च्याम्पियन्स लिग : शीर्ष आठका लागि तीव्र प्रतिस्पर्धा
च्याम्पियन्स लिगको सुरुवाती तीन खेलमा सनसनीपूर्ण प्रदर्शन गर्दै लगातार जित हासिल गरेको एस्टन भिल्लाले पछिल्ला खेलहरूमा आफ्नो लय गुमाएको छ। चौथो खेलमा हार ब्यहोरेको भिल्लाले बुधबार राति घरेलु मैदानमा युभेन्ट्ससँग गोलरहित बराबरी खेल्यो। खेलको अन्तिम समयमा मोर्गान रोजर्सले गोल गरे पनि भिएआरको निर्णयले त्यो गोल अस्वीकृत गर्यो।
भिल्लाको विजयविहीन यात्रा सात खेलसम्म लम्बिएको छ। प्रिमियर लिगमा लगातार चार हारपछि क्रिस्टल प्यालेससँग बराबरी गर्दै हारको शृंखला तोड्न सफल भएको थियो। च्याम्पियन्स लिगमा पाँच साताअघि बोलोग्नाविरुद्ध २-० को जित भिल्लाको अन्तिम जित रह्यो।
यसैबीच, स्टर्म ग्राजले गिरोनालाई १-० ले हराउँदै आफ्नो पहिलो जित दर्ता गर्यो। लिलीले बोलोग्नालाई २-१ ले पराजित गर्यो भने सेल्टिक र क्लब ब्रुगले १-१ को बराबरी खेले। पिएसभी आइन्डहोभनले साख्तर डोन्सटकलाई ३-२ ले हरायो।
अंक तालिकामा लिभरपुल १५ अंकसहित शीर्ष स्थानमा छ। इन्टर मिलान १३ अंकसहित दोस्रो र बार्सिलोना १२ अंकसहित तेस्रो स्थानमा रहेका छन्। बोरुसिया डर्टमन्ड १२ अंकका साथ चौथो र एटलान्टा ११ अंकसहित पाँचौँ स्थानमा छ।
वायर लिभकुसेन, आर्सनल, मोनाको, एस्टन भिल्ला, स्पोर्टिङ सिपी, ब्रेस्ट र लिलीको समान १० अंक छ भने बायर्न म्युनिख, बेनफिका, एट्लेटिको म्याड्रिड र एसी मिलानको ८ अंक छ। साबिक विजेता रियल म्याड्रिड भने ६ अंकसहित २४औँ स्थानमा रहेको छ।