No Image Headlineअन्तराष्ट्रिय

इजरेलले लेबननमाथि स्थल आक्रमण गर्ला, कस्तो छ विगत अनुभव ?

इजरेलले लेबननको लडाकु समूह हिज्बुल्लाहका नेता हसन नस्रल्लाहको हत्या गरिदिएपछि विद्यमान तनाव चुलिएको छ। यो घटनाबाट उक्त क्षेत्रमा द्वन्द्व अझ चर्किन सक्ने र त्यसमा अमेरिका तथा इरानम पनि तानिन सक्ने आकलन गरिएको छ

Patanjali Nepal
SweetMart Nepal

हिज्बुल्लाहका नेतामाथि घातक आक्रमण गर्नु केही दिनअघि इजरेली सेनाका प्रमुखले लेबननमा आफ्नो फौज प्रवेश गर्ने सम्भावना रहेको भन्दै त्यसको तयारीका लागि अहिले त्यहाँ हवाई आक्रमण गरिएको बताएका थिए।

“तपाईँहरूले आकाशमा जेटहरू उडेको सुन्नुहुन्छ। हामीले पूरै दिन आक्रमण गरिरहेका छौँ। यो तपाईँहरूको सम्भावित प्रवेशको तयारीलाई सजिलो बनाउन र हिज्बुल्लाहलाई तहसनहस पार्न दुवै उद्देश्यले गरिएको हो,” हेर्स्ट्सी हालेभीले आफ्ना सैनिकहरूलाई सम्बोधन गर्दै भने।

अहिले चुलिएको तनावले १८ वर्षअघि दुई देशबीच भएको लडाइँको स्मरण गराइदिएको छ। त्यस बेला लेबननको भूमिमा इजरेली सेनाले स्थल कारबाही थालेपछि निरन्तर हवाई आक्रमण पनि गरेको थियो।

त्यसपछिको एक वर्ष दुवै पक्षबाट निरन्तर आक्रमणहरू भएका छन्। यदि इजरेलले लेबननमाथि धावा बोल्ने निर्णय गर्‍यो भने त्यो कस्तो खालको आक्रमण होला? अनि के इजरेल त्यो भूभाग कब्जा गरेर बस्नेतर्फ लाग्ला?

हिज्बुल्लाहका नेता हसन नस्रल्लाह

आक्रमण गर्ने तयारीमा इजरेल

हिज्बुल्लाहसँग सङ्घर्ष बढ्दै गएपछि उत्तरी इजरेलस्थित आफ्ना घर छोडेर ६०,००० मानिस विस्थापित भएका छन्। इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उनीहरूलाई सुरक्षित घरमा फर्किने वातावरण बनाउने वाचा गरेका छन्।

स्थानीयवासीहरूका निम्ति चुनौतीको रूपमा देखिएको हिज्बुल्लाहको गतिविधि रोक्न इजरेल कुनै न कुनै स्वरूपमा लेबननको भूमिमा प्रवेश गर्न चाहन्छ भन्ने स्पष्ट सङ्केत बुधवार सेप्टेम्बर २५ मा देखियो।

“हामी अब रोकिँदैनौँ। हामी अब उनीहरूलाई जताततै प्रहार गर्छौँ। हाम्रो लक्ष्य स्पष्ट छ, उत्तरका बासिन्दाहरूलाई सुरक्षित रूपमा त्यहीँ फर्काउने,” सेनाप्रमुख हालेभीले भने सैनिकहरूलाई भने।

यसअघि सेप्टेम्बर २३ को सोमवार दुई पक्षबीचको द्वन्द्व निकै जटिल चरणमा प्रवेश गरेको थियो। इजरेलले लेबननका विभिन्न स्थानमा हवाई हमला गर्दा कम्तीमा ५५० जनाको ज्यान गएको थियो। इजरेलले ती स्थान हिज्बुल्लाहसँग सम्बन्धित भएको दाबी गरेको थियो।

लेबननको स्वास्थ्य निकायले मारिनेमा महिला, बालबालिका र स्वास्थ्यकर्मीसहित दर्जनौँ सर्वसाधारण नागरिक रहेको जनाएको छ। हवाई आक्रमण जारी रहँदा कैयौँ विश्लेषकहरूले इजरेलले स्थलसेना पनि लेबनन पठाउने भविष्यवाणी गरेका छन्।

कस्तो कारबाही गर्ला ?

