सुन तस्करी प्रकरण : समय गुजारेर अनुसन्धान, मुद्दा कमजोर बनाउँदै पुर्याइयो अदालत
राजस्व अनुसन्धान विभागले राजस्व चुहावटका मुद्दामा बढीमा ९ महीनामा अनुसन्धान टुंगो लगाउनुपर्ने कानूनी व्यवस्था छ । शुरुमा ६ महीनामा र त्यसपछि ३ महीना समय थपेर त्यो समयसीमाभित्र अनुसन्धान सक्नुपर्ने हुन्छ ।
तर, अनुसन्धानको पथलैया कार्यालयले मुद्दा कमजोर बनाउन एक वर्ष समय लगाएर अनुसन्धान गरी मुद्दा चलाएको पाइएको छ । सो कार्यालयले वीरगञ्ज महानगरपालिका वडा नं. ६ स्थित आर के एण्ड सन्सका प्रोप्राइटर सन्दीप सर्राफविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा यही मंसिर ६ गते मुद्दा हालेको हो ।
जब कि, २०८० मंसिरमा सो कारोबार स्थलमा राजस्व अनुसन्धानले छापा मारेको थियो । त्यतिबेला २ ओटा फर्ममा छापा मारेकोमा अर्को फर्मको अनुसन्धान अझै टुंगो लागेको छैन ।
राजस्व अनुसन्धानले सर्राफविरुद्ध १२ करोड ६७ लाख ६८ हजार बिगो र शत प्रतिशत जरीवनासहित कैद सजाय माग दाबी गरेको छ । प्रोप्राइटर सर्राफ फरार रहेका छन् । शुरूआतमा २४ करोड हाराहारीमा बिगो अनुमान गरिएकोमा अनुसन्धानले त्यसलाई घटाउँदै करीब आधामा झारेको हो ।
छापा मारेलगत्तै मिलाउन मोलमोलाई भएकोमा र पथलैया कार्यालयदेखि विभागसम्म दौडधूप चलेको थियो । यसबीचमा ३ जना कार्यालय प्रुमख फेरिए पनि चर्को दबाबका कारण उनीहरुले मुद्दा टुंगो लगाउन सकेका थिएनन् ।
पछिल्लो समयमा आफूलाई पर्साबाट मन्त्री बनेका एक जना माननीयका निकट बनाउने एक जना व्यक्ति पथलैयादेखि विभागसम्म यो केसलाई मिलाउन दौडधूप गरिरहेको र अन्त्यमा मुद्दा कमजोर बनाएर अभियोग दायर भएको अनुसन्धानका एक अधिकारीले बताए ।
शुरुआति अनुसन्धानमा २४ करोड रुपैयाँ बिगो अनुमान गरिएकोमा त्यसलाई १२ करोडमा झारेर अनुसन्धानका समय गुजार्दै मुद्दा हालिनुलाई मिलेमतोको रुपमा हेरिएको छ । बिगो घटाउनकै लागि उक्त केस हेरिरहेका अनुसन्धान अधिकारीको समेत सरुवा गरिएको चर्चा विभागमा चल्ने गरेको छ ।
राजस्व अनुसन्धन विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा सुन, चाँदी र त्यसका गरगहना चोरी पैठारी गरी राजस्व छलेको र बिलबिजक जारी नगरी गलत विवरण पेश गरेर राजस्व छलेको अभियोगसहित मुद्दा दर्ता भएको उल्लेख छ ।
सँगै छापा हानिएको जय माँ दुर्गे ज्वेलर्सको भने एक वर्ष बितिसक्दा पनि अनुसन्धान जारी नै रहेको राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले बताएका छन् । ‘दुईओटामध्ये ठूलोको टुंगो लगाएर मुद्दामा लगियो । यसमा पनि अनुसन्धान हुँदैछ,’ शर्माले एक सञ्चारमाध्यमसित भनेका छन् ।
सँगै छापा मारिएको दुई ओटा फर्ममध्ये एउटाविरुद्ध मुद्दा हाल्ने र अर्कोको अनुसन्धानको समय गुज्रिसक्दासमेत अनुसन्धान नै नटुंगिनुलाई ‘छोरी कुटेर बुहारी तर्साउने’ खेल भएको चर्चा अनुसन्धान वृत्तमा चलेको छ ।