अन्तराष्ट्रियअर्थ

चीन: अर्थतन्त्रको सुस्तता र सुधारका चुनौतीहरू

चीनले दुई वर्षअघि कोभिडका कडा प्रतिबन्धहरू हटाए पनि अर्थतन्त्र महामारीपूर्वको अवस्थामा फर्कन संघर्षरत छ। आशा गरिएजस्तो द्रुत आर्थिक सुधार आउनुको सट्टा चीनको आर्थिक वृद्धिदर अपेक्षाभन्दा कम हुँदै आएको छ।

डोनल्ड ट्रम्पको चुनावी विजय र गत सेप्टेम्बरमा चीनले अर्थतन्त्र सुधार्न थालिएका विभिन्न उपायहरूका बाबजुद, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चीनको वार्षिक आर्थिक वृद्धिको लक्ष्य घटाएको छ। सन् २०२४ का लागि आईएमएफले चीनको अर्थतन्त्र ४.८ प्रतिशतले मात्र विस्तार हुने प्रक्षेपण गरेको छ, जुन बेइजिङको करिब ५ प्रतिशतको लक्ष्यभन्दा कम हो। आगामी वर्षका लागि आईएमएफले वृद्धिदर झन् घटेर ४.५ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ।

चिनियाँ नेताहरूले दशकौँसम्म उच्च आर्थिक वृद्धिको अनुभव गरेका थिए, तर अहिलेको अवस्था यसभन्दा भिन्न छ। राष्ट्रपति सी चिनफिङले सन् २०१७ मा चीनले तीव्र आर्थिक वृद्धिबाट उच्च गुणस्तरको विकासको चरणमा प्रवेश गर्ने योजना बनाएको बताएका थिए। चिनियाँ अधिकारीहरूले यसलाई उन्नत उत्पादन प्रणाली र हरित उद्योगद्वारा संचालित परिवर्तनको रूपमा व्याख्या गर्दै आएका छन्। तर, केही अर्थशास्त्रीहरू चीनले आर्थिक चुनौतीहरू सहजै पार गर्न नसक्ने बताउँछन्।

मोर्गन स्ट्यान्ली एशियाका पूर्व अध्यक्ष स्टीफन रोचका अनुसार चीनले १९९० को दशकमा जापानले झेल्नुपरेको आर्थिक मन्दीजस्तो अवस्थाबाट बच्न निर्यात र लगानीको सट्टा उपभोक्ता आधारित क्षेत्रहरूमा ध्यान दिनुपर्ने आवश्यकता छ। यसले दीर्घकालीन वृद्धि प्रोत्साहित गर्ने र चीनलाई बाह्य व्यापारिक दबाब घटाउन मद्दत पुर्याउने उनले बताएका छन्।

चीन अहिले सोलार प्यानल, विद्युतीय सवारी साधन, र लिथियम आयन ब्याट्री निर्माणमा विश्वकै अगाडि छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार विश्वभर उत्पादित सोलार प्यानलको ८० प्रतिशत चीनमा निर्माण हुन्छ। आईईएले सन् २०२३ मा विद्युतीय सवारी साधन, लिथियम ब्याट्री र सोलार प्यानलको निर्यात ३० प्रतिशतले बढेर १० खर्ब युआन पुगेको र चीनलाई यी क्षेत्रहरूमा विश्वकै प्रमुख निर्यातकर्ता बनाएको जनाएको छ।

युरोपेली सङ्घले हालै चीनमा निर्मित विद्युतीय सवारीसाधनमा ४५ प्रतिशतसम्म कर लगाउने निर्णय गरेको छ, जसले चीनको निर्यातलाई प्रभावित गर्नेछ।

डोनल्ड ट्रम्प राष्ट्रपति पदमा फर्कन सक्ने सम्भावनासँगै, चीनले आफ्नो अर्थतन्त्र सुधार गर्न थप उपायहरू अवलम्बन गर्नुपर्ने चुनौतीको सामना गरिरहेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button