बाढीपहिरोको कहर : राष्ट्रिय प्रसारणलाइनमा घट्यो १ हजार मेगावाट, विद्युत् आपूर्तिमा समस्या हुन्छ कि हुँदैन ?
पछिल्लो विध्वंशकारी बाढी र पहिरोले देशका कतिपय स्थानमा विद्युत् उत्पादन केन्द्र र प्रसारणलाइनहरूमा पुर्याएको क्षतिका कारण राष्ट्रिय प्रसारणलाइनमा १,००० मेगावाट विद्युत् कम भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
देशभर उत्पादनमा रहेको २,८०० भन्दा बढी मेगावाट विद्युत् उत्पादन क्षमतामा ३५ प्रतिशतले उत्पादन घटेपछि भारतमा निर्यात हुँदै आएको विद्युत्मा समेत कटौती गरिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए।
अहिले नियमित भन्दा १,००० मेगावाट कम क्षमतामा सञ्चालन भैरहेका छौँ। बर्खामा हाम्रो प्रणालीमा खपत भन्दा उत्पादन बढी हुने हुनाले हामी निर्यात गर्थ्यौँ, अहिले निर्यात चाहिँ प्रभावित भएको छ, घोषले भने।
प्राधिकरणका अनुसार अहिले भारतमा निकै नगण्य मात्रामा मात्रै बिजुली निर्यात भइरहेको छ। हाम्रो मध्यमकालिन सम्झौताको कारणले एकदमै थोरै मात्रै निर्यात गरिरहेका छौँ। निर्यात चाहिँ अहिले हाम्रो प्राथमिकतामा छैन, उनले भने।
ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले देशभरिका २६ वटा जलविद्युत् आयोजनामा वर्षाले क्षति पुर्याएको जनाएको छ। आइतवार पत्रकार सम्मेलन गर्दै मन्त्री दीपक खड्काले जलविद्युत् क्षेत्रमा मात्रै २ अर्ब ४५ करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन सार्वजनिक गरे पनि ऊर्जा उत्पादकहरू क्षतिको यकिन विवरण अहिले नै अनुमान गर्न नसकिने बताउँछन्।
पहिरोका कारण ४५६ मेगावाट क्षमताको नेपालको सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाटै विद्युत् उत्पादन हाल अनिश्चित बन्न पुगेको छ। विद्युत् प्राधिकरणका अनुसार उक्त आयोजनाको नियन्त्रणकक्ष, बाँध लगायतका संरचनामा पुगेको क्षतिको मूल्याङ्कन नै हुन बाँकी रहेका कारण उक्त आयोजना पुनः सञ्चालनको मिति अनिश्चित बनेको छ।
मन्त्रालयका अनुसार खिप्ती लामोसाँघु प्रसारण लाइनको टावर बगेका कारण २०० मेगावाट विद्युत् केन्द्रीय प्रणालीमा जोड्न समस्या भएको छ। त्यस्तै काबेली करिडोरअन्तर्गतको दमक(गोदक एक सय ३२ किलोभोल्ट प्रसारण लाइनका तीन वटा टावरमा क्षति पुगेका कारण पूर्वका इलाम, पाँचथर र ताप्लेजुङ केन्द्रीय प्रणालीबाट अलग भएका छन्।
प्रसारण लाइन अवरुद्ध भएपछि ती जिल्लाका स्थानीय जलविद्युत् आयोजनाहरूबाट उत्पादन भइरहेको १८५ मेगावाट बिजुली वितरण हुन नसकेको विद्युत् प्राधिकरणले जनाएको छ। ती क्षेत्रमा बिजुलीको आपूर्ति पूर्ण सहज बनाउन केही समय लाग्नसक्ने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ताले बताएका छन्।
निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको संस्था ईप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले निजी क्षेत्रका २० वटा जलविद्युत् आयोजनाहरूमा बाढी र पहिरोका कारण क्षति पुगेको जानकारी दिए।
ताप्लेजुङ, पाँचथर इलाम तिरबाट मेची करिडोरहुँदै आउने पौने दुई सय मेगावाट बिजुली प्रभावित भएको छ। त्यहाँ भत्किएका टावर बनाउन विद्युत् प्राधिकरण र निजी क्षेत्र लागिरहेका छन्, उनले भने।