बेइरुतमा सन् २००६ मा इजरेलले हवाई आक्रमण गरेर ध्वस्त बनाइदिएको एउटा भवनको भग्नावशेषमा मानिसहरू
इजरेल र लेबननबीचको द्वन्द्वले धेरैलाई सन् २००६ को युद्धको स्मरण गराइदिएको छ (फाइल तस्बिर)

यसअघिको लेबनन युद्धमा इजरेलले स्थल कारबाही गर्दा विभिन्न विधि अपनाएको थियो। अबको सम्भावित परिदृश्य बुझ्न इजरेलले सन् १९८२ देखि २००६ सम्म लेबननमा गरेका आक्रमणबारे थाहा पाउन आवश्यक हुन्छ।

सन् १९८२ मा इजरेली सैनिकहरू तीनवटा उद्देश्यसहित लेबनन प्रवेश गरेका थिए। उनीहरूको एउटा लक्ष्य प्यालेस्टाइनले सीमापारिबाट गरिरहेका हमला र गोली प्रहार रोक्नु थियो भने अर्को उद्देश्य सिरियाको उपस्थिति अन्त्य गर्नु थियो।

तेस्रो उद्देश्य चाहिँ इजरेल र लेबननबीच शान्ति सम्झौता गर्नका लागि लेबननमा आफूअनुकूल हुने सरकार बनाउन प्रभाव पार्नु थियो। यो कुरा इजरेली कूटनीतिक नियोगको वेबसाइटमा पनि उल्लेख थियो।

त्यति बेला प्यालेस्टिनीहरू यासिर अराफात र उनको प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशनको नेतृत्वमा थिए। उनीहरूले इजरेलीहरूलाई मान्यता नदिने र इजरेलले प्यालेस्टिनी राज्यलाई सहयोग नगर्ने अवस्था थियो।

त्यस बेलाको इजरेलले निकै ठूलो स्थल कारबाही गरेको थियो। हजारौँ सैनिक, सयौँ ट्याङ्क र बख्तरबन्द गाडीहरू प्रयोग भएका थिए। त्यससँगै इजरेलले जल र आकाशबाट पनि सघन आक्रमण गरेको थियो।

विभिन्न स्थानबाट धावा बोल्दै इजरेली सेना एक सातामै लेबननको राजधानी बेइरुत पुगेको थियो र उक्त सहरलाई कब्जा गरेको थियो।

सन् १९८२ को आक्रमणका क्रममा इजरेली सैनिकहरू बेका उपत्यकामा
सन् १९८२ को आक्रमणका क्रममा इजरेली सैनिकहरू बेका उपत्यकामा

१९८२ मा विश्वले के भनेको थियो

प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशनका नेता यासिर अराफात र उनलाई सहयोग गरिरहेका झन्डै २,००० सिरियाली सैनिकहरू लेबनन छोड्न बाध्य भए।

त्यति बेला एक संवादादाताले लेखेका थिए, “अहिले पानीजहाज चढेर ग्रीसतिर जान लागेका अराफातलाई उनको लेबनन बसाइले निम्त्याएको विपत्तिका कारण अब कुनै अरब सरकारले फेरि आश्रय देला जस्तो लाग्दैन।”

सन् १९८२ को सेप्टेम्बरमा बेइरुतमा इसाई लडाकुहरूले सयौँ प्यालेस्टिनीहरूको हत्या गरेपछि विश्वभरिबाट इजरेलको भर्त्सना भयो। राष्ट्रपति पदमा निर्वाचित भएका बशिर गेमायेलको उक्त घटनाको चार दिनअघि हत्या भएको थियो। त्यसको प्रतिशोधस्वरूप उक्त हत्याकाण्ड गरिएको विवरण त्यति बेला प्रकाशित भएको थियो।

सन् २००६ को स्थल आक्रमण १९८२ को तुलनामा सुस्त थियो। सन् २००६ को कारबाही सीमाबाट केही किलोमिटरभित्र रहेका सहरहरू र तिनको सेरोफेरोमा सीमित थियो।

इजरेली राजनीतिक विश्लेषक योअभ स्टर्नले अबको स्थल आक्रमण यसअघिको जस्तो नहुने बीबीसीसँग बताएका छन्। उनका अनुसार अबको सम्भावित आक्रमण सुस्त गतिमा, सावधानीपूर्वक र पूरा हिसाबकिताब गरेर हुने छ।

उनी इजरेलले लगातार पूर्ण स्तरको आक्रमण गर्नुभन्दा पनि दक्षिणी लेबननका सहरहरू एक-एक गरेर कब्जामा लिन सक्ने ठान्छन्। इजरेलले सन् २००६ कै तरिकाले युद्ध लड्ने तर सहरका भित्री भागसम्म पुग्ने उनको अनुमान छ। लेबननका महत्त्वपूर्ण क्षेत्रहरूलाई आफ्नो नियन्त्रणमा राख्न खोज्ने दुवै पक्षबीच लितानी नदी महत्त्वपूर्ण सीमा बनेको छ।

