भाटभटेनीमा स्वदेशी उत्पादनलाई उपेक्षा, वीरगञ्ज स्टोरमा स्वदेशी चुइँगम ‘नो इन्ट्री’ !
भाटभटेनी सुपर स्टोरमा स्वदेशी उत्पादनलाई उपेक्षा गरिएको भन्दै केही उद्यमीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। यद्यपि भाटभटेनीका संस्थापक मीनबहादुर गुरुङले आफ्नो व्यवसायमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने बताउने गरेका छन्, तर उनका व्यवस्थापकहरूले भने त्यो प्रतिबद्धता पूरा नगरेको उद्योगीहरूको आरोप छ।
वीरगञ्ज शाखामा नेपालमै उत्पादित चुइँगमहरूलाई स्थान नदिई थाइल्याण्डलगायतका विदेशी चुइँगम महँगो मूल्यमा बिक्री गरिरहेको स्थानीय चुइँगम निर्माता कम्पनीले गुनासो गरेको छ। नेपालमा उत्पादित १३.५ ग्राम चुइँगमको मूल्य १० रुपैयाँ पर्ने भए पनि भाटभटेनीमा आयातित चुइँगम ४८ देखि ४९ रुपैयाँसम्म बिक्री भइरहेको छ।
स्थानीय उद्योगहरूले २० प्याकेटको बन्डल १२० रुपैयाँमा उपलब्ध गराउँदा पनि भाटभटेनीले तिनलाई बेवास्ता गरेको बताइएको छ। ‘स्प्रिङ’ र ‘सुजलगम’ ब्रान्डका बजार व्यवस्थापकले भाटभटेनीमा आफ्ना उत्पादनहरू राख्न पटकपटक आग्रह गरे पनि सो अनुरोधलाई अटेर गरिएको गुनासो गरेका छन्।
स्वदेशी उत्पादनको तुलनामा आयातित चुइँगम ३९० प्रतिशतसम्म महँगो दरमा बिक्री भइरहेको दाबी गरिएको छ। यसबाट उपभोक्ता ठगिएको आरोप स्वदेशी उत्पादकले लगाएका छन् ।
उद्यमीहरूले नेपालमा बनेका चुइँगम गुणस्तर र स्वादका हिसाबले विदेशी उत्पादनभन्दा उत्कृष्ट रहेको दाबी गरेका छन्। यद्यपि, देशकै नमूना व्यापारिक उपक्रमको रूपमा परिचित भाटभटेनीले स्वदेशी उत्पादनलाई प्राथमिकता नदिएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
त्यसैगरी, भाटभटेनीले सामानको भुक्तानीमा अनपेक्षित ढिलाइ गर्ने गरेको आरोप पनि अन्य उद्यमी र आपूर्तिकर्ताहरूले लगाएका छन्। स्वदेशी उद्योग प्रवर्द्धन गर्ने सरकारी नीतिका बाबजुद स्वदेशी उत्पादनलाई यसरी उपेक्षा गरिनु दुःखद रहेको उद्यमीहरूको भनाइ छ।