हिजबुल्लाहविरुद्ध इजरेली स्थल कारवाही, हिजबुल्लाहको शक्ति कति छ ?
इजरेलले आफूले दक्षिण लेबननका सीमित र निश्चित स्थानमा स्थल कारबाही सुरु गरेको जनाएको छ। इजरेल डिफेन्स फोर्सेज (आईडीएफ) ले इरानबाट समर्थनप्राप्त लेबननी लडाकु समूह हिज्बुल्लाहका भौतिक संरचनाहरूलाई लक्ष्य बनाउँदै अहिले सैन्य कारबाही भइरहेको जनाएको छ।
आईडीएफका अनुसार ती संरचनाबाट उत्तरी इजरेलस्थित इजरेली समुदायहरूलाई तत्काल खतरा छ। हिज्बुल्लाहका सहायक प्रमुखले आफ्नो समूह लेबननभित्र इजरेलले गर्ने जस्तोसुकै सैन्य कारबाहीको प्रतिकार गर्न तयार रहेको बताएका छन्।
लेबननको राष्ट्रिय सेनाले आफ्नो दक्षिणी सीमाबाट आफ्ना सैनिकहरू पाँच किलोमिटर उत्तरतर्फ सार्न थालेको बताएको एक सरकारी सूत्रलाई उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले जनाएको छ।
इजरेल के भन्छ ?
इजरेलका रक्षामन्त्री योआभ गालान्टले यसअघि इजरेली सेना लेबननी भूमिमा प्रवेश गर्न तयार रहेको सङ्केत गरेका थिए। दुई देशबीचको सीमानजिकै परिचालित सैनिकहरूलाई सम्बोधन गर्दै उनले इजरेल जल, स्थल र आकाश तीनवटै मोर्चाबाट हिज्बुल्लाहमाथि कारबाही गर्न तयार रहेको बताएका थिए।
मङ्गलवार बिहानै सामाजिक सञ्जाल ‘एक्स’ मा प्रेषित एउटा विज्ञप्तिमा आईडीएफले आफ्ना सैनिकहरू सीमा नाघेर लेबननी भूमिमा प्रवेश गरेको जनाएको छ। त्यसअघि उत्तरी इजरेलका सीमावर्ती क्षेत्रमा ट्याङ्क र अन्य बख्तरबन्द गाडीहरू भेला भएका थिए।
सोमवार इजरेली रक्षामन्त्रीले हिज्बुल्लाहका नेता हसन नस्रल्लाहको हत्या एउटा महत्त्वपूर्ण कदम पनि भए पनि त्यो सबै कुरा हैन” भनेका थिए। गर्नुपर्ने सबै कुरा गरिने छ। अनि हामी जल, स्थल र आकाशबाट सबै बल प्रयोग गर्ने छौँ।
इजरेल सरकारले आफ्ना हजारौँ नागरिकलाई आफ्ना बस्तीमा सुरक्षित फर्किन पाउने अवस्था सिर्जना गर्ने वाचा गरेको छ। गाजामा युद्ध सुरु भएपछि हिज्बुल्लाहले इजरेलभित्र लेबननतिरबाट रकेट प्रहार गर्दै आएको थियो।
विभिन्न देशले हिज्बुल्लाहलाई “आतङ्कवादी” सङ्गठन मान्दै आएका छन्। उक्त समूहले इजरेली सीमानजिकैको भूभागमा सुरुङ, बङ्कर र सैन्य संरचनाहरू बनाएको छ।
सङ्घर्ष धेरै लामो हुन सक्ने
हिज्बुल्लाहका सहायक प्रमुख शेख नाइम कसिमले इजरेलले अहिलेसम्म गरेका आक्रमणहरू निकै कम भएको भन्दै सङ्घर्ष धेरै लामो हुन सक्ने जनाएका छन्।
केही साताअघि भएका पेजर र वाकीटकी आक्रमणहरूमा हिज्बुल्लाहले ठूलो क्षति बेहोर्नुपरेको छ। ती आक्रमण इजरेलले गराएको ठानिएको छ। इजरेलले हिज्बुल्लाहका वरिष्ठ नेताहरूलाई लक्ष्य गर्दै उनीहरूको हत्या पनि गरिदिएको छ। इजरेलले गत शुक्रवार हिज्बुल्लाहका प्रमुख नस्रल्लाहको हत्या गरिदिएको थियो।
इजरेलले गरेका हवाई हमलाहरूमा हिज्बुल्लाहका सैन्य कमान्डरहरू तथा सर्वसाधारण मानिसहरूक पनि मृत्यु भएको छ।
लेबननी अधिकारीहरूका अनुसार विगत दुई सातामा इजरेलले गरेका हमलामा परी १,००० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने १० लाख जना विस्थापित भइसकेका छन्। बीबीसी