उनका अनुसार दक्षिणी लेबननका सहरहरूमा लामो समयदेखि हिज्बुल्लाह रहेका कारण ती क्षेत्रलाई कब्जामा लिन इजरेललाई कठिन हुने र त्यहाँबाट बाहिरिनुपर्ने सम्भावना देख्छन्।

इजरेली सेना प्रमुख सैनिकहरूसँग
इजरेली सेनाका प्रमुखले लेबननमा स्थल कारबाहीका लागि तयार रहन आफ्नो फौजलाई भनेका छन्

सैन्य विश्लेषक तथा भूतपूर्व जेनरल हिसाम जाबेर दक्षिणी लेबननमा इजरेली स्थल आक्रमण भए पनि त्यहाँ लामो समयसम्म इजरेली सेना टिक्न नसक्ने बताउँछन्। “इजरेलले रणभूमिमा नियन्त्रण कायम गर्ने प्रयासको परिणाम सन् २००६ मा भोगिसकेको छ,” उनले भने। उनी यो पटकको आक्रमण निकै फरक स्वरूपको हुने दाबी गर्छन्।

लेबननमा इजरेली स्थल कारबाहीमा निकै साँघुरो हुने जाबेरको विश्लेषण छ। त्यस्तो आक्रमण निकै सीमित क्षेत्रमा मात्रै हुने र सीमापारि गरिने प्रत्येक आक्रमण एक दिनभन्दा लामो नहुने उनको भनाइ छ।

जाबेरका अनुसार इजरेलले स्थल कारबाहीको विकल्प रोज्ने छ र हवाई आक्रमणलाई निरन्तरता दिने छ। उसले विशिष्ट व्यक्तिको हत्याको क्रम र साइबर हमला पनि बढाउने उनी ठान्छन्।

जाबेर इजरेली स्थल आक्रमण लेबननका सीमावर्ती सहरहरूमा सीमित हुन सक्ने ठान्छन्। तर उनी इजरेलले “कमान्डो अपरेशन” जस्तो देखिने आक्रमण अन्य सहरहरूमा पनि गर्न सक्ने कुरा अस्वीकार गर्न नसकिने बताउँछन्।

स्टर्नका अनुसार स्थल कारबाही दक्षिणी लेबननका इजरेलसँगका सीमावर्ती क्षेत्रहरूसँगै लितानी नदीसम्मै हुन सक्छ। तर इजरेले केही रणनीतिक कारणले लितानी नदीको उत्तरतर्फ धकेलिने र त्यहाँबाट पछाडि फर्किन बाध्य हुने उनको आकलन छ।

उनी भविष्यमा हुन सक्ने सम्झौतामा आफूलाई फाइदा पुग्ने गरी इजरेलले लेबननका भित्री भेगसम्म घुसपैठ गर्ने आकलन गर्छन्।

उद्देश्य के हुन सक्छ ?

सन् १९८२ को युद्धको एउटा घोषित उद्देश्य चाहिँ उत्तरी इजरेलका सहरहरूलाई लेबननको दक्षिणी क्षेत्रमा रहेका लडाकुहरूबाट हुन सक्ने रकेट आक्रमणबाट सुरक्षित राख्नु थियो। त्यसका लागि ती लडाकुहरूलाई लेबनन-इजरेल सीमाको ४० किलोमिटर दक्षिणतिर धपाउने लक्ष्य राखिएको थियो।

इजरेलले प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशनका भौतिक पूर्वाधार नष्ट गर्ने अर्को उद्देश्य पनि राखेको थियो। त्यसअन्तर्गत बेइरुतस्थित उसको मुख्यालय नष्ट गर्ने र सिरियाली फौजलाई लेबननबाट फिर्ता पठाउन पनि खोजिएको थियो।

त्यस बेलाको इजरेली आक्रमण दक्षिणी लेबनानमा मत्रै केन्द्रित थिएन। बेका उपत्यका, सोउफ माउन्टेन र बेइरुतमा पनि आक्रमण भएको थियो। हिशाम जाबेर सीमित क्षेत्रमा हुने प्रवेश वा आक्रमणले भविष्यमा निकै कम सैन्य असर पर्ने ठान्छन्। तर अर्कोतर्फ स्टर्न दुई कारणले इजरेलले हिज्बुल्लाहका लडाकुहरूलाई लितानी नदीभन्दा उत्तरतर्फ धकेल्न प्रयास गर्ने बताउँछन्।

“एउटा इजरेली सहरतर्फ छोटो दूरीका रकेटहरूको प्रहार रोक्न र उत्तरी इजरेलमा अक्टोबर ७ मा भएको जस्तो आक्रमण नहुने सुनिश्चितता कायम गर्न।” बीबीसी

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button