इजरेल-हमास युद्ध : कतार मध्यस्थकर्ताको भूमिकाबाट अलग हुँदा के फरक पर्छ ?
इजरेल र हमासबीच युद्धविराम तथा बन्धक रिहाइका लागि वार्तामा मध्यस्थताको भूमिका निभाइरहेको कतारले आफ्नो काम रोकेको अधिकारीहरूले बताएका छन्।
हमास र इजरेलले छलफलका लागि “आफ्नो इच्छा देखाएमात्रै” आफ्नो काम फेरी सुरु गर्ने कतारले बताएको छ। गाजामा युद्ध अन्त्यका लागि नयाँ प्रस्ताव अस्वीकार गरेको आरोप लगाउँदै एक जना अमेरिकी वरिष्ठ अधिकारीले कतारमा हमासका प्रतिनिधिहरूको उपस्थिति वाशिङ्टनले स्वीकार नगर्ने बताएको विवरण सार्वजनिक भए लगत्तै कतारको यस्तो निर्णय आएको हो।
कतारले वार्ताको मध्यस्थताको जिम्मेवारीबाट अलग भएको जनाकारी गराउँदै दोहामा रहेको हमासको राजनीतिक कार्यालयले “उसको उद्देश्यमा काम नगर्ने” प्रारम्भिक विवरणहरू “वास्तविक” नभएको बताएको छ।
कतारले १० दिन अगाडी नै यदि पछिल्लो प्रयासमा पनि हमास र इजरेलबीच कुनै सम्झौता भएन भने आफ्नो देशले मध्यस्थकर्ताको भूमिका स्थगित गर्ने कुरा सबै पक्षलाई जानकारी गराएको, कतारी विदेश मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ। युद्धरत पक्षहरूले क्रूर युद्ध अन्त्य गर्ने इच्छा र गाम्भीर्य देखाएको अवस्थामा कतारले आफ्नो भूमिका पुन सुरु गर्नेछ।
हमासले सन् २०१२ देखि कतारको राजधानीमा आफ्नो राजनीतिक कार्यालय चलाइरहेको छ। ओबामा प्रशासनको अनुरोधपछि उक्त कार्यालय स्थापना गरिएको बताइन्छ।
असल नियतका साथ सम्झौता गर्न अस्वीकार गरेको” कारण देखाउँदै हमासलाई दोहाको राजनैतिक कार्यालय बन्द गर्ने अमेरिकी आग्रहमा कतार सहमत भएको समाचार शनिवार कैयौँ समाचार संस्थाहरूले प्रकाशित गरेका थिए।
तर कतारको विदेश मन्त्रालयले ती विवरणहरू गलत भएको बताएको छ। हमासका अधिकारीहरूले पनि यो दाबी अस्वीकार गरेका छन्। “कतारमा कार्यालय हुनुको मुख्य उद्देश्य वार्ताको सञ्चार सहजीकरण गर्नु हो, जसले विगतमा युद्धविराम गराउन पनि सफलता हासिल गरेको छ,” कतारले भनेको छ।
मध्यपूर्वको सानो तर प्रभावशाली देश कतार यो क्षेत्रमा अमेरिकाको प्रमुख सहयोगी देशमध्ये एक हो। कतारले अमेरिकालाई सैन्य अखडा बनाउने स्थान दिनुका साथै इरान, तालिबान र रुससँगका संवेदनशील वार्ताहरूमा पनि मध्यस्थताको भूमिका निर्वाह गरेको छ।
इजरेल र हमासबीच गाजामा एक वर्ष भन्दा लामो समयदेखि जारी युद्धमा युद्धविराम गराउने प्रयासस्वरुप भएका मध्यस्थतामा अमेरिका र इजिप्टसँगै कतारले पनि महत्त्वपूर्ण भूमिका निभाएको छ।
तर पछिल्लो समय सम्बन्धमा परिवर्तन आएका प्रमाणहरू बढ्दो छन्। आफ्ना नेता याह्वा सिन्वारको मृत्युपछि हमासले दोहाको एउटा सानो हलमा दुई घण्टा शोक कार्यक्रम गरेको थियो भने हमास नेता इस्माइल हानियाको मृत्युमा तीन दिन शोक मनाएको थियो। त्यसमा कतारले उच्च सुरक्षा निगरानी गरेको थियो। बीबीसीबाट