प्रतिकूल मौसमले यो वर्ष धान उत्पादन घट्ने अनुमान, जीडीपीमा कस्तो प्रभाव ?
यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । धान भित्र्याउने समयमा मौसम अनुकूल नहुँदा उत्पादन प्रभावित भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा भएको भारी वर्षाले धानमा असर गरेको हो ।
मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष धान भित्र्याउने समयमा मौसम अनुकूलन नहुँदा उत्पादन घट्न सक्ने जानकारी दिए । वर्षाले सबैभन्दा बढी असर मधेस र बागमती प्रदेशमा परेको थियो ।
बाढी र डुबानले कतिपय क्षेत्रमा पाकेको बाली पनि बगाएको थियो । केही क्षेत्रमा काटिसकेको धान पनि बगाएको जनाइएको छ । मन्त्रालयका अनुसार मधेस प्रदेशमा ५७ हजार हेक्टर धान खेतमा क्षति भएको अनुमान छ ।
सिरहा, सप्तरीमा जग्गा कटानी भएको र बालुवा थुप्रिएर धान क्षति भएको मन्त्रालयको भनाइ छ । यसले पनि उत्पादन प्रभावित हुने देखिएको हो । क्षतिको पूर्ण विवरण संकलन भइरहेको जनाइएको छ ।
मन्त्रालयका अनुसार यसपालि ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । अघिल्लो वर्ष ९४ दशमलव ६ प्रतिशतमा रोपाइँ सम्पन्न भएकोमा यस वर्ष झण्डै चार प्रतिशत रोपाइँ बढेको थियो ।
मुलुकभर १३ लाख ९८ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७८ हजार छ सय ११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । मन्त्रालयका अनुसार कोशी प्रदेशमा ९९ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
कोशी प्रदेशमा करिब दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर रोपाइँ हुने क्षेत्रफल रहेकामा हालसम्म दुई लाख ७५ हजार दुई सय ६७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
अघिल्लो वर्ष भदौ ७ गतेसम्म कोशी प्रदेशमा ९७ दशमलव सात र मधेस प्रदेशमा ९७ दशमलव तीन प्रतिशतमा रोपाइँ सम्पन्न भएको थियो । बागमती प्रदेशमा यस वर्ष ९९ दशमलव दुई, गण्डकी प्रदेशमा भने ९७ दशमलव आठ, लुम्बिनी प्रदेशमा ९८ दशमलव तीन, कर्णाली प्रदेशमा यस वर्ष ९९ दशमलव दुई र सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत नै रोपाइँ सम्पन्न भएको थियो ।
गत वर्ष करिब ५७ लाख मेट्रिकटनसम्म धान उत्पादन भएको थियो । यस वर्ष बढी रोपाइँ हुँदा धान उत्पादन सात प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ । तर भित्र्याउने बेलामा खराब मौसमका कारण उल्टो गत वर्षको तुलनामा घट्ने अनुमान गरिएको छ ।