मौद्रिक नीतिको समीक्षामा सिबिफिनको निष्कर्ष : पर्ख र हेर
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पर्ख र हेरको रणनीति अवलम्बन गरेको टिप्पणी गर्दै समसामयिक चुनौतीहरूको समाधानका लागि थप लचिलो नीति आवश्यक रहेको बताएको छ। परिसंघले जारी गरेको विज्ञप्तिमा नेपाल राष्ट्र बैंकको पहलले अर्थतन्त्रका बाह्य सूचकहरूमा सकारात्मक सुधार आएको भए पनि आन्तरिक सूचकहरू कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ।
वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता राजेश उपाध्यायद्वारा जारी वक्तव्यमा भनिएको छ, “मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व कायम राख्न मौद्रिक नीतिका हालका व्यवस्थाहरू प्रभावकारी देखिए पनि बैंक तथा वित्तीय संस्थाहरूको खराब तथा निष्क्रिय कर्जा बढ्दो छ। कर्जा लगानीमा अपेक्षित प्रगति नभएको, आन्तरिक माग घटेको, र पूँजीगत खर्च प्रभावकारी रूपमा सञ्चालन नभएको वर्तमान अवस्थामा मौद्रिक नीतिको समीक्षाले विगतकै कार्यदिशालाई निरन्तरता दिनुले थप चासो बढाएको छ।”
परिसंघले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र न्यून ब्याजदरको वातावरणले लगानी विस्तारको सम्भावना सिर्जना गरेको भए पनि अर्थतन्त्रलाई गतिशील बनाउन राष्ट्र बैंकले आगामी समीक्षामा थप नीतिगत सहजता अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ।
हालै नेपालले सार्वभौम साख मूल्याङ्कनमा प्राप्त गरेको सन्तोषजनक नतिजाले लगानीको लागि ठूलो अवसर सिर्जना भएको भन्दै परिसंघले राष्ट्र बैंकको भावी समीक्षाहरूले समयानुकूल कदम चाल्ने अपेक्षा व्यक्त गरेको छ।
परिसंघले मौद्रिक नीतिले आमरूपमा आशा जगाए पनि आर्थिक गतिविधिहरूले आशातित गति लिन नसकेको उल्लेख गर्दै आगामी समीक्षामा निजी क्षेत्रको मनोबल उच्च बनाउन आवश्यक उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ।
यसैबीच, परिसंघले लचकता अपनाएर अर्थतन्त्रलाई जीवन्त बनाउन राष्ट्र बैंकबाट आगामी दिनमा थप सहज नीति र उपायहरू आउने विश्वास व्यक्त गरेको छ।