूले आधुनिक प्रविधियुक्त सामानको निर्यातमा प्रतिबन्ध लगाउन सक्छन्। उदाहरणका लागि अमेरिकाले सेमिकन्डक्टर माइक्रोचिप्स विक्रीमा कम्पनीहरूलाई रोक लगाउन सक्छ। कारदेखि स्मार्ट फोनसम्ममा त्यसको प्रयोग हुन्छ।

रुसी अर्थतन्त्र ग्यास तथा इन्धन विक्रीमा ठूलो स्तरमा निर्भर गर्छ। पश्चिमा लगायतका देशले ग्यास तथा इन्धन खरिद गर्न अस्वीकार गर्न सक्छन्।

यद्यपि यो कदमले युरोपमा ग्यासको मूल्यमा वृद्धि गराउन सक्छ र इन्धनको अभाव निम्त्याउन सक्छ। त्यसैगरी लन्डनस्थित वित्तीय संस्थामा रुसी पहुँच सीमित तुल्याउने कदम हुनसक्छ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button