असोज देखि मङ्सिरसम्मको समयलाई नेपालमा बिना अवरोध विद्युत् उत्पादन हुने समय मान्ने गरिएको ऊर्जा उत्पादकहरू बताउँछन्। तर यो वर्ष मनसुन सकिन लाग्दा असोजमा आएको बाढीका कारण जलविद्युत् आयोजना र प्रसारणलाइनमा क्षति पुगेकाले त्यसको असर कम विद्युत् उत्पादन हुने हिउँदयाममा पर्ने चिन्ता कतिपयले गरेका छन्।
वर्षाका कारण कम क्षति पुगेका निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूको सकेसम्म छिटो मर्मत सकेर विद्युत् उत्पादन नियमित गर्ने प्रयास भइरहेको ईप्पानका वरिष्ठ उपाध्यक्ष डाँगीले बताएका छन्।
अलि धेरै क्षति पुगेका आयोजनाहरूलाई दुई(तीन महिना लाग्ला। अरू आयोजनाहरू हप्ता १० दिनमा सञ्चालनमा आउँछन् भन्ने मलाई लाग्छ, उनले भने।
विद्युत् प्राधिकरणका प्रवक्ता घोषले पनि माथिल्लो तामाकोशी बाहेकका अधिकांश आयोजना एक साता वा १० दिनमै पुनः चालु हुने देखिएको बताएका छन्। ठूला र धेरै आयोजनाहरूको मर्मत समयमै सकिए हिउँदमा विद्युत्को माग धान्न समस्या नहुने प्राधिकरणको आकलन छ।
प्राधिकरणका अनुसार बाढीका कारण घटेको विद्युत् उत्पादनले आन्तरिक मागमा चाप बढे पनि अभाव भने भइहालेको छैन। हामीलाई त्यस्तो अभाव भइरहेको छैन, प्रणालीमा जति माग छ हामीले स्वदेशी उत्पादनबाटै सकिरहेको अवस्था छ। त्यस्तो कटौती गर्नुपर्ने वा आयात गर्नुपर्ने अवस्था छैन, प्राधिकरणका प्रवक्ता घोषले भने।
ऊर्जा मन्त्रालयले विद्युत् उत्पादनको चरणमा पुगेका थप १,००० मेगावाट उत्पादन क्षमताका अन्य आयोजनाहरूमा पनि क्षति भएको जनाएको छ। जसकारण ती आयोजनाहरूको सञ्चालन समय केही पछि धकेलिने अधिकारीहरूको आकलन छ।
अहिले कतिपय स्थानमा विद्युत् आपूर्ति कटौती भएका कारण माग पनि कम भएको हुनसक्ने प्राधिकरणका अधिकारीहरू बताउँछन्। तर प्रसारणलाइनको मर्मत सँगै थप विद्युत् केन्द्रीय प्रणालीमा जोडिने भएकाले तत्कालै ुलोडशेडिङु को जोखिम नरहेको प्राधिकरणका प्रवक्ता घोषले बताए।
यदि त्यो प्रणाली सञ्चालनमा आयो भने त्यहाँका विद्युत् गृहहरू पनि सञ्चालनमा आउँछन् र हामीलाई चाप हुँदैन, उनले भने।
अब दशैँको समय सुरु हुने र चाडबाडको समयमा अधिकांश उद्योग, कलकारखाना र कार्यालयहरू बन्द रहने भएका कारण विद्युत्को माग पनि कम हुने विद्युत् प्राधिकरणको अनुभव छ।
चाडबाडको समयमा विद्युत्को माग निकै कम हुन्छ। त्यसकारण त्यसबेला कुनै समस्या हुँदैन, ढुक्क भएर बस्नुभए हुन्छ, घोष भन्छन्। तर हिउँदमा धेरैजसो आयोजनाहरूबाट उत्पादन घट्ने भएका कारण त्यसअघि नै हाल क्षति पुगेका आयोजनाहरू सञ्चालनमा आउने वा नआउनेमा त्यसबेलाको अवस्थामा भर पर्ने अधिकारीहरू बताउँछन्।
विद्युत् प्राधिकरणका अधिकारीहरू ४५६ मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा सबैभन्दा धेरै भर परेका छन्। पहुँचमार्ग नै क्षतिग्रस्त भएका कारण माथिल्लो तामाकोशी कहिलेबाट पुनः सञ्चालनमा आउँछ भन्न सकिने अवस्था छैन।
प्राधिकरणले हिउँदसम्म पनि ठूला आयोजनाहरू पुनः सञ्चालनमा नआएको अवस्थामा भने चाप हुनसक्ने जनाएको छ। केही गरी हिउँद यामसम्ममा यी १,००० मेगावाटका आयोजनाहरूको मर्मत कार्य सम्पन्न भएन भने हामीहरूलाई केही अप्ठ्यारो अवस्था सिर्जना हुनसक्छ। तर पनि हामी केही माध्यमबाट यसलाई समाधान गर्छौँ, घोष भन्छन्।