‘स्टार्टअप तथा आन्टरप्रेनर्स सम्मेलन २०२४’ को तयारी अन्तिम चरणमा, ३५० जना सहभागी हुने
वीरगञ्जमा यही कात्तिक २४ गते आयोजना हुन गइरहेको मधेश प्रदेशस्तरीय ‘स्टार्टअप तथा आन्टरप्रेनर्स सम्मेलन २०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशको स्टार्टअप समितिले आयोजना गर्न लागेको यो सम्मेलनले प्रदेशभरका नवप्रवर्तनशील उद्यमीहरू, स्टार्टअपहरू र सम्भावित उद्यमशील व्यक्तिहरूलाई सशक्त बनाउन महत्वपूर्ण अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
सम्मेलनको उद्देश्य
सम्मेलनको उद्देश्य प्रदेशका युवा उद्यमीहरूलाई मार्गदर्शन गर्दै उनीहरूलाई नयाँ सोच, प्रविधि र नवप्रवर्तनमा आधारित उद्यमशीलताको अवसरमा जोड्नु रहेको आयोजक समितिका संयोजक अनुप अग्रवालले बताए। उनका अनुसार कोरोना महामारीपछि बदलिएको विश्व अर्थतन्त्रले स्टार्टअप संस्कृतिलाई झन् आवश्यक बनाएको छ। अग्रवालले भने, “परम्परागत अर्थतन्त्रले मात्र उद्योग व्यवसायलाई गति दिन कठिन भएको अवस्थामा, यो सम्मेलनले प्रदेशका उद्यमीहरूलाई गहन छलफलमा सहभागी गराई नयाँ आर्थिक सम्भावनाहरूमा योगदान पुर्याउनेछ।”
महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक कुमार टेमानीले मधेश प्रदेशमा स्टार्टअपलाई प्रवद्र्धन गर्दै नवप्रवर्तनशील गतिविधिहरूलाई अघि बढाउने उद्देश्यका साथ यो सम्मेलन आयोजना गरिएको बताए। उनको भनाइमा, सम्मेलनले प्रदेशका युवाहरूलाई स्टार्टअप क्षेत्रको सम्भावनाबारे अवगत गराउँदै आवश्यक नीतिगत जानकारी पनि प्रदान गर्नेछ।
३५० जना सहभागी र विविध कार्यक्रम
सम्मेलनमा करिब ३५० जना सहभागी हुने अनुमान गरिएको छ, जसमा प्रदेशभरका युवा उद्यमी, लगानीकर्ताहरू, नीति निर्माणकर्ताहरू, र व्यवसायका लागि सम्भावना खोजिरहेका व्यक्ति तथा समूहहरू सामेल हुनेछन्। आयोजक समितिका अनुसार यो सम्मेलनलाई सफल बनाउन मधेश प्रदेश सरकार र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पनि उल्लेखनीय सहयोग प्राप्त भएको छ।
सम्मेलनका प्रमुख प्रशिक्षक गुगल इन्डियाका प्रमुख अपूर्व चमरिया रहेका छन्। उनी स्टार्टअपका सम्भावना र यसलाई सफल बनाउने उपायहरूबारे प्रशिक्षण दिनेछन्। साथै, नेपाल र अन्य देशहरूमा ख्याति कमाएका प्रशिक्षकहरूको समेत सहभागिता हुनेछ, जसले नेपालको स्टार्टअप क्षेत्रको सम्भाव्यता, सरकारी नीतिहरू र नवीन तरिकाबाट सम्भावित बजार व्यवस्थापनबारे जानकारी दिनेछन्।
नीतिगत पहल र योगदान
सम्मेलनका संयोजक अनुप अग्रवालका अनुसार सरकारले स्टार्टअप प्रवद्र्धनको नीति त लिएको छ, तर अपेक्षित सफलता प्राप्त गर्न सकेको छैन। अग्रवालले भने, “नीतिमा स्पष्टता, योजना, स्रोत र बजार व्यवस्थापनको अभावका कारण स्टार्टअप संस्कृति पूर्ण रूपमा अघि बढ्न सकेको छैन।” उनका अनुसार यो सम्मेलनले तिनै विषयहरूमा गहन छलफल गराउँदै नयाँ दृष्टिकोण र नवप्रवर्तनमा आधारित समाधानहरू प्रस्तुत गर्नेछ।
अग्रवालका अनुसार मधेश प्रदेशमा स्टार्टअपका लागि अनगिन्ती सम्भावनाहरू छन्। यस क्षेत्रका युवा उद्यमीहरूमा जाँगर र नयाँ सोचको कमी छैन, तर स्रोत, योजना र उचित मार्गनिर्देशनको आवश्यकता छ। यो सम्मेलनले तिनै चुनौतीहरूको समाधान खोज्न मद्दत गर्ने विश्वास उनले व्यक्त गरे।
सम्मेलनले मधेश प्रदेशमा उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहित गर्दै यो क्षेत्रको आर्थिक विकासमा नयाँ गति दिन सहयोग पुर्याउने विश्वास आयोजकको छ।