डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सम्भावनाः नीतिगत दृष्टिकोणमा निरन्तरता कि परिवर्तन ?
कतिपय राजनीतिक विश्लेषकहरूका अनुसार, डोनाल्ड ट्रम्पको पहिलो राष्ट्रपतीय कार्यकालले उनलाई सत्तामा पुनःस्थापित गरिएमा अमेरिकालाई कसरी नेतृत्व गर्लान् भन्ने स्पष्ट सङ्केत दिन्छ।
धेरैको भनाइ छ कि ट्रम्पले दोस्रो कार्यकालमा पहिलो कार्यकालको अपूरा योजनाहरूलाई निरन्तरता दिनेछन्। त्यसमा प्रमुख परियोजना दक्षिणी सिमानामा पर्खाल निर्माण गर्ने उनको योजना थियो, जुन उनले सन् २०१७-२०२० को कार्यकालमा कंग्रेसबाट पर्याप्त बजेट प्राप्त गर्न नसक्दा पुरा हुन सकेको थिएन।
ट्रम्पले सन् २०१६ को चुनावमा अमेरिकाको दक्षिणी सिमानामा पर्खाल निर्माण गर्ने प्रतिवद्धता गरेका थिए, तर कंग्रेसको असहयोगका कारण यो योजना अधुरै रह्यो। अहिले पनि ट्रम्पले पर्खाल निर्माणलाई आफ्नो प्राथमिकतामा राखेको देखिन्छ, जसमा उनले अनधिकृत आप्रवासीहरूलाई अमेरिकाबाट निष्कासित गर्ने रणनीतिमा कंग्रेसको समर्थन खोज्ने सम्भावना प्रबल छ। पिउ रिसर्च सेन्टरका अनुसार, सन् २०२२ मा अमेरिकामा १ करोड १० लाख अनधिकृत आप्रवासी थिए, तर ट्रम्पको अभियानले त्यो संख्या अझ धेरै भएको दाबी गरिरहेको छ। विशेषज्ञहरू भन्छन् कि यस्तो विशाल निष्कासन योजना खर्चिलो र कार्यान्वयनमा कठिन हुनेछ।
अर्थतन्त्र सुधारमा केन्द्रित कर नीति
ट्रम्पको प्राथमिकता अन्तर्गत अर्को महत्वपूर्ण विषय भनेको अमेरिकाको कर संरचनामा सुधार र कर कटौती हो। पहिलो कार्यकालमा लागू भएको कर कटौती २०२५ मा समाप्त हुने भएकाले, ट्रम्पले यसलाई विस्तार गर्ने योजनामा छन्। उनले व्यवसायी र उच्च आय भएका व्यक्तिहरूलाई कर कटौती दिने कुरालाई पुनः अगाडि बढाउनेछ, जसले अर्थव्यवस्थामा वृद्धि र लगानीलाई प्रोत्साहन दिने उनको धारणा छ।
उनको योजना अनुसार, कर्पोरेट कर दरलाई घटाएर १५ प्रतिशतमा ल्याउने, टिप्समा लाग्ने कर हटाउने, र वृद्धभत्ता (सामाजिक सुरक्षा भुक्तानी) मा लाग्ने कर हटाउने लक्ष्य छ। यद्यपि, विश्लेषकहरूले यसले कम आय भएका अमेरिकनहरू भन्दा उच्च आय भएका र व्यवसायीहरूलाई अधिक लाभान्वित गर्ने हुँदा यस कदमको आलोचना गरिरहेका छन्।
ऊर्जास्रोतको विकास, मुद्रास्फीतिको समाधान
ट्रम्पले आफूले मुद्रास्फीतिको समस्या तत्काल समाधान गर्ने र ब्याज दर घटाउने प्रतिवद्धता गरेका छन्। उनको योजना अनुसार थप तेल उत्खनन गरेर ऊर्जास्रोतको लागत घटाउने छ, किनभने उनको बुझाइमा तेलको उच्च मूल्यले मुद्रास्फीतिलाई बढावा दिइरहेको छ। तथापि, धेरै विज्ञहरूले ऊर्जाको मूल्य घटाउन यो कदम पर्याप्त नहुन सक्ने बताइरहेका छन्। उनले विदेशबाट आयात गरिने अधिकांश सामाग्रीमा १० देखि २० प्रतिशत कर लगाउने र चीनबाट आयात हुने सामाग्रीमा ६० प्रतिशत कर लगाउने योजना पनि सार्वजनिक गरेका छन्, जसले अमेरिकी उपभोक्तामाथि खर्चको भार बढ्न सक्ने विश्लेषकहरूले चेतावनी दिएका छन्।
विवादास्पद गर्भपतन नीति
गर्भपतनको विषयमा ट्रम्पको दृष्टिकोण पहिलो कार्यकालकै जस्तो कडा देखिएको छ। पहिलो कार्यकालमा तीनजना न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्त गरेर गर्भपतनको संवैधानिक अधिकार उल्ट्याउने कदम उठाएका ट्रम्पले दोस्रो कार्यकालमा गर्भपतनमाथि संघीय प्रतिबन्धको पक्षमा नजाने स्पष्ट पारेका छन्। उनले सेप्टेम्बरमा उपराष्ट्रपति कमला ह्यारिससँगको बहसमा आफूले संघीय प्रतिबन्धमा हस्ताक्षर नगर्ने बताएका थिए।
अमेरिका-प्रथम विदेश नीति र विश्वव्यापी द्वन्द्वमा संयमित भूमिका
ट्रम्पको विदेश नीतिमा पुनः अमेरिका-प्रथमको नारा र उसको आत्मनिर्भरता नीति प्रभावी देखिएको छ। उनले रुससँग संवाद गरेर युक्रेन युद्धलाई २४ घण्टामा अन्त्य गर्ने प्रतिज्ञा गरेका छन्, जसलाई डेमोक्र्याटहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बलियो बनाउने कदमको रूपमा चित्रण गरेका छन्। इजरायलको समर्थनमा उभिएका ट्रम्पले गाजामा द्वन्द्व अन्त्य गर्न चाहेका छन्।
विश्लेषकहरूका अनुसार, ट्रम्पको विदेश नीतिमा पहिलो कार्यकालसँग धेरै समानता देखिन्छ। यद्यपि, पहिलो कार्यकालमा ट्रम्पले अमेरिकालाई नेटोबाट फिर्ता नगरेका र युरोपबाट अमेरिकी फौजलाई हटाउन सकेका छैनन्, उनले युक्रेनलाई सैन्य समर्थन दिने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए। यदि ट्रम्पले दोस्रो कार्यकाल पाउँछन् भने, कंग्रेसको स्वरूपले उनको नीतिगत प्राथमिकतामा ठूलो असर पार्न सक्छ। एजेन्सीहरुको सहयोगमा