अमेरिकाको राष्ट्रपति निर्वाचन : डोनाल्ड ट्रम्पको जीत, ह्यारिसको ‘इतिहास रच्ने’ लक्ष्य भएन पूरा
अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । अमेरिकी समाचार पोर्टल ‘दन्यूयोर्कटाइम्सडटकम’का अनुसार (नेपाली समयअनुसार आज अपराह्न ४:२४बजेको अपडेटअनुसार) ट्रम्पले २७७ इलेक्टोरल भोट पाएका छन् ।
उनले पाएको भोटको संख्या त्यहाँको कुल इलेक्टोरल भोट संख्या (५३८)को बहुमतभन्दा बढी हो । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट आवश्यक पर्छ । उनले निर्वाचनमा बहुमत पाए पनि जितको घोषणा भने हुन बाँकी छ ।
ह्यारिसको ‘इतिहास रच्ने’ लक्ष्य भएन पूरा
राष्ट्रपतिका अर्का प्रत्यासी डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले अहिलेसम्म २२४ इलेक्टोरल भोट पाएकी छन् । यसपटकको चुनावमा अमेरिकाको प्रथम महिला राष्ट्रपति बन्ने उनको लक्ष्यमा ट्रम्प बाधक बनेका छन् ।
यसपटकको चुनावमा ह्यारिसले ‘इतिहास रच्न’ नसकेपनि ट्रम्पले भने इतिहास रचेका छन् । लगातार तेस्रो पटक राष्ट्रपतिका उम्मेदवार बनेका उनी पहिलो र तेस्रो पटक निर्वाचित हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।
उनी दुईपटक नै महिला उम्मेदवारलाई हराएर राष्ट्रपतिमा निर्वाचित भएका हुन् । यसअघि सन् २०१६ नोभेम्बर ८ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा उनले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । त्यतिबेला ट्रम्पले ३०४ इलेक्टोरल भोट पाउँदा क्लिन्टनले २२७ इलेक्टोरल भोट पाएकी थिइन् ।
मंगलवार सम्पन्न राष्ट्रपतिय निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति ट्रम्प र डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति ह्यारिस प्रतिस्पर्धामा थिए ।